उत्पादन अनुमतिपत्र लिइसकेको र पीपीए भइसकेका १६५१.४४ मेगावाटका २० वटा प्रवर्द्धक कम्पनीले लगानी जुटाउन नसकेको विद्युत् विकास विभागद्वारा सार्वजनिक ‘लाइसेन्स पर्फमेन्स ड्यासबोर्ड’ मा उल्लेख छ ।
What you should know
काठमाडौं — १३९.५ मेगावाटको तल्लो मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाले २०७५ सालमै उत्पादन अनुमतिपत्र लिइसकेको छ । यसको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) २०८० मै भइसकेको विद्युत् विकास विभागको वेबसाइटमा उल्लेख छ । तर हालसम्म प्रवर्द्धक बुटवल पावर कम्पनीले आयोजना निर्माणका लागि लगानी जुटाउन सकेको छैन ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले विद्युत् विकास विभागको स्वीकृतिअनुरुप नै वित्तीय व्यवस्थापनका क्रममा रहेको बताए । ‘यस वर्ष वित्तीय व्यवस्थापन गर्छौं, हाम्रो समय पनि बाँकी छ,’ उनले भने ।
प्रवर्द्धकहरू भने उत्पादन अनुमतिपत्र लिइएको ५ वर्षसम्म लगानी जुटाउन सकिने व्यवस्था रहेको बताउँछन् । विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ दफा १४ मा पीपीए र वित्तीय व्यवस्थापन २ वर्षभित्र सम्पन्न गर्ने सर्तसहित विद्युत् उत्पादन अनुमतिपत्र दिन सकिने व्यवस्था छ।
निर्देशिकाको दफा १६ को उपदफा १ मा तोकिएको २ वर्षभित्र वित्तीय व्यवस्थापन सम्पन्न हुन नसकी प्रवर्द्धकले म्याद समाप्त हुनुअगावै निवेदन दिएमा, आवश्यकता र औचित्य हेरी पहिलेको अवधिसमेत गणना गरेर थप १ वर्षसम्म म्याद थप गर्न सकिने उल्लेख छ । उक्त अवधिमा पनि कार्य सम्पन्न हुन नसकेमा प्रवर्द्धकको प्रयास र प्रगतिको आधारमा थप २ वर्ष थप गर्न सकिने उल्लेख छ । तर प्रवर्द्धकले आयोजनाको जडित क्षमता बपतको क्यापासिटी रोयल्टी बराबर प्रतिकिलोवाट १०० रुपैयाँ प्रतिवर्षका दरले हुन आउने रकम बुझाउनु पर्ने समेत उल्लेख छ । तर १०० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको हकमा थप अवधिको अतिरिक्त थप २ वर्षसम्म थप गर्न सकिने समेत सोही उपदफामा उल्लेख छ ।
पीपीएअघि वा पछि भए पनि वित्तीय व्यवस्थापन गर्ने अवधि भने अनुमतिपत्र जारी भएकै मितिदेखि लागु हुनेछ । तल्लो मनाङ मर्स्याङदीजस्तै ४४० मेगावाटको तिला–१ र ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापन हुन सकेको छैन । यी दुवै आयोजनाले २०७५ मा अनुमतिपत्र प्राप्त र २०८१ मा पीपीए गरिसकेको छ । तर हालसम्म वित्तीय व्यवस्थापन हुन सकेको छैन । उत्पादन अनुमतिपत्र लिइसकेको र पीपीए भइसकेका १६५१.४४ मेगावाटका २० वटा प्रवर्द्धक कम्पनीले लगानी जुटाउन नसकेको विद्युत् विकास विभागद्वारा सार्वजनिक ‘लाइसेन्स पर्फमेन्स ड्यासबोर्ड’ मा उल्लेख छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पीपीए गरेर लगानी जुटाउन नसकेका आयोजनाहरू पनि छन् । विभागका अनुसार ९.१४ मेगावाटका सुपर घलेम्दी जलविद्युत् आयोजनाको २०७५ मै विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो । २०८० मा उत्पादन अनुमतिपत्र लिइसकेको छ । तर अहिलेसम्म आयोजनाले लगानी जुटाउन सकेको छैन । २०७८ मा उत्पादन अनुमतिपत्र लिइसकेको ५ मेगावाटको सेप्ली खोला जलविद्युत् आयोजनाको २०७७ मै पीपीए भएको थियो । तर हालसम्म वित्तीय व्यवस्थापन हुन सकेको छैन । ६३ मेगावाटको छुजुङ खोला जलविद्युत् आयोजनाको २०७९ मा पीपीए र उत्पादन अनुमतिपत्र लिइसकेको छ । तर लगानी जुटाउन नसक्दा यसको प्रगति शून्य छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठद्वारा विभागले सार्वजनिक रुपमा पहुँचयोग्य 'लाइसेन्स पर्फमेन्स ड्यासबोर्ड’ स्थापना गरी मासिक रुपमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । उक्त ड्यासबोर्डमा आयोजनागत माइलस्टोन प्रगति, अनुपालन अवस्था र कारबाहीका विवरणहरू समावेश गर्नुपर्ने उल्लेख छ । ऊर्जा मन्त्रालयले मासिक रुपमा अद्यावधिक गर्नु पर्ने भनिए पनि अहिले प्रवर्द्धकले पठाएअनुसारको विवरण मात्र अद्यावधिक गराइएको छ ।
