पछिल्ला महिनामा सडकमार्ग हुादै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य, पोखरा, मुक्तिनाथ, सुपादेउराली, स्वर्गद्वारी, धनकुटाको हिलेलगायत धार्मिक तथा पहाडी गन्तव्यमा बढी चाप
What you should know
काठमाडौँ — केही सातायता सामाजिक सञ्जालमा भारतीय पर्यटकका भिडियो र तस्बिर भाइरल भइरहेका छन् । कतै सडक किनारमा खाना पकाइरहेका दृश्य छन्, कतै मुक्तिनाथ जाने बाटोमा विश्राम गरिरहेका तीर्थयात्री ।
यी तस्बिरले दुइटा विषयमा बहस पैदा गरेको छ, ‘के नेपाल भित्रिने यस्ता पर्यटकले अर्थतन्त्रलाई फाइदा गरिरहेका छन् ?’ अर्को भारतीय दृष्टिकोणबाट सिर्जित बहसले भन्छ, ‘नेपाल भ्रमणमा जाने तीर्थयात्रीका लागि के यहाँ पर्याप्त पूर्वाधार, भोजनालय र धर्मशाला छैनन् ?’
यी दुई विषयमा बहस चलिरहँदा पर्यटन मन्त्रालयले आइतबार सडकमार्गबाट नेपालका तीर्थस्थल पस्ने भारतीय पर्यटकका लागि सूचना जारी गरेको छ । सूचनाले नेपाल भ्रमणमा रहँदा पर्यटकहरूले ‘के–के गर्ने र के–के नगर्ने ?’
उक्त सूचना पर्यटनमन्त्री खडकराज पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । बेलुकीपख कान्तिपुरसँगको कुराकानी गर्दै उनले यस विषयलाई फरक ढंगले हेर्नुपर्नेमा जोड दिए । अहिले नेपालले देखिरहेको दृश्य केवल भारतीय पर्यटकको भीड होइन, यो नेपाल–भारत धार्मिक पर्यटनको बदलिँदो स्वरूप हो ।
‘भारतको कुल जनसंख्याको १ प्रतिशत मात्रै नेपाल आए पनि वार्षिक कम्तीमा १ करोड धार्मिक पर्यटक नेपाल आउन सक्छन्,’ मन्त्री पौडेल भन्छन्, ‘त्यो नेपालको पर्यटन बजारका लागि अत्यन्त ठूलो अवसर हुन सक्छ ।’
पछिल्ला महिनामा विशेषगरी सडकमार्ग हुँदै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको छ । पोखरा, मुक्तिनाथ, सुपादेउराली, स्वर्गद्वारी, धनकुटाको हिलेलगायत धार्मिक तथा पहाडी गन्तव्यमा उनीहरूको चाप बढ्दो छ । पर्यटन मन्त्रालयका अनुसार धेरैजसो पर्यटक धार्मिक यात्राका लागि आउने गरेका छन् ।
मुक्तिनाथमा केही दिनअघि एकै दिन करिब ३० हजार भारतीय पर्यटक पुगेका थिए । स्वर्गद्वारीमा एकै दिन १० हजारभन्दा बढी भारतीय तीर्थयात्री पुगेको मन्त्रालयको तथ्यांक छ । तर यति धेरै संख्यामा आउने तीर्थयात्रीलाई व्यवस्थित रूपमा सेवा दिन आवश्यक पूर्वाधार भने अझै तयार भइनसकेको मन्त्री पौडेलले जनाए ।
‘यतिका संख्यामा आउने पर्यटकलाई बस्ने र खाने ठाउँको अभाव छ,’ मन्त्री पौडेलले भने, ‘त्यसैले अब धर्मशाला निर्माण तथा शाकाहारी भोजनालयको वृद्धिलाई प्राथमिकतामा राखेका छौं । आगामी आर्थिक वर्षदेखि विभिन्न धार्मिक गन्तव्यमा धर्मशाला निर्माणको काम सुरु गर्ने योजना छ ।’
भारतीय तीर्थयात्रीबारे नेपालमा चलिरहेको बहसको केन्द्रमा उनीहरूको खानपान शैली छ । विशेषगरी मुक्तिनाथ, स्वर्गद्वारी वा अन्य हिन्दु तथा बौद्ध तीर्थस्थलमा आउने धेरैजसो भारतीय पर्यटक प्रायः शाकाहारी हुन्छन् । तर नेपालमा शाकाहारी भोजनालयको संख्या सीमित छ । भएका होटल तथा रेस्टुरेन्टको समेत व्यवस्थित सूचीकरण छैन । परिणामतः शाकाहारी पर्यटकले आफैं खाना पकाउने विकल्प रोज्ने गरेका छन् । यही वास्तविकतालाई बेवास्ता गरेर सामाजिक सञ्जालमा मात्र आलोचना गर्नु उचित नहुने मन्त्री पौडेल बताउँछन् ।
