सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पर्यटन क्षेत्रका सरोकारवालालाई लक्षित ‘ट्राभल कन्टेन्ट क्रिएसन वर्कसप’ शुरु गर्ने भएको छ ।
काठमाडौँ — सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पर्यटन क्षेत्रका सरोकारवालालाई लक्षित ‘ट्राभल कन्टेन्ट क्रिएसन वर्कसप’ शुरु गर्ने भएको छ ।
बोर्डले जारी गरेको विज्ञप्तिअनुसार आगामी बुधबारदेखि तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुने कार्यशालामा देशभरका ३ सय पर्यटन व्यवसायी, पर्यटन उद्यमी, ट्राभल कन्टेन्ट निर्माता, डिजिटल कथावाचक, सञ्चारकर्मी तथा पर्यटन सञ्चारकर्मी सहभागी हुनेछन् ।
बोर्डका अनुसार नेपालका पर्यटन गन्तव्य, संस्कृति, सम्पदा र साहसिक पर्यटनलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो । सहभागीहरूलाई पर्यटन क्षेत्रका कथावाचन, छोटा भिडियो निर्माण, दर्शकसँग अन्तरक्रिया, गन्तव्य ब्रान्डिङ तथा पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगबारे व्यावहारिक प्रशिक्षण दिइनेछ ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमका लागि सहभागीलाई उनीहरूको पेशागत क्षेत्रका आधारमा समूह विभाजन गरी एकदिने सघन सत्रमा सहभागी गराइने बोर्डले जनाएको छ। कार्यशालामा टिकटकका विज्ञहरूले प्रशिक्षण दिनेछन् ।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच पछिल्ला वर्षहरूमा डिजिटल कथावाचनमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने, कन्टेन्ट निर्माता परिचालन गर्ने तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने सहकार्य हुँदै आएको छ ।
