भारतीय अवरोधका कारण इलाम र झापाका चिया उद्योग र बगान बन्द हुँदा हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेका छन् ।
इलाम — भारतीय पक्षले नेपाली चियाको निर्यातमा नयाँ अवरोध खडा गरेपछि झापाका चिया उद्योग र बगान बिहीबारदेखि ठप्प भएका छन् ।
असार १ देखि इलामका ५३ चिया उद्योग बन्द भइसकेका थिए भने अब झापाका उद्योग र बगानसमेत बन्द भएपछि पूर्वी नेपालको चिया उद्योग गम्भीर संकटमा परेको छ ।
नेपाल चिया उत्पादक संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय सीमा नाकामा नेपाली तयारी चियाको गुणस्तर परीक्षणका नाममा रोक लगाइएपछि उद्योग सञ्चालन असम्भव बनेको हो । संघका अनुसार भारतको इन्डियन टी बोर्डले हालै लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएको छ । यसअघि वर्षौंदेखि निर्यात हुँदै आएको चियालाई सीमामै रोकेर परीक्षण प्रक्रिया थप जटिल बनाइएपछि उद्योगीहरू समस्यामा परेका छन्।
संघले नेपाली चिया गुणस्तरीय रहेको र भारतसहित अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि स्वीकार्य रहेको दाबी गरेको छ। तर नयाँ व्यवस्थाका कारण तयारी चिया सीमामा थन्किँदा उद्योगमा नगद प्रवाह (क्यास फ्लो) संकट उत्पन्न भएको, उत्पादन भण्डारण गर्न कठिनाइ भएको र किसान तथा श्रमिक प्रत्यक्ष प्रभावित बनेको जनाएको छ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले सरकार, राजनीतिक दल, कूटनीतिक निकाय, पत्रकार र सरोकारवालासँग तत्काल पहलका लागि आग्रह गरेका छन्। संघले समस्या समाधान नभएसम्म उद्योग सञ्चालन सम्भव नभएको भन्दै आजदेखि झापाका उद्योग र बगान बन्द गरिएको जनाएको छ ।
यता नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पनि भारतीय पक्षबाट सिर्जित अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा जारी विज्ञप्तिमा चिया नेपालको प्रमुख निर्यातजन्य वस्तु भएको उल्लेख गर्दै यसले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ।
महासंघका अनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गरेको छ भने भारतमा मात्रै वार्षिक २ करोड ५६ लाख केजी चिया निर्यात हुने गरेको छ। चिया उद्योगमा प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन्।
भारतीय अवरोधका कारण ठूलो परिमाणमा तयारी चिया सीमामा रोकिँदा उद्योगहरूमा मौज्दात बढेको, नगद प्रवाहमा समस्या आएको तथा हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेको महासंघले जनाएको छ। उद्योगहरू पछिल्ला केही दिनदेखि अनिश्चितकालीन बन्द हुन बाध्य भएको र यसले समग्र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।
इलामको सुर्योदय टि प्रोडक्ट एसोसियएसनले विहीवार प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाललाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। भारतीय अवरोधपछि चिया निर्यातमा भएको अवरोधले समग्र चिया उद्योगलाई संकटमा पारेको उल्लेख छ ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अवरोध नहटेसम्म वन्द चिया उद्योग नखोल्ने जनाए। उनले भने,'निर्यात नै नहुने भएपछि हामीले उद्योग किन खोल्ने ?'
