कम्पनीको अनुरोधमा राष्ट्र बैंकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर प्रालिको लाइसेन्स खारेज गरेको छ । कम्पनीको अनुरोधमा राष्ट्र बैंकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । यो राष्ट्र बैंकबाट मुद्रा सटहीको कारोबार गर्न इजाजतपत्रप्राप्त भीमदत्तनगर–४, महेन्द्रनगर कञ्चनपुरमा अवस्थित कम्पनी हो ।
‘राष्ट्र बैंक, मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम मनीचेन्जरले आफ्नो कारोबार बन्द गर्न निवेदन पेस गरेको र सोहीबमोजिम मनीचेन्जर कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्नुपर्ने भएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
उक्त मनीचेन्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा जानकारी गराउनुहुन राष्ट्र बैंकले आग्रह गरेको छ ।
