घरघरमा अन्डा र चकलेट बेच्थे खर्बपति इलन मस्क

अक्टोबर २०२५ मा मस्कको कुल सम्पत्तिले पहिलो पटक ५ सय अर्ब डलरको आँकडा पार गरेको थियो।

असार ६, २०८३

एजेन्सी

Billionaire Elon Musk used to sell eggs and chocolates door to door

What you should know

काठमाडौँ — प्रविधिको दुनियाँका सम्राट्का रूपमा परिचित एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर (खर्बपति) बनेका छन् । स्पेसएक्स, टेस्ला, एक्स र ग्रोक कम्पनीका मालिक मस्कसँग १३ खर्ब (१.३ ट्रिलियन) अमेरिकी डलर बराबर सम्पत्ति रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ । 

अक्टोबर २०२५ मा मस्कको कुल सम्पत्तिले पहिलो पटक ५ सय अर्ब डलरको आँकडा पार गरेको थियो । यति धेरै सम्पत्ति आर्जन गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् । यी सबै कम्पनीका सेयर सर्वसाधारणका लागि जारी भएपछि मूल्य बढेर उनी ट्रिलिनियर बनेका हुन् । 

राजनीतिमा पछिल्ला वर्षमा मस्कको प्रभाव बढ्दो छ । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेका थिए । दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका मस्क सानैदेखि व्यावसायिक रूपमा कौशल छन् । आफ्ना दाजुसँग मानिसका घरघरमा चकलेट र अन्डा बेच्न जाने मस्कले १२ वर्षको उमेरमै कम्प्युटर गेम डेभलप गरेका थिए । आमा–बाबुको डिभोर्सका कारण आफ्नो बाल्यकाल जटिल बनेको उनले बताउँदै आएका छन् । विद्यालयमा हुने दुर्व्यवहार र अस्पेर्गर सिन्ड्रोमका कारण बाल्यकालमा आफूलाई सामाजिक रूपमा घुलमिल हुन कठिन हुने गरेको उनको भनाइ छ । 

प्रिटोरियाबाट उनी अध्ययनका लागि क्यानडा र त्यहाँबाट अमेरिका आएका थिए । क्यानडामा क्विन्स विश्वविद्यालयमा पढ्दा उनको भेट जस्टिन विल्सनसँग भयो । त्यहाँबाट १९९२ मा उनी अमेरिका आएर पेन्सिलभेनिया विश्वविद्यालयमा अध्ययन अगाडि बढाए । अर्थशास्त्र र भौतिकशास्त्र अध्ययन गरेपछि सन् १९९० को दशकमा उनले दुई वटा प्रविधि स्टार्टअप कम्पनी सुरु गरे । यसमा एउटा वेब सफ्टवेयर र अर्को अनलाइन बैंकिङ कम्पनी थियो । उक्त अनलाइन बैंकिङ कम्पनी अहिले पेपलका रूपमा चिनिन्छ । यसलाई सन् २००२ मा मस्कले १.५ बिलियन डलरमा इबे कम्पनीलाई बेचेका थिए । 

सन् २००० मा मस्कले लामो समयदेखिकी प्रेमिका जस्टिनसँग विवाह गरे । तर २००८ मा उनीहरूबीच सम्बन्धविच्छेद भयो । उनीहरूका ६ छोराछोरी छन् । जोखिमपूर्ण निर्णय लिन रुचाउने मस्कले सन् २००० कै दशकमा रकेट कम्पनी स्पेसएक्स र विद्युतीय कार कम्पनी टेस्ला खडा गरेका थिए । सन् २००८ मा प्रमुख कार्यकारी बन्नुअघि उनी टेस्लाका अध्यक्ष थिए । 

नासाको सस्तो विकल्प बन्ने लक्ष्यसहित खोलिएको स्पेसएक्स विश्वका ठूला कम्पनीमध्ये एक हो । यसले कुनै दिन मानिसलाई मंगल ग्रहमा लैजाने लक्ष्य राखेको छ । एआई क्षेत्रमा पनि मस्कका आफ्नै महत्त्वाकांक्षा छन् । च्याटजीपीटीको स्वामित्व रहेको कम्पनी ओपन एआईमा उनी सुरुवाती लगानीकर्तामध्ये एक थिए । तर साझेदारबीच कलह सुरु भएपछि सन् २०१८ मा बाहिरिए । त्यसपछि मस्कले आफ्नै कम्पनी एसएआई चलाइरहेका छन् । ग्रोक एआई यही कम्पनीको उत्पादन हो । 

फेब्रुअरी २०२४ मा मस्कले ओपन एआईका संस्थापक साम अल्टम्यानविरुद्ध मुद्दा पनि हालेका थिए । उक्त कम्पनी गैरनाफामूलक रहने गरी आफूले लगानी गरेको उनको दाबी थियो । तर कम्पनीले कालान्तरमा माइक्रोसफ्टलाई सेयर बेचेर त्यसको उल्लंघन गरेको मस्कको आरोप छ । जसलाई मे २०२६ मा क्यालिफोर्नियाका एक न्यायाधीशले खारेज गरिदिए । विगतमा मस्कले आफ्नो व्यवसाय नाफामुखी नभएर परोपकारी रहेको दाबी गर्ने गरेका थिए । जलवायु परिवर्तनजस्ता प्रमुख मानवीय समस्याको समाधानमा आफ्ना व्यवसाय केन्द्रित रहेको उनले बताउने गरेका थिए । तर उनले पछिल्ला दिनमा जलवायु परिवर्तनप्रतिको आफ्नो धारणा बदल्दै लगेका छन् । 

‘यो वास्तविक समस्या हो । तर वास्तविक जोखिम विज्ञहरूले दिने चेतावनीभन्दा थोरै छ,’ उनले केही समयअघि एक्समा लेखेका थिए । आफैंले एआई कम्पनी चलाइरहेको भए पनि उनले यस प्रविधिका कारण भविष्यमा मानवतालाई चुनौती खडा हुन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् । एआईको विकास र घट्दो जन्मदरका कारण संसारमा मानिसको जनसंख्या कम हुन सक्ने उनको चिन्ता छ । 

मस्क १४ सन्तानका बाबु हुन् । पहिलो पत्नी जस्टिनतर्फबाट ६, क्यानेडेली गायिका ग्रिमिसबाट ३, व्यवसायी सिभोन जिलिसबाट ४ र लेखिका तथा इन्फ्लुएन्सर एस्ले सेन्ट क्लेरबाट १ सन्तान छन् । सन् २०२१ मा जिलिसबाट जुम्ल्याहा सन्तान जन्मिएपछि मस्कले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कम जनसंख्याको संकट टार्न मैले सक्दो गरिरहेको छु ।’ मस्क बेला–बेलामा विवादमा पनि आउने गरेका छन् । उनकी पूर्वपार्टनर क्लेरले यसै वर्षको जनवरीमा मस्कको कम्पनी एक्सविरुद्ध मुद्दा दायर गरेकी थिइन् । एक्समा उच्छृंखल डिपफेक तस्बिर ल्याउन ग्रोक प्रयोग भएको थाहा पाएपछि उनले यस्तो मुद्दा हालेकी थिइन् ।

एजेन्सी

Link copied successfully