पर्यटन प्रवर्द्धनका लागि टिकटकद्वारा काठमान्डौंमा कन्टेन्ट क्रिएसन कार्यशाला सुरू

टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना–मझौला उद्यमीहरूलाई आफ्ना सेवा तथा उत्पादनलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने सीप पनि उपलब्ध गराउने जनाएको छ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

TikTok launches content creation workshop in Kathmandu to promote tourism

काठमाडौँ — टिकटकले नेपालको पर्यटन प्रवर्द्धनलाई डिजिटल माध्यमबाट सशक्त बनाउने उद्देश्यसहित पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरूका लागि कन्टेन्ट क्रिएसन तथा डिजिटल स्टोरीटेलिङसम्बन्धी कार्यशाला सुरू गरेको छ ।

नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन गरिएको तीनदिने कार्यशालाले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, खानपान र साहसिक पर्यटनलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। 

यस अभियानले नेपालका चर्चित पर्यटकीय गन्तव्यसँगै कम चिनिएका आकर्षक स्थानहरूको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको बोर्डले विज्ञप्तिमा जनाएको छ ।

कार्यशालामा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सहभागीलाई छोटो भिडियो निर्माण, दर्शकसँगको अन्तरक्रिया, डिजिटल स्टोरिटेलिङ, अडियन्स वृद्धि, ब्रान्ड सहकार्य तथा जिम्मेवार कन्टेन्ट विकासका विषयमा प्रशिक्षण प्रदान गरिने भनिएको छ ।

टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना–मझौला उद्यमीहरूलाई आफ्ना सेवा तथा उत्पादनलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने सीप पनि उपलब्ध गराउने जनाएको छ।

टिकटकका दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले टिकटकले विश्वभरका प्रयोगकर्तालाई नयाँ गन्तव्य, स्थानीय परिकार तथा सांस्कृतिक अनुभवसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। नेपाल पर्यटन बोर्डसँगको सहकार्यले नेपालको अनुपम सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउन सहयोग पुग्ने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले डिजिटल नवप्रवर्तनमार्फत पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उपयुक्त समय आएको बताए। उनका अनुसार नेपालको समृद्ध संस्कृति, प्राकृतिक सम्पदा, जैविक विविधता र आतिथ्यतालाई सिर्जनात्मक ढंगले विश्वसामु प्रस्तुत गर्न डिजिटल प्लेटफर्मको भूमिका महत्त्वपूर्ण छ।

कार्यशालामा अन्तरक्रियात्मक सिकाइ सत्र, व्यावहारिक कन्टेन्ट निर्माणसम्बन्धी मार्गदर्शन तथा उद्योगका विज्ञहरूसँग छलफल कार्यक्रमसमेत समावेश गरिएका छन्।

कान्तिपुर

Link copied successfully