‘हाम्रा आमाबुबा भारतका तीर्थस्थलमा जाँदा जसरी शुद्ध खानपान खोज्छन् । भारतीय तीर्थयात्रीले पनि नेपाल आउँदा त्यही खोज्छन्,’ मन्त्री पौडेल भन्छन्, ‘शाकाहारी भोजनालय र धर्मशाला पर्याप्त हुन्थे भने उनीहरूलाई बाटोमै खाना पकाउनुपर्ने अवस्था आउने थिएन ।’
यही विषयलाई दृष्टिगत गरी पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षदेखि भैरहवादेखि पोखरा हुँदै मुक्तिनाथसम्म रहेका शाकाहारी होटल तथा भोजनालयको सूचीकरण गर्ने योजना बनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई त्यस्ता होटल तथा धर्मशालाको विवरण उपलब्ध गराउने तयारीसमेत भइरहेको छ । भारतीय तीर्थयात्रीबारे नेपालमा अर्को प्रचलित धारणा छ, ‘उनीहरू खर्च गर्दैनन् ।’
तर पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्ड यो धारणासँग सहमत छैनन् । मन्त्री पौडेलका अनुसार होटलमा नबसे पनि तीर्थयात्रीले नेपालमा आर्थिक गतिविधि बढाउँछन् । उनीहरू उपहार तथा चिनो, खाद्यान्नलगायत किनमेलमा सहभागी हुन्छन् । खाद्यान्न तथा दैनिक उपभोगका सामग्री खरिद गर्छन् । यातायात प्रयोग गर्छन् र उनीहरू बोकेर आउने गाडीले सडक प्रयोगबापत टोल शुल्क तिर्छन् ।
‘सडक निर्माणमा राज्यले अर्बौं रुपैयाँ लगानी गरेको छ,’ मन्त्री पौडेलले भने, ‘त्यो सडक प्रयोग गर्ने गाडीबाट टोल उठ्छ । पर्यटकले किनमेल गर्छन्, सामान किन्छन्, स्थानीय अर्थतन्त्र चलायमान बन्छ । त्यसैले उनीहरूले खर्च गर्दैनन् भन्नु सही होइन ।’
धार्मिक तथा आध्यात्मिक पर्यटनलाई केवल पर्यटकले गर्ने प्रत्यक्ष खर्चका आधारमा मात्र मूल्यांकन गर्न नहुने पशुपति क्षेत्र विकास कोषका निवर्तमान कार्यकारी निर्देशक सुवासचन्द्र जोशीको टिप्पणी छ । धार्मिक पर्यटकले अन्य पर्यटकको तुलनामा कम खर्च गर्ने देखिए पनि उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक योगदान दीर्घकालीन र बहुआयामिक हुने उनको भनाइ छ ।
जोशीका अनुसार धार्मिक यात्रामा आउने पर्यटकले होटल, यातायात वा मनोरञ्जनमा सीमित खर्च गरे पनि उनीहरूले स्थानीय अर्थतन्त्रलाई विभिन्न तहमा चलायमान बनाइरहेका हुन्छन् । धार्मिक पर्यटनको अर्को महत्त्वपूर्ण पक्ष ‘अनौपचारिक प्रचार’ रहेको जोशी बताउँछन् । ‘धार्मिक पर्यटकले आफ्नो यात्रा अनुभव परिवार, आफन्त र समुदायमा सुनाउँछन् । अहिले सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र अनुभव साझा गर्ने प्रवृत्ति झन् बढेको छ,’ उनले भने, ‘यसले कुनै औपचारिक विज्ञापनभन्दा पनि बढी प्रभाव पार्न सक्छ । एक जना सन्तुष्ट तीर्थयात्रीले भविष्यमा दर्जनौं नयाँ पर्यटकलाई नेपाल आउन प्रेरित गर्न सक्छन् ।’
भारतमा पछिल्ला वर्षमा धार्मिक पर्यटनलाई सरकारी तहबाट समेत प्रोत्साहन भइरहेको छ । भारतका विभिन्न राज्य सरकारले आफ्ना ज्येष्ठ नागरिकलाई अनुदान वा सहुलियतमा धार्मिक तीर्थयात्रामा सहभागी गराउने कार्यक्रम सञ्चालन गरिरहेको जोशीले जनाए । उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात, हरियाणालगायत राज्यले विभिन्न तीर्थस्थलको भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
