दुई संस्थाबीचको सहकार्यले उड्डयन क्षेत्रमा ज्ञान, अनुभव, अनुसन्धान र प्राविधिक क्षमताको आदानप्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
What you should know
काठमाडौँ — नेपालको निजी उड्डयन क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याई उद्योगको दिगो विकास, सुरक्षा र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच सहकार्य गर्न सोमबार समझदारी भएको छ ।
वायुसेवा सञ्चालक संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुई संस्थाबीचको सहकार्यले उड्डयन क्षेत्रमा ज्ञान, अनुभव, अनुसन्धान र प्राविधिक क्षमताको आदानप्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । संघका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार नेपालका सम्पूर्ण उड्डयन सरोकारवालाबीच समन्वय र सहकार्य बढाउन यो पहल गरिएको हो ।
२४ वर्षअघि स्थापना भएको वायुसेवा सञ्चालक संघ नेपालका निजी वायुसेवा कम्पनीहरूको साझा संस्था हो । यसले वायुसेवा सञ्चालनसँग सम्बन्धित नीतिगत तथा व्यावसायिक विषयमा काम गर्दै आएको छ। त्यस्तै सन् २००५ मा स्थापना भएको एरोनटिकल सोसाइटीले उड्डयनसम्बन्धी प्राविधिक ज्ञान, अनुसन्धान, तालिम र व्यावसायिक विकासका क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आएको छ ।
दुवै संस्थाले पछिल्ला वर्षहरूमा विश्व उड्डयन उद्योगमा तीव्र गतिमा भइरहेको डिजिटल रूपान्तरण, स्वचालन, डेटा–आधारित निर्णय प्रणाली, वातावरणीय उत्तरदायित्व र नवीन प्रविधिको प्रयोगजस्ता चुनौती र अवसरलाई ध्यानमा राख्दै सहकार्य अघि बढाएको बताएका छन्। उनीहरूका अनुसार नेपालमा पनि उड्डयन क्षेत्रलाई भविष्यअनुकूल बनाउन दक्ष जनशक्ति, अनुसन्धान र संस्थागत समन्वय आवश्यक छ ।
समझदारीअनुसार उड्डयन क्षेत्रमा क्षमता विकास र नेतृत्व प्रवर्द्धन, सञ्चालन तथा इन्जिनियरिङसम्बन्धी तालिम, सुरक्षा व्यवस्थापन, नवीन प्रविधिसम्बन्धी अध्ययन तथा अनुसन्धान, अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेशाकर्मीको क्षमता अभिवृद्धि, डिजिटलाइजेसन र कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको उपयोग विस्तारमा संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ।
यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला, प्राविधिक अन्तरक्रिया, नीति संवाद र ज्ञान आदानप्रदानका कार्यक्रम आयोजना गर्ने, उद्योग, शैक्षिक संस्था र प्राविधिक समुदायबीच सहकार्य विस्तार गर्ने तथा उड्डयन क्षेत्रका विभिन्न सरोकारवालाबीच समन्वय बढाउने विषय पनि समझदारीका प्रमुख क्षेत्रका रूपमा समेटिएका छन्।
यो सहकार्यले नेपालको उड्डयन क्षेत्रलाई अझ सुरक्षित, प्रतिस्पर्धी र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउन योगदान पुग्ने विश्वास वायुसेवा संचालक संघले गरेको छ। साथै संघले उड्डयन उद्योग, शैक्षिक संस्था, प्राविधिक समुदाय तथा अन्य सरोकारवालालाई समेत यस अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
