भारतीय सम्बन्धित निकायसँग उच्चस्तरीय संवाद गरी नेपाली चिया निर्यातमा देखिएको प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाउन एसोसिएसनले आग्रह गरेको हो ।
काठमाडौँ — चिया निर्यातमा पछिल्लो समय उत्पन्न जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले जनाएको छ ।
नेपालबाट निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाको नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन, बिक्री वितरण र निर्यात शृंखला नै प्रभावित भएको एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका कारण विशेष गरी नेपालको पूर्वी क्षेत्रमा रहेका चिया उद्योगहरु बन्द हुन थालेका तथा सयौं चिया बगान प्रभावित भएका छन् ।
नेपालभर करिब १२० वटा चिया उद्योग, हजारौं किसान तथा करिब ५० देखि ६० हजार श्रमिकको रोजगारीसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । यस क्षेत्रको गतिविधि ठप्प हुनु भनेको नेपालको निर्यात व्यापार, विदेशी मुद्रा आर्जन तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा भारतीय बजारमा सिर्जना भएको यस प्रकारको अवरोधले चिया उद्योगी तथा निर्यातकर्ताहरु मात्र समग्र नेपाली अर्थतन्त्रमा समेत प्रतिकूल असर पुर्याएको एसोसिएसनले जनाएको छ ।
नेपालको निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरणमा चिया क्षेत्रले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक पहल गर्न एसोसिएसनले आग्रह गरेको छ । भारतीय सम्बन्धित निकायसँग उच्चस्तरीय संवाद गरी नेपाली चिया निर्यातमा देखिएको प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाई व्यापारलाई सहज, सरल र निर्वाध बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ ।
