पोखरा जाने पर्यटकलाई पाल्पामा टिकाउन व्यवसायीको चासो

भारतमा बढ्दो गर्मीका कारण बेलहिया नाकाबाट दैनिक १५०० भन्दा बढी भारतीय सवारी साधनमा पर्यटकहरु पाल्पा हुँदै पोखरा पुगिरहेका छन् ।

असार ८, २०८३

माधव अर्याल

Businessmen interested in keeping Pokhara-bound tourists in Palpa

What you should know

पाल्पा — यतिबेला तराइलगायत भारतमा अत्यधिक गर्मी बढेको छ । तराइ र भारतबाट गर्मी छल्न आउनेहरु पहाडी जिल्ला पाल्पा हुँदै पोखरा  निस्किरहेका छन् । 

बेलहिया (सुनौली) नाकाबाट दैनिक १ हजार ५ सय भन्दा बढी भारतीय पर्यटक बोकेका सवारी साधन नेपाल भित्रिइरहेका छन् । ‘हामीले हिजो मात्र भैरहवा र बेलहिया नाकामा बुझेर आएका छौं,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सोमबार तानसेनमा आयोजित अन्तरक्रियामा भने, ‘दैनिक १ हजार ५ सय बढी भारतीय नम्बर प्लेट भएका सवारी साधन नेपाल भित्रिएका छन् । कतिपय ट्राभल एजेन्सीले नेपाली नम्बर प्लेटका साधनमासमेत पठाउने गरेको भेटियो ।’ 

बेलहिया नाकाबाट भित्रिएका सवारी साधन पाल्पा हुँदै (सिद्धार्थ राजमार्ग) पोखरा गइरहेका छन् । होटल संघ पोखराले ‘जाउँ है पोखरा’ अभियान लिएर पाल्पाको तानसेनमा आयोजना गरेको अन्तरक्रियामा सुवेदीले ती भारतीय पर्यटकका २ सय मात्र सवारी साधन पाल्पामै एक रात राख्न सक्ने हो भने पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । ‘भारतमा अत्यधिक गर्मी बढेको रहेछ,’ उनले भने, ‘त्यसैले गर्मी छल्न भारतीयहरु नेपालका पहाडी जिल्लाका साथै पोखरा पुगेका छन् । उनीहरुमध्ये केहीलाई पाल्पामै कम्तीमा एक रात राख्न सक्ने वातावरण निर्माण गर्नुपर्छ ।’

उनले पाल्पा र पर्यटकीय राजधानी पोखरासँग जोड्ने गरी काम गर्न होटल संघ पाल्पालाई आग्रह गरे । पर्यटकीय पूर्वाधारका लागि तानसेन नगरपालिका, निजी क्षेत्रले पहल गर्नुपर्ने उनको जोड थियो । ‘पछिल्लो समयमा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारले पाल्पा साथै पोखराको समग्र होटल व्यवसायलाई नै फाइदा पुगेको छ,’ उनले भने, ‘विगतको तुलनामा अहिले होटलको अकुपेन्सी सोचेभन्दा बढी बढाएको छ ।’ 

पछिल्ला वर्षमा पोखराका होटल व्यवसायीले भारतीय यात्रुको आनीबानी पनि बुझ्न थालेका छन् । यहाँका होटल व्यवसायीले पनि त्यस्ता विषयलाई ध्यान दिने हो भने कतिपयलाई पाल्पामै रोक्न सकिने उनले बताए । बेलहिया नाकाबाट नेपाल भित्रिने भारतीय गर्मीयाममा पहाडमै घुमफिर गर्न रुचाउने भएकाले पाल्पा उपयुक्त थलो भएको उनले बताए । बुटवल, पाल्पाको तानसेन र रानीमहल घुम्ने अधिक भारतीय पर्यटक पाएको उनले बताए । 

तानसेन होटल श्रीनगरमा बसेका भारत उत्तरप्रदेशका गोकुल महाजनले सामाजिक सञ्जालमा देखेको पहाडी दृष्यले तानसेन घुम्न आएको बताए । ‘यति धेरै सुन्दर नजिकै छ भन्ने मलाई थाहा थिएन । पहिलो पटक तानसेन आए निकै रमाइलो लाग्यो,’ उनले भने ।  

आफ्ना साथीहरु घुमेर गएर फेसबुक, इन्ष्टाग्राम, रिल्समा राखेपछि धेरै कुरा थाहा पाएको उनले बताए । सामाजिक सञ्जालको प्रचार, भारतमा बढ्दो गर्मी, पर्यटकीय संघसंस्थाको सक्रियताले पर्यटक यसवर्ष बढेका छन् । 

तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा पर्यटन पूर्वाधारका काम बिस्तारै हुँदै गएको बताए । तानसेन पाल्पा दरबार संग्रहालय परिसर व्यवस्थापन, श्रीनगर जाने फुट ट्रेल, रानीमहल, रुरुक्षेत्र, भैरवस्थान लगायतका स्थानमा पर्यटक पुग्ने गरेको उनले बताए । ‘हामीले पूर्वाधार विकासका लागि तयारी गरेका छौं,’ उनले भने, ‘यसमा निजी क्षेत्रको पनि साथ चाहिन्छ ।’ पोखराले जाउँ है पोखरा अभियान थाले जस्तै आगामी वर्ष तानसेनले भारतका बोर्डर साइडका सहरमा पुगेर ‘जाउँ है पाल्पा तानसेन’ अभियानको योजना बनाएको बताए । 

होटल संघ पोखराले असार ६ देखि चितवनबाट पश्चिम नेपाललाई समेट्ने गरी जाउँ है पोखरा अभियान अन्तरगत आयोजित अन्तरक्रियामा बोल्दै उनले भने, ‘पाल्पाली पर्यटन व्यवसायीका साथै नगर कार्यपालिकासँगको छलफलले पर्यटन प्रवद्र्धनमा सिकाई भएको छ ।’ 

तीन दिने अभियान अन्तरगत भैरहवा र पाल्पालाई पनि समेटिएको होटल संघ पोखराकी सचिव पार्वती पाण्डेयले बताइन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछानेले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आयोजित कार्यक्रमले दिगो पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

विगतका यस्तै अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई निरन्तरता दिँदै आएको उनले बताए । ‘हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पर्यटकीय राजधानी पोखरासँग चितवन, भैरहवा (लुम्बिनी) र पाल्पा (तानसेन) लाई जोड्ने मुख्य उद्देश्य रहेको छ,’ उनले भने,‘ पोखरा, चितवन र लुम्बिनीलाई जोड्दै सिल्भर ट्याङ्गल अर्थात् त्रिकोणीय पर्यटन प्रवद्र्धनको अभियानबारे विगतमा भएका छलफल सकारात्मक भएको थियो ।’ 

सिल्भर ट्याङ्गलको अवधारणा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि उत्तिकै सहयोगी हुन सक्ने उनले बताए । अन्तरक्रियामा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, ट्राभल एण्ड टुर्स, होटल व्यवसायी, नगरपालिकाका जनप्रतिनिधिलगायतले पाल्पा र पोखरालाई पर्यटनको माध्यमबाट जोड्न सके दुबै स्थानलाई फाइदा पुग्ने बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully