धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

पुँजीबजारका विकृतिविरुद्ध बोल्दै–लेख्दै आएका भट्टको काँधमा सुधार्ने जिम्मेवारी

असार ५, २०८३

यज्ञ बञ्जाडे

Gopal Prasad Bhatta appointed as Chairman of the Securities and Exchange Board of Nepal

काठमाडौँ — नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ । पद रिक्त रहेको दुई महिनापछि मन्त्रिपरिषद् बैठकले शुक्रबार भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठले ४ वैशाख २०८३ मा राजीनामा दिएपछि उक्त रिक्त थियो ।

तत्कालीन सरकारले १० मंसिर २०८१ मा चार वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो । वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत ४ वैशाखमा राजीनामा दिएका थिए । उनको बाँकी कार्यकालमा सरकारले भट्टलाई नियुक्त गरेको हो ।

नेपाल धितोपत्र ऐन २०६३ को दफा रिक्त पदको पूर्तिसम्बन्धी व्यवस्था छ । यसमा कार्यकाल पूरा नहुँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त हुन आए नेपाल सरकारले यस ऐनबमोजिमको प्रकृया पूरा गरी उक्त पदमा बाँकी अवधिका लागि कुनै व्यक्तिलाई नियुक्त गर्ने व्यवस्था छ । सोहीअनुसार श्रेष्ठको बाँकी कार्यकालका लागि भट्ट नियुक्त भएका हुन् ।

वित्तीय क्षेत्रका जानकार भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडिज (एमबीए) मा स्नातकोत्तर भट्टले नेपालको सेयर बजारको विषयमा विद्यावारधि गरेका छन् । पछिल्ला वर्षमा पुँजीबजारमा भएका विकृतिविरुद्ध उनले बोल्दै–लेख्दै आएका थिए । अब पुँजीबजारको विकृति सुधार्ने जिम्मेवारी उनै भट्टको काँधमा आएको छ ।

बोर्डमा लामो समय अध्यक्ष नियुक्ति नहुँदा धेरै काम रोकिएको सरोकारवाला बताउँछन् । अहिले पनि एक सयभन्दा बढी कम्पनी प्राथमिक सेयर निष्कासन (आईपीओ) को पर्खाइमा छन् । बजारमा चलखेल बढ्ने जोखिम उत्तिकै छ । अध्यक्ष नहुँदा नियमन र सुपरिवेक्षण कमजोर छ भने बजारमा स्वार्थ समूहको हालीमुहाली बढेको जानकारको भनाइ छ । यस्तो अवस्थामा असल मान्छेले स्वच्छ प्रतिस्पर्धा गर्न पाउँदैनन् भने बजारप्रति नागरिकले विश्वासमा कमी आएको छ ।

अध्यक्ष रिक्त रहेका बेला अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिवले अध्यक्षको जिम्मेवारी लिने व्यवस्था धितोपत्र ऐनमा छ । सोहीअनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिव उत्तरकुमार खत्रीले अध्यक्ष पद सम्हाल्दै आएका थिए । तर बोर्डमा गएको दुई महिनामा दुई पटक मात्र सञ्चालक समितिको बैठक बसेको छ । अध्यक्ष नहुँदा नियमन तथा सुपरभिजन पनि प्रभावकारी हुन सकेको छैन, आईपीओलगायत सबै प्रकारका सेयर निष्कासनको अनुमतिमात्र होइन, बोर्डको आन्तरिक सरुवा, जिम्मेवारी हेरफेर, उजुरी सुनुवाइ तथा कारबाहीलगायत काम ठप्प छन् ।

गत सातासम्म १ सय ४ कम्पनीले ६९ अर्ब ३० करोड रुपैयाँ बराबरको ४७ करोड २८ लाख ९४ हजार १ सय ६३ कित्ता आईपीओका लागि बोर्डमा आवेदन दिएका छन् । प्रक्रियामा रहेका हकप्रद सेयर, बोनस सेयर, ऋणपत्र निष्कासनलगायत अन्य समूह पनि जोड्दा यो संख्या निकै बढी हुन आउँछ ।

अध्यक्ष पद खाली भएपछि लगतै सरकारले सिफारिस समिति गठन गरे पनि नियुक्ति गर्न दुई महिना लगाएको छ । पछिल्ला वर्षमा बोर्ड अध्यक्ष नियुक्तिमा जहिल्यै पनि किचलो हुने गरेको छ । यसअघि सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्नुअघि करिब ११ महिना बोर्ड अध्यक्षविहीन बनेको थियो । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि २१ पुस २०८० देखि बोर्ड नेतृत्वविहीन थियो । सरकारले १० मंसिर २०८१ मा मात्र श्रेष्ठलाई नियुक्त गरेको थियो ।

यस पटक वैशाख पहिलो साता अध्यक्ष रिक्त भएपछि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । अर्थसचिव घनश्याम उपाध्याय सदस्य र पूर्वबैंकर भुवन दाहाल विज्ञ सदस्य रहेको उक्त समितिले १५ जेठमा अध्यक्षका लागि आवेदन खुलाएको थियो ।

बोर्ड अध्यक्षका लागि ४७ जना प्रत्याशीले आवेदन दिएका थिए । आफ्नो नातेदारभित्रबाट पनि अध्यक्ष प्रत्याशीमा आवेदन परेपछि स्वार्थ बाझिने भन्दै संयोजक भट्टले छनोट समिति संयोजकबाट राजीनामा दिए  । त्यसपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सञ्जय आचार्यलाई संयोजक नियुक्त गरेको थियो । त्यसपछि समितिले नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र गोपाल भट्टलाई ‘सर्टलिस्ट’ गरेको थियो ।

‘सर्टलिस्ट’मा छानिएकामध्ये समितिले ८ जेठमा भट्ट, आचार्य र क्षेत्री गरी तीन जना सिफारिस गरेको थियो । र तीन जनामध्ये सरकारले भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।

मुख्यगरी पछिल्ला अध्यक्षहरूको कार्यकाल निकै विवादित बनेका छन् । तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले स्वार्थ बाझिने काम गरेको भन्दै त्यति बेलाको सरकारले उनलाई बर्खास्त गरेको थियो । त्यति बेला बाँकी साढे २ वर्षको कार्यकालका लागि सरकारले रमेशकुमार हमाललाई नियुक्त गरेको थियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि भएका अनेकन प्रयास, वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूलाई सेयर निष्कासन अनुमति, ब्रोकर लाइसेन्स वितरणलगायत कारण हमालको कार्यकाल पनि विवादरहित बन्न सकेन । त्यसपछि नियुक्त सन्तोषनारायण श्रेष्ठको कार्यकाल पनि आईपीओ अनुमतिका विषयमा विवादित बन्यो । उनले पनि पूर्ण कार्यकाल काम गर्न पाएनन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully