चितवनको उत्तरी पहाडी गाउँ इच्छाकामना गाउँपालिका–२ हपनीको पाखोबारीमा तरकारी रोपेर आम्दानी गर्न थालेपछि यहाँका चेपाङ समुदायले अन्नको अभाव भोग्नुपरेको छैन ।
What you should know
चितवन — गाउँमा आम्दानीको उपाय नदेखेपछि टेकबहादुर चेपाङले मलेसिया गएर तीन वर्ष काम गरे । कमाइ राम्रो नभएपछि उनी घर फर्किए । चितवनको उत्तरी पहाडी गाउँ इच्छाकामना गाउँपालिका–२ मा पर्ने काउले हपनीका टेकबहादुरले तरकारी खेती गर्ने मन बनाए । १० वर्षअघि सुरु गरेको तरकारी खेतीबाट उनले गाउँमै बसेर राम्रो आम्दानी लिन सकिरहेका छन् ।
अहिले उनले बारीमा लगाएको काक्रो बेच्न सुरु गरेका छन् । शुत्रबार बिहान मात्रै उनले पाँच क्विन्टल काँक्रो बेचे । बारीमा दुई दिनपछि टिप्न ठिक्क हुने काक्रा लटरम्म थिए । ‘जेठको १५ बाट टिप्न सुरु गरेको हो । सुरुमा ८० किलो टिपे । दोस्रो लटमा दुई क्विन्टल पुग्यो । तेस्रो लटमा पाँच क्विन्टल बेचे । असार पहिलो साताको लटमा एक टनभन्दा बढी निस्कन्छ,’ उनले भने ।
दुई/तीन दिनको फरकमा काँक्रो टिपेर बिक्री गर्न पठाउँछन् । साउन १५/१६ सम्म काँक्रो टिप्दै बेच्दै गर्छन् । ‘त्यसपछि टमाटर लगाउने हो । काँक्रो मुख्य खेती हो । चार/पाँच वर्ष भयो बाख्रा पनि पालेको छु । यी सबैबाट वर्षमा १५ लाख रुपैयाँ जतिको कारोबार हुन्छ,’ टेकबहादुरले भने । उनले भक्तपुरे लोकल जातको काँक्रो लगाएका छन् ।
चेपाङ गाउँमा कुनै बेला यो सिजनमा के खाने भन्ने चिन्ता हुन्थ्यो । हपनीका ८१ वर्षीय डिलबहादुर प्रजा चेपाङका अनुसार फागुनमा रोपेको मकै साउन अन्तिममा पाक्न सुरु हुन्थ्यो । गाउँको पाखोबारीमा मकै र अलिअलि कोदो फल्थ्यो । मकै सकिएपछि अन्नको दुःख हुन्थ्यो । जंगल गएर गिट्ठा, तरुल खोजेर खाने चलन थियो । अचेल हपनीका चेपाङ समुदायले यस्तो संकट बेहोर्नु नपरेको डिलबहादुर सुनाउँछन् ।
इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ पनि हपनीकै हुन् । उनले पनि तरकारी खेती गरेका छन् । ‘अरुले काँक्रो लगाउँछन् । मैले टमाटर बढी लगाउँछु । अब साउनतिर टमाटर रोप्नु पर्छ,’ पञ्चबहादुरले भने ।
उनले पनि वर्षमा ५ लाख रुपैयाँ बराबरको टमाटर बेच्छन् । १०/१५ वर्ष पहिला जस्तो नगद आर्जन गर्न गाउँ छाड्नै पर्ने बाध्यता अचेल नरहेको उनी सुनाउँछन् । ‘तर अहिले त्यस्तो छैन । गाउँमा ३५ घर जतिको बसोबास छ । सबैले केही न केही खेती गरेकै छन् । कम्तीमा एक/दुई लाख कमाउनेहरु छन् । खान लाउनकै लागि बाहिर गएर पैसा कमाउनु पर्ने अवस्था हपनीमा छैन,’ टेकबहादुरले भने ।
