कार्यवाहक मेयर चित्रसेन अधिकारीद्वारा प्रस्तुत बजेटमा आन्तरिक आय वृद्धि, साइकिल सिटी, फोहरमैला प्रशोधन, रंगशाला निर्माणजस्ता योजना समावेश गरिएको छ।
What you should know
चितवन — भरतपुर महानगरपालिकाको सोमबार सुरु भएको १९ औं नगरसभामा आउँदो आर्थिक वर्षका लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत भएको छ ।
महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आयबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ जुटाउने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेट ५ अर्ब २२ करोड रुपैयाँको छ ।
नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै कार्यवाहक मेयर अधिकारीले आलु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व संकलनको लक्ष्यमा समेत केही धक्का पुगेको बताए । जेनजी आन्दोलनका क्रममा भएको क्षति, प्रतिनिधिसभा निर्वाचन, इरान, अमेरिका युद्धले इन्धनको मूल्यवृद्धि भएका कारण यस्ता भएको उनको तर्क छ ।
चालु आर्थिक वर्षमा महानगरले आन्तरिक आय तर्फ १ अर्ब ८० करोड रुपैयाँको लक्ष्य राखेको छ । जेठसम्म १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्रै संकलन भएको अधिकारीले बताए ।
११ महिनासम्म लगभग ७० प्रतिशत लक्ष्य प्राप्त भएको छ । आर्थिक वर्षको अन्त्यसम्म डेढ अर्ब रुपैयाँ मात्रै आम्दानी गर्न सक्ने अवस्था रहेको कार्यवाहक मेयर अधिकारीले बताए ।
बजेटले ‘दिगो पूर्वाधार, सम्वृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको उनले बताए । जिआइएसमा आधारित सूचना प्रणाली, पीपीपी मोडल अर्थात सार्वजनिक निजी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम बजेटले समेटेको छ । रामपुरको निर्माणधीन क्रिकेट रंगशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको पनि कार्यवाहक मेयर अधिकारीले बताए ।
निकुञ्जसँग जोडिएको बस्तीमा जंगली जनावरलाई छेकबार लगाउन फाउण्डेशनसहित मेसजाली बनाउने कार्यक्रमलाई निरञ्तरता दिने, वडा १५ मा १ सय शय्याको आयुर्वेद अस्पताल बनाउने, भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । साइकल प्रवद्र्धन महानगरले चासो राखेको योजना हो ।
नीति तथा कार्यक्रममा साइक्लिङलाई प्रवर्द्धन गर्न साइकल ऐन नै तयार गरेर भरतपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने उल्लेख छ । वर्तमान जनप्रतिनिधिहरुको कार्यकालको यो अन्तिम बजेट भएको अधिकारीले बताए । मेयरबाट राजीनामा दिएर गएको फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेनु दाहाल उम्मेदवार भएपछि उपमेयर रहेका अधिकारी कार्यवाहक मेयर छन् ।
