जेठ मसान्तसम्म वीरगन्ज नाकाबाट ८ खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ, जुन मुलुकको कुल आयातको करिब ४७ प्रतिशत हो।
What you should know
पर्सा — देशको प्रमुख व्यापारिक प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयात–निर्यातमा आफ्नो अग्रस्थान कायम राखेको छ। वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा देशकै सबैभन्दा बढी आयात तथा निर्यात यही नाकाबाट भएको हो।
जेठ मसान्तसम्म वीरगन्ज नाकाबाट ८ खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ, जुन मुलुकको कुल आयातको करिब ४७ प्रतिशत हो। त्यस्तै, ९९ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको निर्यात यही नाकाबाट भएको छ, जुन कुल निर्यातको करिब ३५ प्रतिशत हिस्सा हो।
वीरगन्ज नाकाबाट मुख्य रूपमा इन्धन, सवारीसाधन तथा तिनका पार्टपुर्जा, फलाम तथा इस्पातजन्य सामग्री, औद्योगिक कच्चा पदार्थलगायत वस्तु आयात हुने गरेका छन्। निर्याततर्फ भटमास र सूर्यमुखीको तेल, जुस तथा अन्य प्रशोधित बस्तु प्रमुख रहेका छन्।
आयाततर्फ वीरगन्जपछि क्रमशः भैरहवा र विराटनगर नाका रहेका छन्। भैरहवा नाकाबाट २ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढीको आयात तथा ३१ अर्ब ५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। विराटनगर नाकाबाट २ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात र ७८ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाएको छ।
व्यवसायीहरूका अनुसार भारतीय बन्दरगाह कोलकाता र हल्दियासँगको भौगोलिक निकटता, स्थलमार्ग तथा रेलमार्ग दुवैबाट मालबस्तु ढुवानी गर्न सकिने सुविधा र सुख्खा बन्दरगाह (ड्राइपोर्ट)को उपलब्धताले वीरगन्जलाई मुलुकको प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित गरेको हो। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थल तथा रेलमार्ग दुवैबाट आयात–निर्यात गर्न सकिने सुविधा र भारतीय बन्दरगाहसम्मको सहज पहुँचका कारण वीरगन्ज नाका व्यापारका लागि सबैभन्दा उपयुक्त रहेको बताए। ‘कोलकाता र हल्दिया बन्दरगाहबाट आउने अधिकांश मालसामान वीरगन्ज हुँदै नेपाल भित्रिन्छन्। रेल सेवा, एकीकृत जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहको सुविधाले पनि यो नाकालाई थप प्रतिस्पर्धी बनाएको छ,’ उनले भने।
वीरगन्ज भन्सार कार्यालयले मुलुकभरका भन्सार कार्यालयबाट संकलन हुने कुल राजस्वको झण्डै ४५ प्रतिशत हिस्सा एक्लै संकलन गर्दै आएको छ। आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा समेत राजस्व संकलन र वैदेशिक व्यापारमा वीरगन्जको योगदान उल्लेखनीय रहेको सरोकारवालाहरू बताउँछन्।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले मुलुकको वैदेशिक व्यापारको ठूलो हिस्सा अझै पनि वीरगन्ज नाकामै केन्द्रित रहेकाले पूर्वाधार विस्तार, भन्सार प्रक्रियाको थप सरलीकरण तथा यातायात व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए। ‘व्यापारको बढ्दो चापलाई व्यवस्थापन गर्न पूर्वाधार विस्तारसँगै भन्सार सेवा थप प्रविधिमैत्री बनाउन आवश्यक छ,’ उनले भने।
