बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

खाता निलम्बनजस्ता भ्रामक एसएमएस र शंकास्पद लिंकबाट जोगिन तथा आधिकारिक स्रोत मात्र विश्वास गर्न नेपाल टेलिकमले ग्राहकलाई अनुरोध गरेको छ ।

असार १, २०८३

सजना बराल

Nepal Telecom requests to be aware of misleading SMS sent in the name of banks and digital payment services

काठमाडौँ — नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्टआईपीएस लगायत  विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको  छ ।

यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरुलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।

नेपाल टेलिकमले ग्राहकहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको हो । कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत् जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न कम्पनीले आग्रह गरेको छ । 

अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पीन, सीभीभी लगायत गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न कम्पनीले सुझाव दिएको छ ।

शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन भनिएको छ । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully