यो वर्ष भारतीय पर्यटकले पोखराका पाँचतारे होटलको अक्युपेन्सी गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ ।
What you should know
पोखरा — फेसबुक र इन्स्टाग्राममा ‘भ्लगर भैया’ नामले परिचित भारत उत्तर प्रदेशका साइद साहले पोखराको बारेमा मात्रै २० भन्दा बढी ‘रिल्स’ बनाएका छन् । ती रिल्स लाखौंपल्ट हेरिएका छन् । उसैगरी आराध्या सिंह, मोहद उमर, रोनक राइडर जी लगायत भारतीय ‘भ्लगर’ ले पोखरा, मुक्तिनाथ, घान्द्रुकलगायत स्थानको रिल्स बनाएका छन् । रोनक राइडर भारतको वाराणासीबाट मोटरसाइकलमै आफ्ना साथीहरुसँग पोखरा हुँदै मुस्ताङ घुमेर फर्किए ।
दुई वर्षअघि भारतका चर्चित कलाकार आशिष विद्यार्थीले पोखराबारे युट्युबमा पोस्ट गरेको भ्लगले उत्तिकै चर्चा पायो । सामाजिक सञ्जालको प्रचार, भारतमा बढ्दो गर्मी, मोदी सरकारको डलर–बचत नीति, पर्यटकीय संघसंस्थाको सक्रियता र बिहारको मदिरा प्रतिबन्धले यसपालि हजारौं भारतीय परिवार पोखरातिर तानिएका छन् । तर बढ्दो चापले होटल, बाटो र सीमा नाकामा नयाँ जिम्मेवारी पनि थपिदिएको छ ।
सोमबार वीरगञ्ज नाका हुँदै नेपाल पसेका बिहारको पटनाका व्यवसायी नफिस आलम शुक्रबार फेरि उस्तै बाटो हुँदै घर फर्किए । उनी साथी मोहसिन अली, इम्तियाज आलम र अन्जर आलमसहित पोखरा आएका थिए । ‘हिमालयको गोद (काख) मा साथीसहित समय बिताउन नेपाल आएको हुँ,’ उनले भने, ‘गर्मी छ, शीतल खोज्दै हामी घान्द्रुक पुगेर आयौं, गाउँको संस्कृति हेर्यौं ।’
नफिसका लागि भारत बाहिरको यो पहिलो भ्रमण हो । ‘तर हामी भारतबाट बाहिर छौं भन्ने कत्ति पनि लागेको छैन,’ उनी भन्छन्, ‘यहाँका मानिस मिलनसार छन्, सहर सफा छ ।’ उनीहरूले सामाजिक सञ्जालबाटै पोखराबारे थाहा पाएका थिए । मोटरसाइकलमा घुमेर फर्किएका साथीको सुझावले यहाँसम्म डोर्याएको उनी बताउँछन् । रातको लेकसाइड बजार, फेवातालको शान्त किनार र ‘अतिथि देवो भव:’ भन्ने भनाइलाई नेपालीले व्यवहारमै चरितार्थ गरेको अनुभवले नफिसलाई पोखराको मायामा बाँधेको छ । तर हरेक सुन्दर अनुभवसँगै नफिसले केही गुनासो पनि सुनाए । सीमा नाकाको भन्सार व्यवस्थापन फितलो, कर्मचारीको अभाव, शौचालयको कमी र बाटोमा पर्याप्त संकेत बोर्ड नभएको कुरा ।
गोरखपुर, उत्तरप्रदेशका व्यवसायी प्रमोद अग्रहरी परिवार र आफन्तसहित नौ जनाको टोली लिएर पोखरा आएका छन् । बुटवल, पाल्पाको तानसेन र रानी महल घुमेर पोखरा आइपुगेका उनीहरू अब काठमाडौं जाने योजनामा छन् । ‘फेवाताल, सराङकोट, पुम्दीकोट घुम्यौं, सबैजना रमाइलो गरिरहेका छौं,’ उनले भने । सामाजिक सञ्जालमा पोखराको सुन्दरता देखेरै यात्रा योजना बनाएको उनले सुनाए । फेसबुक रिल्सबाट पोखरा, मुस्ताङ, घान्द्रुकबारे धेरै कुरा थाहा पाएको उनको अनुभव छ । ‘भारतका सबैलाई भन्न चाहन्छु, एकपल्ट पोखरा आउनुहोस्,’ छोराछोरीको विद्यालय बिदाको सदुपयोग गर्न पोखरा आएका उनले भने ।
पञ्जाबबाट कपडा व्यवसाय गर्ने खुराना परिवारका लागि भने पोखरा भनेकै ‘एड्भेन्चर’ हो । ट्राभल एजेन्सीमार्फत सडक मार्गबाट आएका कृष्ण खुराना भन्छन्, ‘इन्टरनेटमा खोज्दा पोखरा सबैभन्दा राम्रो सहर भनेर फेला पारेका थियौं । प्याराग्लाइडिङ, बञ्जी जम्प, गुप्तेश्वर गुफा र फेवाताल, यिनैका लागि पोखरा रोजेका हौं ।’
