गलैंचा ६७ करोडको आयात हुँदा १० अर्ब ६८ करोडको निर्यात, काष्ठ पदार्थ ४ अर्ब ७७ करोडको आयात हुँदा ८ अर्ब ८९ करोडको निर्यात।
What you should know
काठमाडौं — चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । गत आर्थिक वर्षभर नेपालले २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । निर्यात वृद्धि भएसँगै कुल वैदेशिक व्यापार पनि बढेको विभागले बताएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँको पुगेको हो । निर्यात बढ्दा वैदेशिक व्यापार पनि बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का सूचना अधिकारी कृष्णराज बजगाईंले जनाए । ‘निर्यात रकम बढेकाले कुल वैदेशिक व्यापार पनि बढ्यो,’ उनले भने, ‘निर्यात र आयातको कुल रकम नै वैदेशिक व्यापार हो ।’
यसअघि २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढेको थियो । आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ । कुल निर्यात रकम बढेको देखिए पनि तेलको हिस्सा ४६.२ प्रतिशत छ । अर्थात् नेपालले आफ्नै वस्तु बिक्री गरेर निर्यात बढेको भने होइन । निर्यातमा प्रशोधित भटमास, सनफ्लावर र पाम तेलको हिस्सा ४६ प्रतिशत रहेको केन्द्रको भनाइ छ ।
चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँको ७२ करोड ६४ लाख ९९ हजार ९० लिटर कच्चा भटमासको तेल आयात गरिएको विभागको तथ्यांक छ । सोही अवधिमा १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँको ५३ करोड ८ लाख २८ हजार ९३८ किलो तेल निर्यात भएको छ ।
१९ अर्ब ११ करोड २ लाख रुपैयाँको कच्चा सनफ्लावर तेल आयात भई ७ अर्ब ९९ करोड ३२ लाखको प्रशोधित तेल निर्यात भएको छ । विभागका अनुसार ११ महिनामा १२ अर्ब ९७ करोड ८ लाख रुपैयाँको कच्चा पाम तेल आयात भएको छ । यस अवधिमा ६ अर्ब १४ करोड २ लाख तेल निर्यात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब १ करोड १४ लाख रुपैयाँको ६० लाख ३४ हजार ८ सय ९४ किलो अलैंची निर्यात भएको छ । जबकि गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको ३९ लाख ९५ हजार ७ सय ४५ किलो अलैंची निर्यात भएको थियो । अलैंची निर्यात हालसम्मकै उच्च हो । यस वर्ष भारत, इटाली र रुसमा मात्रै अलैंची निर्यात गरिएको छ । गत वर्ष अस्ट्रेलिया, फ्रान्स, भारत, स्विट्जरल्यान्ड र यूएईमा अलैंची पठाइएको थियो ।
मूल्यमा उतारचढाव नभएको र सुरुवातदेखि नै उस्तै मूल्य कायम रहेकाले किसानले अलैंची मौज्दात राख्न नपाउँदा बजारमा आइपुगेको र निर्यातसमेत बढेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले जनाए । ‘मूल्य पाएकाले किसानले स्टक राखेनन्, गाउँका अलैंची सबै बजारमा आइपुग्यो, त्यहीअनुसार बिक्री पनि भयो,’ उनले भने, अलैंची प्रतिमन (४० किलो) ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसपालि १ लाख ७८ हजारसम्म पुगेको थियो ।’ गतवर्ष अलैंचीको मूल्य ८५ हजारदेखि १ लाख ८ हजारसम्म पुगेको समेत नेपालको भनाइ छ । किसानका कारण अलैंची उत्पादन र निर्यात भइरहेको र सरकारले आफ्नै उत्पादनलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ । ‘अलैंची नेपालमै फल्छ, बाहिरबाट कच्चा पदार्थ ल्याएर मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने पनि होइन, त्यसैले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्थ्यो,’ उनले भने ।