मन्त्रालयको निर्देशनअनुसार लाइसेन्स पर्फमेन्स ड्यासबोर्ड सार्वजनिक गरिएको विभागले जनाएको छ । सरकारले उत्पादन अनुमतिपत्र पाएका १०८ वटा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाको काम सन्तोषजनक नभएको औल्याएको छ ।
विभागका अनुसार उत्पादन अनुमतिपत्र लिइएका २७५ कम्पनीमध्ये १७८ कम्पनीको २५ प्रतिशतभन्दा कम प्रगति रहेको देखाएको छ । यस्तै २५ देखि ८० प्रतिशतसम्म प्रगति भएका ६५ र ८० प्रतिशत प्रगति भएका कम्पनी ३२ वटा मात्रै छ ।
भौतिक प्रगति सन्तोषजनक नहुनुमा प्रवर्द्धकको व्यवस्थापन क्षमता अभाव, प्रशारण लाइन/सब–स्टेसनको उपलब्धता, मुद्दामामिलाका कारण अदालतमा समय गुज्रेको, अन्य आयोजनाको क्यासकेड सहमति नभएको, जलाशय आयोजनाको डुबान क्षेत्रमा पर्ने, पहुँच सडक निर्माणमा समय लागेको, वन, वातावरण र रूख कटान ढिलाइ, वन, वातावरण, जग्गा प्राप्ति/भोगाधिकार र रूख कटान ढिलाई, संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज आदिबाट काम बन्दलगायत विविध कारण देखाएको छ । निर्माण कार्य सन्तोषजनक नदेखिएकामा १० मेगावाटसम्मका ४२ वटा कम्पनी, ११ देखि ५० मेगावाटसम्मका ४२, ५१ देखि १०० मेगावाटसम्मका १० र त्यसभन्दा माथिका १४ जलविद्युत् आयोजनाहरू छन् ।
काम सन्तोषजनक नदेखिनेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत् कम्पनीको माथिल्लो मोदी 'ए' जलविद्युत् आयोजना पनि छ । यसको भौतिक प्रगति ९ प्रतिशत मात्रै छ । माथिल्लो मोदी क्यासकेडको पनि शून्य दशमलव ५० प्रतिशत मात्रै छ । प्राधिकरणकै सहायक कम्पनी तामाकोशी हाइड्रोपावरद्वारा प्रवर्द्धित तामाकोशी ५ जलविद्युत् आयोजनाको ५.२० प्रतिशतमात्रै भौतिक प्रगति रहेको उल्लेख छ । पूर्वऊर्जामन्त्री दिपक खड्का र चाइनिज कम्पनी मिलेर बनाइरहेको १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको काम समेत सन्तोषजनक छैन । यसको भौतिक प्रगति २७ प्रतिशत मात्रै रहेको उल्लेख छ ।
प्रवर्द्धकहरूले पुससम्म बुझाएको भौतिक प्रगतिको प्रतिशत राखिएको विभागका सूचना अधिकारी बद्री कुईकेलले बताए । ‘प्रवर्द्धकहरूले पुससम्म बुझाएको भौतिक प्रगति अद्यावधिक गरेका छौं, वित्तीय व्यवस्थापन भए/नभएको तथ्यांक वैशाख–जेठसम्म आएका अद्यावधिक गरेका हौं,’ उनले भने ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणले गत शनिबार सूचना सार्वजनिक गर्दै पीपीएअनुसार निर्माणाधीन रहेका आयोजनाले ७ दिनभित्र प्रगति विवरण बुझाउन भनेको छ । प्राधिकरणको विद्युत् व्यापार विभागमा प्रगति प्रतिवेदन प्राप्त नभएमा पीपीएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने समेत सूचनामा उल्लेख छ । जलविद्युत् तथा सौर्य आयोजनाहरूले आयोजना निर्माणसम्बन्धी प्रगति प्रतिवेदन कम्तीमा चौमासिक रुपमा प्राधिकरणलाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष प्रकाशचन्द्र दुलाल उत्पादन अनुमतिपत्र लिइसकेपछि वित्तीय व्यवस्थापन गर्नकै लागि क्यापासिटी रोयल्टी समेत तिरेर ५ वर्षको अवधि हुने बताउँछन् । 'सुरुवातमा २ वर्षभित्र पीपीए वा वित्तीय व्यवस्थापन गर्ने सर्तमा अनुमतिपत्र दिइन्छ, त्यसमा सकिएन भने एक वर्ष अवधि थप गर्न पाइन्छ । त्यसमा पनि सकिएन भने क्यापासिटी रोयल्टी तिरेर २ वर्ष थप गर्न पाइन्छ,’ उनले भने, 'त्यो म्यादभित्र भएका आयोजनाहरूको प्रगति सन्तोषजनक भएन भन्न पाइदैन । वित्तीय व्यवस्थापन गरेर थप २/३ वर्ष तयार बनाउन लाग्छ । ७–८ वर्ष त नर्मल नै देखियो । ७–८ वर्ष अथवा ठूला प्रोजेक्ट भएको खण्डमा १० वर्षसम्म प्रोजेक्ट बनाउने अवधि नै देखिन्छ ।’ वनको रुख कटान, स्थानीय अवरोध प्रसारण लाइन निर्माणलगायत विविध कारणले पनि आयोजनाको भौतिक प्रगति कम हुनसक्ने दुलाल बताउँछन् ।