उनी हपनी कृषक समूहका अध्यक्ष पनि हुन् । मिहेनत गरेपछि गाउँमै बसेर पनि कमाउन सकिन्छ भन्ने देखर धेरैले तरकारी लगाएको उनले बताए । हपनीमा पहिला बाटो थिएन । गाडी चल्दैन थियो । तरकारी खेती गर्दा सुरुसुरुमा चार घण्टा ४०/५० केजीको भारी बोकेर फिस्लिङ लैजाने गरेको टेकबहादुरले सुनाए । सडक खुलेपछि मिनी ट्रक आएर गाउँभरीका तरकारी बटुलेर लैजान्थ्यो । बाटो राम्रो भएपछि चार वर्षयता बारीमै बोलेरो जीप तरकारी लिन जान्छ । ‘दुई/चार दिनपछि मेरै काँक्रोले बोलेरो भरिन्छ । पहिलाको भन्दा बिस्तारै राम्रो हुँदै गएको छ,’ टेकबहादुरले भने ।
वडाध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार गाउँपालिकाले पनि तरकारी खेतीलाई प्रोत्साहित गर्दै लैजाने नीति लिएको छ । पालिकाले कृषि एम्बुलेन्सका रुपमा अनुदानमा ढुवानी गर्ने बोलेरो गाडी उपलब्ध गराएपछि स्थानीय उत्साहित भए् । पृथ्वी राजमार्गको आडमा रहेको फिस्लिङ मुख्य बजार हो ।
फिस्लिङसँगै रत्ननगर टाँडी र नारायणगढ बजारसम्म हपनीको तरकारी जान्छ । तर पनि बाटो अझै भने जस्तो भएन भन्छन् वडाध्यक्ष पञ्चबहादुर चेपाङ । शक्तिखोर फिस्लिङ सडकको ओर्ल्याङबाट दक्षिण पूर्वमा छ हपनी गाउँ । शक्तिखोर फिस्लिङ सडक प्रायः कालोपत्र भए पनि ओर्ल्याङमा बाँकी नै छ ।
ओर्ल्याङ आडमा रिग्दी खोलामा पुल पनि बनेको छैन । ओर्ल्याङबाट हपनी जाने सडक पुरै कच्ची र साँघुरो छ । बर्खायाममा बजार आउन जान सकस हुने गरेको छ । यो समस्या समाधान भए तरकारी खेती अझै बढ्न सक्ने पञ्चबहादुरले बताए ।
पञ्चबहादुर पहिला विभिन्न संघसंस्थामा सामाजिक परिचालकका रुपमा काम गर्थे । एउटा संस्थाले उनलाई तरकारी खेतीको तालिम दियो । ‘तरकारी खेती तालिम लिएपछि मैले गाउँका दाजुभाइ दिदीबहिनीलाई पनि तालिम दिनुपर्ने थियो । म आफैले खेती पनि सुरु गरेर डोकोमा फिस्लिङ पुर्याएर बेच्न सुरु गरे । त्यसपछि यो घर त्यो घर हुँदै अहिले लगभग सबै घर तरकारी खेतीमा लानुभयो,’ पञ्चबहादुरले भने । अचेल यो गाउँका किसानले काक्रो, टमाटर, सिमी, काउली, धनिया उत्पादन गर्छन् ।
करिब १२ वर्षअघि आफुले सुरु गरेको अभियानले सार्थकता पाउँदै जाँदा खुसी लागेको पञ्चबहादुरले बताए । टेबकहादुरले आफ्ना दुई भाइ छोरालाई भरतपुर राखेर पढाए । जेठो १२ कक्षा उत्तीर्ण भइसके । कान्छोले यो पटक कक्षा १२ को परीक्षा दिएका छन् । छोराहरुले पनि उनलाई सघाउँछन् ।
शक्तिखोरनजिक चार कट्ठा खेत जोडेका छन् । रत्ननगरदेखि पूर्व ज्यामिरेमा घडेरी किने । ‘मैले एक बिघामा तरकारी लगाउँछु । सबै जग्गा आफ्नै हैन । आठ नौ कट्ठा भाडामा लिएको छु । बेच्यो फेरि रोप्न लगानी यहीबाट गर्नु पर्दछ । धेरै नकमाए पनि गाउँमै बसेर केही गर्न सकिएको छ,’ उनले भने । हपनीमा फष्टाएको व्यवसायिक तरकारी खेतीले चेपाङहरुको परम्परागत परिचय बदलेको छ । 'नभए चेपाङलाई पाखामा बस्ने, खोरिया फाँडेर गरेको खेतीले ६ महिना पनि खान नपुग्दा जंगलबाट ल्याएको कन्दमुलले गुजारा चलाउने भनेर प्रचार गर्थे,' उनले भने ।