अलैंचीजस्तै अदुवा, जडीबुटीलगायतको पनि निर्यात उच्च रहेको विभागको तथ्यांक छ । ११ महिनामा १ अर्ब २१ करोड रुपैयाँको अदुवा, १ अर्ब ८६ करोड रुपैयाँको जडीबुटी र २ अर्ब ५६ करोड रुपैयाँको कत्था निर्यात भएको छ । ‘अलैंची, अदुवा, जडीबुटी, कत्थाको निर्यात हालसम्मकै उच्च हो,’ केन्द्रका सूचना अधिकारी बजगार्इंले भने, ‘मुलुकमै उत्पादित वस्तुको निर्यात बढेको छ । यसले राम्रो संकेत देखाएको छ ।’
नेपालको आयातमा सबैभन्दा बढी घाटा गराउने वस्तुहरूमा पेट्रोलियम पदार्थ, औद्योगिक मेसिनरी, फलाम तथा स्टिल र इलेक्ट्रिकल उपकरण छन् । यसले नेपाली अर्थतन्त्र इन्धन (ऊर्जा) र पूर्वाधार एवं पुँजीगत सामानका लागि पूर्ण रूपमा आयातमा निर्भर रहेको देखाउने पूर्वसहसचिव रविशंकर सैंजु बताउँछन् ।
विभागका अनुसार १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँको वनस्पतिजन्य घिउ तथा तेल आयात हुँदा १ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको छ । त्यसमा मात्रै ३१ अर्ब २२ करोड रुपैयाँ व्यापार घाटा छ । मलेसिया, इन्डोनेसियालगायत मुलुकबाट कच्चा पाम आयल आयात गरी त्यसलाई नेपालमा प्रशोधन गरेर पुनः भारततर्फ निर्यात गर्ने गरिएको सैंजुले जनाए । नेपालको आफ्नै आन्तरिक उत्पादनबाट भएको वास्तविक निर्यात नभई ‘मूल्य अभिवृद्धि’ मात्र गरिएको व्यापार रहेको समेत उनको भनाइ छ ।
नेपालले चामल र मकै ठूलो परिमाणमा आयात गर्नुपरिरहेको छ । ११ महिनामा ५५ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरिएको छ । गलैंचा, चिया/कफी/मसलाजन्य र काठका उत्पादन वास्तविक खुद नाफा कमाउने वस्तु हुन् । यी उत्पादन पूर्ण रूपमा नेपालकै आन्तरिक कृषि र स्थानीय हस्तकला एवं कालिगडमा आधारित छन् ।
९ अर्ब ४० करोड रुपैयाँको चिया, कफी तथा मसलाजन्य वस्तु आयात गर्दा १७ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ । गलैंचा ६७ करोड रुपैयाँको आयात हुँदा १० अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । काठ तथा तिनका वस्तु ४ अर्ब ७७ करोड रुपैयाँको आयात हुँदा ८ अर्ब ८९ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।
पेट्रोलियम, मेसिनरी र कच्चा पदार्थ आयातमा देखिएको उच्च घाटा मौसमी वा कुनै नीतिका कारण मात्र भएको क्षणिक समस्या नरहेको सैंजु बताउँछन् । ‘यो देशको सीमित औद्योगिक जगको ऐना हो, यो घाटा कम गर्न देशभित्रै ठूलो परिमाणमा ऊर्जा उत्पादन (जलविद्युत् आदि) र उत्पादनमूलक उद्योगमा ठूलो लगानी आवश्यक छ,’ उनले भने ।
जनसंख्याको ठूलो हिस्सा कृषिमा संलग्न भए पनि नेपालले वार्षिक अर्बौंको खाद्यान्न र अन्य वस्तु आयात गरिरहेको सैंजुको भनाइ छ । यसले आन्तरिक कृषि प्रणालीमा रहेको गम्भीर अदक्षता र कमजोर उत्पादकत्वलाई उजागर गरेको उनी बताउँछन् ।
