भारतीय अवरोधले संकटमा नेपाली चिया, तत्काल कूटनीतिक पहल गर्न नेम्बाङको आग्रह

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउनसमेत उनको माग छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Nepali tea in crisis due to Indian blockade, Nembang urges immediate diplomatic initiative

What you should know

काठमाडौँ — इलामका सांसद सुहाङ नेम्बाङले भारतीय बजारमा नेपाली चियाको बिक्री-वितरणमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरिसकेका छन् ।

इलामको सूर्योदय क्षेत्रका ५३ चिया उद्योगले उत्पादित चिया बिक्री गर्न नसकेको, गोदाम भरिएको तथा किसानबाट खरिद गरिएको हरियो पत्तीको मूल्यसमेत भुक्तानी गर्न कठिन भएको भन्दै उद्योग बन्दको निर्णय गरेका हुन् । यस्तो अवस्था आउनु  अत्यन्त चिन्ताजनक रहेको नेम्बाङले बताएका छन् । 

उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया बोकेर कोलकाता पुगेका गाडीहरू हप्तौंसम्म रोकिँदा बजार नै ठप्प भएको छ । अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा थप ७ लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको छ ।

नेम्बाङका अनुसार सूर्योदय नगरपालिकामा मात्रै दुई हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउनसमेत माग गरेका छन् । साथै रोकिएका खेपको शीघ्र परीक्षण, नेपालका प्रयोगशालाको प्रमाणपत्रलाई भारतले मान्यता दिने व्यवस्था, प्रभावित उद्योगलाई सहुलियतपूर्ण चालु पुँजी तथा किसानको भुक्तानी सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।

'चियाको पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खँदैन,' सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेम्बाङले भनेका छन्, 'आजको ढिलाइले किसानको वर्षभरको श्रम, उद्योगको लगानी र हजारौँ श्रमिकको रोजगारी जोखिममा पर्छ । त्यसैले सरकारबाट तत्काल, परिणाममुखी र समयसीमासहितको हस्तक्षेप आवश्यक छ ।'

नेपाली चिया अन्तर्राष्ट्रिय गुणस्तर, खाद्य सुरक्षा तथा अवशेषसम्बन्धी मापदण्ड पूरा गरेर निर्यात हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै उनले गुणस्तर परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्ने बताए । परीक्षण बजार सुरक्षित गर्ने माध्यम हुनुपर्ने तर व्यापार अवरुद्ध गर्ने साधन बन्न नहुने उनको धारणा छ ।

'भारतीय चिया बोर्डको १९ मे २०२६ को संशोधित व्यवस्थाले प्रयोगशालाको प्रतिवेदन पाँच दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरे पनि व्यवहारमा हप्तौँसम्म प्रतिवेदन नआउने, बिक्री रोक्ने र गोदाममा चिया थन्किने अवस्था छ,' उनले भने ।

बजार अवरुद्ध हुँदा किसानको आम्दानी, परिवारको दैनिकी र भविष्य नै संकटमा पर्ने नेम्बाङको भनाइ छ ।' बजार अवरुद्ध हुँदा किसानको आम्दानी मात्र रोकिन्न उसको सम्पूर्ण जीवनचक्र नै संटकमा पर्छ,' उनले भनेका छन् ।

चिया उद्योगमा देखिएको संकटलाई इलामको स्थानीय समस्या मात्र नभई राष्ट्रिय उत्पादन, निर्यात, रोजगारी र समग्र अर्थतन्त्रसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने उनको भनाइ छ । 'उद्योग बन्द हुँदा किसानको आम्दानी घट्ने, रोजगारी गुम्ने, लगानी जोखिममा पर्ने तथा विदेशी मुद्रा आर्जनमा प्रत्यक्ष असर पर्छ,' नेम्बाङले भनेका छन् ।

कान्तिपुर

Link copied successfully