साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित : सञ्चालक

वैदेशिक रोजगार व्यवसायीहरूले ‘एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको’ भन्दै तालिम प्रदायक संस्थामा घेराउ गर्न गएपछि ट्रेनिङ इन्स्टिच्युटले स्थागितको सूचना टाँसेको हो ।

असार ३, २०८३

होम कार्की

Saudi Arabia's skills certification program postponed: Administrator

What you should know

काठमाडौँ — साउदी अरबले बुधबारदेखि गर्ने भनिएको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ ।  काठमाडौंको बसुन्धारास्थित ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) सञ्चालन गर्न खोलिएको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिले सूचना टाँसेर स्थगित भएको जनाएको हो ।

वैदेशिक रोजगार व्यवसायीहरूले ‘एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको’ भन्दै तालिम प्रदायक संस्थामा घेराउ गर्न गएपछि ट्रेनिङ इन्स्टिच्युटले स्थागितको सूचना टाँसेको हो । तर, यसबारे साउदी दूतावासले कुनै औपचारिक सूचना जारी गरेको छैन । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।  परीक्षा शुल्कबापत ५० डलर र पूर्व सिकाइ मान्यता (आरपीएल) बापत ५० डलर छ ।

काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र पेस नगरेमा श्रम भिसा जारी नगर्ने भनेको छ ।

एसभिपी लागू गर्ने भनिएको संस्थामा बुधबार नै उद्घाटन कार्यक्रम गर्ने तय भएको थियो । झन्डै दुई सयभन्दा बढी वैदेशिक रोजगार व्यवसायी पुगेर विरोध प्रर्दशन गरेपछि दूतावासका कूटनीतिक कर्मचारी उद्घाटनमा सहभागी नभई फर्केका थिए । व्यवसायीहरूले ‘सीप प्रमाणीकरण कार्यक्रम’ लेखिएको बोर्ड फालिदिएका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डेले यस कार्यक्रमको विषयमा सरकारले औपचारिक रूपमा पत्र लेखेर पठाउनुपर्ने बताए । साउदीले त्यस्तो सीप परीक्षण गर्ने संस्थाहरूको नाम र सूची सार्वजनिक गरिएको छैन । व्यवसायीहरूले श्रम सम्झौताविपरीत नेपालसँग समन्वय र सहकार्य नगरी एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको सीप परीक्षण कार्यक्रममा सञ्चालन गर्न नदिने बताएका छन् ।

हाल सीप परीक्षण ५ वटा पेसामा क्रमशः सामान लोड तथा अनलोड गर्ने, भरिया, ठेला चलाउने, र निर्माण क्षेत्रका श्रमिक रहेका छन् । निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भनेर प्रस्ट खुलाइएको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस कार्यक्रमको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । मन्त्रालयको अधिकारीहरूले यसबारे आन्तरिक छलफल भइरहेको जनाएको छ ।

गत पुसमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्रविधिक कार्यसमितिले तय गर्ने उल्लेख छ । तर, सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय सहमति भएको छैन ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully