व्यापार, लगानी, नीतिगत संवाद र क्षेत्रगत संलग्नतामा केन्द्रित यो सहकार्यले भारत-नेपाल आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ — नेपाल र भारतबीच व्यापार, लगानी, संस्थागत साझेदारी र आर्थिक सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) र ग्लोबल इन्भेस्टमेन्ट एन्ड ट्रेड एडभाइजर्स (गिता)बीच एक समझदारी भएको छ ।
समझदारी पत्रमा निक्कीका निर्देशक मार्सल राठौर र एडभाइजर्सकी प्रबन्ध साझेदार प्रिया रावतले हुस्ताक्षर गरेका छन् । यो साझेदारीले सीमापार व्यावसायिक सम्बन्धलाई सुदृढ गर्ने, ज्ञान आदानप्रदानलाई सहज बनाउने र दुवै देशका लगानीकर्ता तथा उद्यमहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ ।
दुवै संस्थाले व्यावसायिक प्रतिनिधि, लगानी पहुँच कार्यक्रम, क्षेत्रगत संलग्नता, नीतिगत संवाद, रोड-शो र सरोकारवालाहरूसँगको परामर्श लगायतमा काम गर्नेछन् । यो सहकार्य व्यवसाय, लगानीकर्ता, उद्योग वाणिज्य संघ, औद्योगिक निकाय, सरकारी निकाय र विकास साझेदार संस्था र संरचनागत संलग्नतालाई बढावा दिनका साथै प्रमुख क्षेत्रहरूमा उदीयमान आर्थिक अवसरहरूमा बढ्दो सहभागितालाई प्रोत्साहित गर्न डिजाइन गरिएको हो ।
दुवै संस्थाका प्रतिनिधिहरूले भारत-नेपाल आर्थिक सम्बन्धलाई अगाडि बढाउन बलियो संस्थागत सहयोगको महत्त्वमाथि जोड दिए । समझदारीले दुई छिमेकी मुलुकहरूबीच द्विपक्षीय व्यापार र लगानी प्रवाह बढाउन, व्यावसायिक साझेदारी प्रवर्द्धन गर्न र आर्थिक सहकार्यका लागि थप गतिशील इकोसिस्टम निर्माण गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम रहेको समेत जनाइएको छ ।