उनका बुबा गौरव खुरानाका अनुसार आफ्ना आफन्त यसअघि पोखरा घुमेर फर्किएका थिए । ‘पोखराको बयान सुनेका थियौं, अहिले प्रत्यक्ष देख्न पायौं ।’ कृष्णकी आमा कशिष खुरानालाई यहाँको खाना र मानिसको स्वभाव खुब मन पर्यो ।
नफिस, प्रमोद र खुराना परिवार जस्ता हजारौं भारतीय अनुहारले यसपाली पोखराका होटलको अक्युपेन्सी रेकर्ड तोडेको छ । साढे चार वर्षदेखि पोखरा ग्रान्ड होटलको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका पञ्चम लामाका अनुसार सामान्यतया गर्मीको समयमा पाँचतारे होटलको अक्युपेन्सी ४० देखि ४५ प्रतिशत मात्र हुन्थ्यो । यसपालि अरू २० देखि २५ प्रतिशतले बढेको छ । भारतमा बढेको अत्यधिक गर्मी र सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारले पोखराको समग्र होटल अकुपेन्सी नै सोचेभन्दा बढी बढाएको उनको अनुभव छ ।
उनले भारतीय यात्रुको आनीबानी पनि चियाएका छन् । ‘उनीहरू ‘लास्ट मिनेट ट्राभलर्स’ हुन् । बुकिङ विन्डो १५ दिन वा एक महिना अगाडिको हुँदैन,’ उनले भने, ‘दुई दिन बिदा मिल्यो वा गर्मी बढ्यो भने ४८ देखि ७२ घण्टाभित्रै योजना बनाएर आइपुग्छन् ।’ तर अहिले फुर्सद मिलाएर घुम्ने उच्च वर्गका पर्यटक पनि बढ्दै गएका छन्, जो मेक माई ट्रिप, एक्सपेडिया, अगोडा, बुकिङ डटकम जस्ता अनलाइन एजेन्सीमार्फत तीन तारे, चार तारे, पाँच तारे होटलमा बुकिङ गरेर आउँछन् । खर्च गर्ने क्षमता पनि राम्रो हुन्छ । ‘अधिकांश यात्रु नेपालसँग सिमाना जोडिएका उत्तरप्रदेश, बिहार र पश्चिम बंगालबाट सडक मार्गबाटै आउँछन्,’ उनले भने, ‘र, दिनको कम्तीमा एक छाक होटलमै खाने पनि भारतीय पर्यटकको साझा बानी छ ।’
पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएका होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका लागि पनि यो वर्ष असाधारण रहेको छ । ‘मेरो विचारमा अहिलेको जस्तो यति धेरै संख्यामा भारतीय पर्यटक आएको सायद यो पहिलोपल्ट हो,’ उनी भन्छन् ।
उनका अनुसार केही दिनअघिसम्म होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा थियो भने नेपाली नयाँ वर्षको सुरुआतदेखि नै पोखरामात्र नभई गण्डकी प्रदेशका अन्य गन्तव्य, मुक्तिनाथलगायतका धार्मिक स्थल र पदयात्रा मार्गमा समेत भारतीय यात्रुको चाप उल्लेखनीय रह्यो ।
यो उछालको पछाडि एउटा मात्रै कारण उनले देख्दैनन् । गत वर्ष मुक्तिनाथलगायतका ठाउँको फेसबुक र इन्स्टाग्राममार्फत भएको ठूलो प्रवद्र्धन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डलर सञ्चितिका लागि नागरिकलाई भारु चल्ने देशको भ्रमण गर्न गरेको प्रोत्साहन र भौगोलिक निकटता– यी सबैले पोखरालाई भारतीय यात्रुको रोजाइमा ल्याएका छन् । एक चाख लाग्दो पाटो पनि उनले उल्लेख गरे । ‘बिहारमा मदिरा पूर्णरूपमा निषेधित भएकाले साथीभाइसँग रमाइलो गर्न चाहने युवा जमातका लागि नेपाल नजिकैको खुला विकल्प बनेको छ,’ उनी भन्छन् ।
यसबाहेक भारतीय ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणका लागि सरकारले दिने आर्थिक सहुलियतले पनि पशुपतिनाथ र मुक्तिनाथलाई पहिलो रोजाइमा राखिरहेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल बताउँछन् ।
