साउदीको सीप प्रमाणीकरण केन्द्रमा वैदेशिक रोजगार व्यवसायीको अवरोध

वैदेशिक रोजगार व्यवसायीले श्रम सम्झौताविपरीत नेपालसँग समन्वय र सहकार्य नगरी एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको सीप परीक्षण कार्यक्रममा सञ्चालन गर्न नदिने बताएका छन् ।

असार ३, २०८३

होम कार्की

What you should know

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायीहरूले साउदी अरबले नेपालको सहमतिबिना काठमाडौंमा सुरू गरिएको श्रमिकको सीप प्रमाणीकरण केन्द्रमा पुगेर बुधबार विरोध प्रर्दशन गरेका छन् ।

साउदीले श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा जाने श्रमिकको बुधबार सीप परिक्षण कार्यक्रम सुरू गर्न वसुन्धरास्थित केन्द्रको उद्घाटन कार्यक्रम राखेको थियो । व्यवसायीले उद्घाटन गर्ने केन्द्र अगाडि पुगेर विरोध जनाइरहेका छन् । व्यवसायीले ‘सीप प्रमाणीकरण कार्यक्रम’ लेखिएको बोर्ड फालिदिएका छन् । 

उनीहरूले श्रम सम्झौताविपरीत नेपालसँग समन्वय र सहकार्य नगरी एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको सीप परीक्षण कार्यक्रममा सञ्चालन गर्न नदिने बताएका छन् । यो सीप परिक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।  परीक्षा शुल्कबापत ५० डलर र पूर्व सिकाइ मान्यता (आरपीएल) बापत ५० डलर छ ।

Foreign employment professionals obstruct Saudi skills certification center

साउदीले सीप परीक्षणमा पास भएको प्रमाणपत्र पेस नगरे भिसा जारी नहुने जनाएको छ । हाल सीप परीक्षण ५ वटा पेसाहरूमा क्रमशः समान लोड तथा अनलोड गर्ने, भरिया, ठेला चलाउने, र निर्माण क्षेत्रका श्रमिक रहेका छन् । निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भनेर प्रस्ट खुलाइएको  छैन ।

नेपाल वैदेशिक रोजगार एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डेले सीप परीक्षणका नाममा श्रमिकसँग पैसा असूल गर्न खोजिएको आरोप लगाए । उनले भने, 'यो सिन्डिकेट हो । यसलाई कुनै पनि हिसाबले हामीले स्वीकार गर्न सक्दैनौँ ।' 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस कार्यक्रमको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । मन्त्रालयको अधिकारीले यसबारे आन्तरिक छलफल भइरहेको जनाएको छ ।

गत पुसमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्रविधिक कार्य समितिले तय गर्ने उल्लेख छ । तर, सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबी द्विपक्षीय सहमति भएको छैन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यो सम्बन्धमा ध्यानकर्षण गर्न युवा, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई भेट्न श्रम मन्त्रालयमा पुगेका थिए । श्रममन्त्री यादवले व्यवसायीलाई भेटेका छैनन् ।  संघका अध्यक्ष डिकबहादुर (कुमार) खत्रीले श्रमिकलाई अत्याधिक आर्थिक भार स्वीकार नहुने बताए ।

‘यो व्यवस्था लागू भएमा अब साउदी अरब जाने नेपाली श्रमिकहरूले अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।  प्रमाणीकरण प्रक्रियाका कारण थप समय खर्च गर्नुपर्ने तथा रोजगारी प्रक्रियामा अनावश्यक झन्झट र आर्थिक भार बेहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ,’ संघका अध्यक्ष खत्रीले भने,‘ यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागत वृद्धि भई उनीहरूको हित प्रतिकूल रूपमा प्रभावित हुन सक्ने सम्भावना छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully