सामुदायिक विद्यालका हरेक कक्षाकोठामा स्मार्ट बोर्ड, निःशुल्क एम्बुलेन्स, ऊर्जा उत्पादन र डिजिटल सेवा विस्तारलाई विराटनगर महानगरको बजेट जोड दिएको छ ।
विराटनगर — विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ । ‘हामी सबैको रहर : शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने मूल नारासहित उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।
प्रस्तावित बजेटअनुसार महानगरको सबैभन्दा ठूलो लगानी पूर्वाधार क्षेत्रमा हुनेछ । यस शीर्षकमा १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार, सुशासन तथा संस्थागत विकासका लागि २ करोड ९३ लाख १० हजार रुपैयाँ तथा वन, वातावरण र विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले आगामी आर्थिक वर्षको बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणबाट १ अर्ब ७ करोड २८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १४ करोड २६ लाख ७४ हजार, आन्तरिक आम्दानीबाट १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । राजस्व बाँडफाँटबाट ९२ करोड ५६ लाख १८ हजार, बैंक मौज्दातबाट १४ करोड तथा विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नीति तथा कार्यक्रममा करको दर वृद्धि नगरी करको दायरा विस्तार गर्ने रणनीति अवलम्बन गरिएको छ । महिला उद्यमीलाई व्यवसाय दर्ता तथा नवीकरण शुल्कमा २५ प्रतिशत छुट तथा अपाङ्गता भएका व्यक्तिले सञ्चालन गर्ने व्यवसायलाई शतप्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
शिक्षातर्फ ‘मेगा स्कुल’ अवधारणालाई अघि बढाइने भएको छ । सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक स्मार्ट बोर्ड’ कार्यक्रम सञ्चालन गरी प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्रोत्साहन गरिने जनाइएको छ ।
स्वास्थ्य क्षेत्रमा नगर अस्पतालको सेवा सुदृढीकरण, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा निःशुल्क रक्त सेवा कार्यक्रमलाई पनि निरन्तरता दिइने महानगरले जनाएको छ ।
पूर्वाधारतर्फ सिंघिया खोला करिडोर निर्माण, भित्री सडकमा पेभिङ ब्लकको प्रयोगमार्फत भूमिगत जल पुनर्भरण गर्ने योजना अघि सारिएको छ । साथै, योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि ‘प्रोजेक्ट बैंक’ स्थापना गरिने भएको छ ।
वातावरण तथा सुशासनतर्फ फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना अघि बढाइएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल प्रणालीको विस्तार गर्दै ‘प्रविधिमैत्री महानगर’ निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । महानगरले सीमित स्रोत र साधनबीच नागरिकका आवश्यकतालाई सकेसम्म सम्बोधन गर्ने प्रयासस्वरूप बजेट ल्याइएको नगर प्रमुख नागेश कोइरालाले जनाए ।
