बिमा कम्पनी र नियामक निकाय बिमा प्राधिकरणले हालसम्मको भुक्तानी राम्रो नै भएको दाबी गर्छन् । तर निजी क्षेत्रले भने पर्याप्त भुक्तानी नपाएको गुनासो गरेको छ ।
What you should know
काठमाडौँ — गत २३ भदौको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये नौ महिनामा साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा करिब ७ अर्ब रुपैयाँ मात्र भुक्तानी भएको छ । बिमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बिमा कम्पनीमा २३ अर्ब ५३ करोड २६ लाख रुपैयाँको दाबी परेको थियो । त्यसमध्ये हालसम्म ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । यो कुल दाबीको करिब ३२ प्रतिशत मात्र हो । जेन–जी आन्दोलनमा भएको क्षतिमा बिमा कम्पनीहरूमा ३ हजार ६ सय ६४ दाबी परेको छ ।
बिमा कम्पनी र नियामक निकाय बिमा प्राधिकरणले हालसम्मको भुक्तानी राम्रो नै भएको दाबी गर्छन् । तर निजी क्षेत्रले भने पर्याप्त भुक्तानी नपाएको गुनासो गरेको छ । सुरुमा प्रायः धेरैले भुक्तानी पाएपछि पछिल्ला महिनामा प्रक्रियागत कारणले केही कम्पनीले दाबी नभएको हुन सक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । ‘बिमा कम्पनीहरूले जानाजानी ढिलाइ नगरेका होलान्, तर कागजात नपुगेकोलगायत कारण केही बिमा भुक्तानीमा ढिलाइ भएको जानकारी आएको थियो,’ उनले भने, ‘तर यो प्रक्रियागत कारणले हो । नियतले होइन ।’
प्र्रदर्शनमा भएको क्षतिमा करिब एकचौथाइ बिमा दाबी भुक्तानी भए पनि बाँकी नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सबै बिमा दाबी नपाए पनि कम्पनीले आफ्नै बलबुताले क्षतिको पुनर्निर्माण गरिरहेका छन्,’ उनले भने ।
तर बिमा कम्पनीहरूले सबै कागजात पुगेका र मूल्यांकन सकिएका दाबीको भुक्तानी गरिरहेको जनाएका छन् । ‘ठूलाको मूल्यांकन प्रतिवेदन आउन बाँकी छ । प्रायः सबैले अग्रिम रूपमा केही भुक्तानी पाएका छन् । मूल्यांकनको काम नसकिएकाले ठूला दाबीमा सबै भुक्तानी नभएको हो,’ नेपाल बिमक संघका पूर्वअध्यक्ष चंकी क्षेत्रीले भने ।
हालसम्मको भुक्तानी राम्रो भएको क्षेत्रीको भनाइ छ । ‘हालसम्मको भुक्तानी निकै राम्रो हो । किनकि साढे २३ अर्बको दाबी परे पनि यथार्थमा यो बढीमा १४/१५ अर्ब मात्र हुन आउँछ,’ क्षेत्रीले भने, ‘यसकारण हालसम्मको यो भुक्तानीलाई राम्रो नै मान्नुपर्छ ।’
भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीले बताएका छन् । उनीहरूका अनुसार पूर्ण क्षति भएका सवारीसाधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको हो ।
नियामक निकाय बिमा प्राधिकरणले पनि हालसम्मको भुक्तानी सन्तोषजनक मान्नुपर्ने जनाएको छ । होटल हिल्टन, भाटभटेनीलगायत केही ठूला क्षति सम्बन्धमा सर्भेयरले प्रतिवेदन दिइसकेको छैन । केही कम्पनीको दाबीमा विवाद सिर्जना भएकाले भुक्तानी कम देखिएको प्राधिकरणका एक उच्च अधिकारीको भनाइ छ ।
‘संख्याका आधारमा धेरै भुक्तानी भइसकेको छ । अब थोरै तर ठूला दाबीको मात्र भुक्तानी बाँकी छ,’ ती अधिकारीले भने, ‘हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर कारोबार र त्यसका सञ्चालकका सम्बन्धमा अध्ययन र मुद्दा दायर भएपछि पछिल्ला एक/दुई महिना अरू बिमा कम्पनी पनि त्रस्त भएकाले भुक्तानीमा ढिलाइ भएको थियो ।’
अब बिमा कम्पनी, पुनर्बिमा कम्पनीलगायतलाई निरन्तर प्राधिकरणमै डाकेर छिटो भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिइरहेको ती अधिकारीले बताए । बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ । नेपाल जस्तै सामाजिक, आर्थिक अवस्था भएका अरू देशमा पनि यही गतिमा बिमा भुक्तानी हुने गरेको प्राधिकरणको दाबी छ । दाबी भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्ने र मूल्यांकन पूरा भएकाहरूको हकमा बिमा भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।
हालसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ५ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यो बिमामा ७ सय २१ वटा दाबीमा १९ अर्ब १२ करोड ९६ लाखको मागदाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा २ अर्ब ५ करोड ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।
ठेकेदार तथा इन्जिनियरिङ बिमामा १३ करोड ९९ लाख, पारवहन बिमामा १ करोड ७० लाख र अन्य बिमामा ९ करोड ४१ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये करिब ७० प्रतिशत सम्पत्ति बिमाको छ । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै क्षति बागमतीमा रहेको देखिएको छ ।
