प्राथमिकतामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकास
What you should know
पर्सा — वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा यो करिब १ अर्ब २० करोड रुपैयाँ बढीको बजेट हो । महानगरले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिइएको जनाएको छ ।
बुधबार सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरको कुल बजेट ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५४ दशमलव ३ प्रतिशत हो । यस्तै, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४ दशमलव ६ प्रतिशत रकम छुट्याइएको छ । वित्तीय व्यवस्थापनका लागि ५ करोड रुपैयाँ अर्थात् १ दशमलव १ प्रतिशत बजेट विनियोजन गरिएको छ।
महानगरले आगामी वर्षको खर्च व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई प्रमुख स्रोतका रूपमा राखेको छ । बजेटका लागि संघीय वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ भने गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ र नगर विकास कोषबाट १५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
बजेट प्रस्तुत गर्दै नगरकार्यपालिका सदस्य कानुले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, महानगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने, वन तथा वातावरण संरक्षण, कृषि तथा पर्यटन प्रवर्द्धन, उद्योग विकास, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए ।
त्यसअघि नगरसभामा कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले महानगरको दीर्घकालीन विकास, सेवा प्रवाहको आधुनिकीकरण तथा नागरिकमैत्री प्रशासन निर्माणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गरिएको बताए ।
नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगरकार्यपालिका सदस्य, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा महानगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
चालु आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बजेटको आकार बढाइएकाले आगामी वर्षमा विकास निर्माणका कार्यक्रमको कार्यान्वयन क्षमता र राजस्व संकलनको प्रभावकारितामाथि विशेष चासो रहने देखिएको छ ।
