‘पहिला घरदेशः अनि परदेश’ कार्यक्रमलाई निरन्तरता, फेवाताल सौन्दर्यीकरणका लागि ५ करोड बजेट विनियोजन
What you should know
काठमाडौँ — गण्डकी प्रदेश सरकारले आगामी ५ वर्षभित्र अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य लिएको जनाएको छ ।
आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उनले पर्यटक वृद्धि गराउन पर्यटन पूर्वाधार, प्रचारप्रसार, हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रवर्द्धनमा विशेष जोड दिइने बताए ।
प्रदेश सरकारले पर्यटन तथा उद्योग क्षेत्रमा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्री शेरचनले प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति र पर्यटकमैत्री सेवा विस्तारलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘पहिला घरदेशः अनि परदेश’ तथा ‘लेक टु लेक’ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिनेछ। ‘गण्डकी जाऔं : प्रकृति र संस्कृतिसँग रमाऔं’ अभियानलाई थप प्रभावकारी बनाउँदै पोखरालाई बैठक, सम्मेलन, स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने सरकारको योजना छ।
बजेटमा दामोदरकुण्ड-मुक्तिनाथ-गलेश्वर-पञ्चकोट-रिडी-राम्दी-केलादीघाट-देवघाट-त्रिवेणीधाम जोड्ने धार्मिक पर्यटन परिपथ निर्माणलाई प्राथमिकता दिइएको छ । यससँग सम्बन्धित पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिनेछ । मोदीबेनीधामदेखि पर्वतको पुकोट र भैरवस्थान जोड्ने धार्मिक पदमार्ग निर्माण पनि अघि बढाइने भनिएको छ।
मनास्लु, अन्नपूर्ण, धौलागिरि र ढोरपाटन क्षेत्रका चक्रीय पदमार्ग स्तरोन्नति तथा वैकल्पिक मार्गको पहिचान र प्रवर्द्धन गरिने बजेटमा उल्लेख छ । ढोरपाटनमा बुकी संरक्षण तथा जलाशय निर्माण गरी आन्तरिक पर्यटन बढाउने योजना पनि सरकारको छ ।
‘राउण्ड फेवा : भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ भने फेवाताल वरिपरिको ‘क्लोज सर्किट’ मार्गलाई पूर्णता दिने मन्त्री शेरचनले बताए । फेवा होराइजन पेडेस्ट्रियन ट्रेल (सेल्फी ट्रेल) र रुपातालमा सिसाको पुल निर्माणलाई पनि अघि बढाइनेछ । फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिकासँगको साझेदारीमा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
‘एक जिल्ला : एक पर्यटकीय गन्तव्य’ अवधारणाअन्तर्गत स्थानीय संस्कृति, होमस्टे, फार्मस्टे र रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गरिनेछ । पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी र आपत्कालीन उद्धार सेवालाई थप सुदृढ बनाइने सरकारको भनाइ छ।
युवालाई लक्षित गर्दै ‘प्रविधिमा जोडौं : समुन्नतिमा मोडौं’ अवधारणाअनुसार पर्यटन राजधानी पोखरा क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि समेत बजेट व्यवस्था गरिएको छ।
बजेटमा पर्यटनसँगै स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित उद्योग, उद्यमशीलता विकास, सीपमूलक तालिम र रोजगारी सिर्जनालाई पनि प्राथमिकता दिइएको छ। मन्त्री शेरचनले पर्यटन तथा उद्योग क्षेत्रको समग्र विकासका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।