‘भारतमा अहिले राज्य सरकारकै पहलमा लाखौं ज्येष्ठ नागरिक धार्मिक यात्रामा निस्किरहेका छन्,’ जोशीले भने, ‘नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, मानसरोवर मार्गसँग जोडिएका क्षेत्र र अन्य धार्मिक गन्तव्यलाई यस्ता कार्यक्रमसँग जोड्न सके नेपालले ठूलो लाभ लिन सक्छ ।’
पर्यटनमन्त्री पौडेलको पनि अर्को तर्क अझ रोचक छ । उनका अनुसार धार्मिक यात्रामा आउने तीर्थयात्री स्वयंले मात्रै खर्च गर्दैनन्, उनीहरूले भविष्यका उच्च खर्च गर्ने पर्यटकलाई पनि नेपालतर्फ आकर्षित गर्छन् । ‘उनीहरूले फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालमा आफ्नो यात्रा अनुभव राख्छन्,’ मन्त्री पौडेल भन्छन्, ‘त्यसले अरू भारतीय पर्यटकलाई नेपाल आउन प्रेरित गर्छ । यसरी क्रमशः उच्च खर्च गर्ने पर्यटक पनि आकर्षित हुन्छन् ।’
भारत अहिले विश्वकै सबैभन्दा ठूलो आउटबाउन्ड पर्यटन बजारमध्ये एक हो । भारतीय मध्यमवर्गको आय वृद्धि र सडक सञ्जालको विस्तारसँगै धार्मिक पर्यटन पनि तीव्र रूपमा बढिरहेको छ । सामाजिक सञ्जालमा केही भारतीय पर्यटकले सार्वजनिक स्थानमा खाना पकाएको भिडियो भाइरल भएपछि मन्त्रालयले पर्यटकका लागि ‘के गर्ने, के नगर्ने’ भन्ने विषयमा आइतबार आचारसंहिता सार्वजनिक गरेको छ ।
करिब १५–२० दिनअघि नै नेपाली, हिन्दी र अंग्रेजी भाषामा सूचना सामग्री तयार गर्ने निर्णय गरिएको थियो । त्यसको जिम्मेवारी पर्यटन विभागले पाएको मन्त्री पौडेलले जनाए ।
पोस्टरमा नेपाल प्रवेश प्रक्रिया, सडक सुरक्षा, धार्मिकस्थलमा पालना गर्नुपर्ने आचरण, सरसफाइ, ट्रेकिङ, पर्वतारोहण, स्थानीय संस्कृति, वातावरण संरक्षण तथा आपत्कालीन सम्पर्कका विषय समेटिएका छन् ।
मन्त्रालयको आफ्नै जिल्ला संरचना नभएकाले नेपाल प्रहरी र स्थानीय प्रशासनसँग समन्वय गरेर पहिलो चरणमा भैरहवा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय धार्मिक पर्यटकलाई लक्ष्य गरी पोस्टर वितरण गरिने भएको छ । भारतीय तीर्थयात्रीको बढ्दो संख्या नेपालको पर्यटन क्षेत्रका लागि नयाँ वास्तविकता बनेको छ । प्रश्न अब उनीहरू आउनुपर्छ कि पर्दैन भन्ने नभई उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने रहेको सरकारी अधिकारीहरूले सार्वजनिक मञ्चमा भन्दै आएका छन् ।
नेपालले एकातिर पर्यटक आगमन दोब्बर पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । अर्कोतर्फ, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता गन्तव्यमा एकै दिन हजारौं तीर्थयात्री पुग्दा बस्ने ठाउँ, धर्मशाला, शौचालय, शाकाहारी भोजनालय र सूचना व्यवस्थापनजस्ता आधारभूत आवश्यकतासमेत पूरा गर्न सकेको छैन ।
भारतीय पर्यटकको आगमनलाई राज्यले पनि बेवास्ता गरेको पर्यटन बोर्डका पूर्वसीईओ तथा रास्वपाका सांसद धनञ्जय रेग्मी बताउँछन् । ‘सिमानामा प्रहरी तथा भन्सारबाटै भारतीय पर्यटकलाई मुद्रा वा अन्य विषयमा गरिने फरक व्यवहार सच्याइनुपर्छ,’ सांसद रेग्मी भन्छन्, ‘भारतीय तीर्थयात्रीको आगमनमा सहज हुने र यहाँका थप तीर्थस्थलको प्रचार गर्ने हो भने नेपालको पर्यटन बजारले थप गतिशील हुने अवसर पाउँछ । भारतीय पर्यटकले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छन् ।’