बढ्दो चापलाई संस्थागत रूप दिने प्रयास पनि सँगसँगै चलेको छ । गत २९ जेठमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी नेटवर्किङ कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा भाग लिएका भारतीय पर्यटन व्यवसायीले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट गन्तव्यमध्ये एक भएको बताउँदै थप यात्रु पठाउने प्रतिबद्धता जनाए ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ सडक सञ्जालमा भएको सुधारका कारण पनि भारतीय पर्यटक वृद्धि भएकोले अब पोखराबाट भारतका सहरहरुमा सिधा हवाई उडानका लागि सरकारले पहल गुर्नपर्ने बताउँछन् ।
नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार यो उछालको जग भारतका विद्यालय–कलेजको मे–जुनको गर्मी बिदा हो । ‘पर्यटन बोर्डले ‘गर्मीसे बेहाल, चलो नेपाल’ भन्ने अभियान चलायौं, पोखराका व्यवसायीले पनि वर्षौंदेखि ‘चलिए पोखरा’ अभियान लिएर सिमावर्ती सहरमा प्रवद्र्धन गरिरहेकाछन्,’ उनले भने, ‘यसमा भारतीय भ्लगर र इन्फ्लुयन्सरले स्वेच्छाले गरेको प्रचार थपिँदा घान्द्रुक, मुक्तिनाथ र अन्नपूर्ण क्षेत्रको सुन्दरता सामाजिक सञ्जालभरि फैलिएको छ ।’
नेपाल राष्ट्र बैंकले ल्याएको सरल नीतिअन्तर्गत भारतीय फोनपे र यूपीआई जस्ता मोबाइल वालेटबाट नेपालकै फोनपेमार्फत भुक्तानी गर्न मिल्ने भएपछि मध्यम वर्गीय भारतीय परिवारका लागि समस्या एक कदम कम भएको छ । धेरैजसो परिवार आफ्नै सवारी साधन लिएरै आउने गरेको र सडक मार्गको पहुँच सहज भएकाले पनि यो वर्ष भारतीय चाप बढेको उनको ठहर छ । सडक मार्गबाट आउने यात्रुलाई व्यवस्थित गर्न पर्यटन बोर्डले के गर्ने र के नगर्ने भन्ने ‘गाइडलाइन्स’ ल्याइसकेको पनि उनले जानकारी दिए ।
पर्यटक वृद्धि भएसँग व्यवस्थापनको पाटो उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै लामिछानेले हिन्दी र अंग्रेजी भाषामा थप संकेत बोर्ड राख्नुपर्ने आवश्यकता औंल्याए । ‘तीर्थयात्रामा आउने धेरैजसो भारतीय समूह स्वयंपाक्य हुन्छन् । यसैले काठमाडौंका थ्रीस्टार होटलले समेत छुट्टै किचनको व्यवस्था गर्ने चलन अपनाएको र पोखरामा पनि यो प्रचलन देखिएको छ,’ उनी भन्छन्, ‘तर मुख्य सडकमार्ग र धार्मिक स्थलमा शौचालय, भान्सा र स्नानगृहसहितको विश्रामगृह नबनाउँदासम्म जहाँ पायो त्यही गाडी रोकेर खाना पकाउने, दिशापिसाब गर्ने समस्या कायमै रहन्छ ।’
शुल्क लिएरै सञ्चालन गर्न सकिने यस्ता विश्रामगृह र पोखरादेखि मुक्तिनाथसम्मका मार्गमा शाकाहारी रेस्टुरेन्ट बढाउनु अहिलेको आवश्यकता रहेको उनले सुनाए ।
पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चम लामाको दृष्टिकोणमा भने सबैभन्दा महत्त्वपूर्ण कुरा भारतीय पर्यटकलाई हेर्ने नजर हो । ‘उनीहरू हाम्रा पाहुना हुन्, अल्टीमेट्ली पाहुना भनेको पाहुना नै हुन्, हामीलाई पाहुना चाहिन्छ,’ उनी भन्छन् । गाडीमा आउँदा देखिएका केही नकारात्मक कुरालाई सामाजिक सञ्जालमा एकोहोरो आलोचना गरेर मात्र समाधान नहुने उनको तर्क छ । भन्छन्, ‘बरु हाम्रैतर्फबाट मापदण्ड तोक्ने, चेकपोस्टमा ब्रोसर बाँड्ने वा राम्रोसँग ब्रिफिङ गर्ने व्यवस्था मिलाउनुपर्छ । के गर्ने, के नगर्ने भन्ने कुरा सम्झाइदिने हो भने धेरै कुरा सहजै सुल्झिन्छ ।’
