हात्ती–बाँदरबाट जोगाउन रबर खेतीतर्फ किसान

धान र मकैमा निरन्तर क्षति व्यहोर्दै आएका किसानले झापामा रबर खेतीलाई विकल्पका रूपमा रोज्न थालेका छन् ।

जेष्ठ ३०, २०८३

पर्वत पोर्तेल

Farmers turn to rubber plantations to protect themselves from elephants and monkeys

What you should know

झापा — हात्ती–बाँदरलगायत जंगली जनावरको आतंकबाट झापाका किसान आजित छन् ।  धान, मकैजस्ता परम्परागत अन्नबालीमा निरन्तर क्षति व्यहोर्दै आएका किसान पछिल्लो समय रबर खेतीतर्फ आकर्षित हुन थालेका छन् । 

बुद्धशान्ति–३ स्थित आदर्श नमुना सामुदायिक वन आसपासका किसान जंगली जनावरबाट हुने बाली क्षतिबाट जोगिन रबर खेतीलाई विकल्पका रूपमा रोज्न थालेका हुन् । स्थानीय किसान सिताराम बास्तोलाले धान–मकै छाडेर रबर खेती थालेको करिब १२ वर्ष भयो । उनले १० कठ्ठा जमिनमा रबर खेती गरेका छन् । ‘धान र मकै लगाउँदा हात्ती र बाँदरले वाली भित्र्याउँनै दिदैनथ्यो, त्यसपछि रबर खेती सुरु गरें,’ बास्तोलाले भने, ‘अहिले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ ।’

उनका अनुसार रबर खेतीमा जंगली जनावरबाट हुने क्षति अत्यन्त न्यून छ । जनावर आए पनि रबरका बोटमा क्षति नगर्ने भएकाले किसानलाई राहत मिलेको छ ।

सोही गाउँका पुण्यप्रसाद खतिवडाले पनि धान–मकै छाडेर रबर खेती थालेका छन् । उनले २०६९ सालदेखि रबर खेती सुरु गरेको बताए । ‘रबर लगाएको सात वर्षपछि उत्पादन सुरु भयो,’ खतिवडाले भने, ‘अहिले घरमै बसेर राम्रो आम्दानी भइरहेको छ ।’

उनले करिब नौ कठ्ठा जमिनमा डेढ सय रबरका बोट लगाएका छन् । रबरले वर्षमा आठ महिना उत्पादन दिन्छ । एक बोटबाट आठ महिनामा करिब १५ लिटर चोप (लेटेक्स) उत्पादन हुने उनले बताए । उनका अनुसार अढाइ लिटर चोपबाट एक किलो रबर तयार हुन्छ । ‘हिउँद लागेपछि चोप पातलो हुन्छ,’ उनले भने, ‘त्यतिबेला चार किलो चोपबाट मात्रै एक किलो रबर उत्पादन हुन्छ ।’ किसानले उत्पादित रबर प्रतिकिलो ३०० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

साना किसान प्राकृतिक रबर उत्पादक संघका अध्यक्ष चन्द्र अधिकारीका अनुसार जंगली जनावरको बढ्दो आतंकका कारण झापाका केही क्षेत्रमा परम्परागत अन्नबाली खेती संकटमा पर्दै गएको छ । यस्तो अवस्थामा रबर खेती किसानका लागि प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएको उनले बताए । ‘विशेषगरी हात्ती प्रभावित क्षेत्रमा रबर खेतीले बाली क्षतिको जोखिम घटाउनुका साथै नियमित आम्दानीको आधारसमेत निर्माण गरिरहेको छ,’ अधिकारीले भने । 

उनका अनुसार झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा गरी करिव पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा रबर खेती भइरहेको छ । झापामा मात्र सामुदायिक वनसहित करिब १ सय ३० हेक्टर क्षेत्रफलमा रबर खेती विस्तार भएको छ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, कचनकवल र बाह्रदशी, दमकलगायत पालिकामा यसको खेती हुँदै आएको छ ।

Farmers turn to rubber plantations to protect themselves from elephants and monkeys

आदर्श नमुना सामुदायिक वन (बुद्धशान्ति), कालिका सामुदायिक वन (धाइजन) र जामुनखाडी सामुदायिक वन (कनकाई) मा मात्रै १५ हेक्टरभन्दा बढी क्षेत्रफलमा रबर खेती गरिएको छ ।

अधिकारीका अनुसार जंगली जनावर प्रभावित क्षेत्रमा रबर खेती विशेष रूपमा फस्टाएको छ । ‘जंगली जनावरले क्षति गर्न नसक्ने भएकाले प्रभावित क्षेत्रहरूमा यसको खेती तीव्र रूपमा विस्तार भइरहेको छ,’ उनले भने ।
किसानले उत्पादन गरेको रबर बिर्तामोडका व्यवसायी दिलीप गोस्वामीले खरिद गर्दै आएका छन् । उनी किसानका घर–घर पुगेर रबर संकलन गर्ने भएकाले बजारको समस्या नरहेको किसान बताउँछन् । ‘कम्तीमा उत्पादन बेच्ने समस्या किसानलाई छैन,’ गोश्वामीले भने, ‘हामी घरबाटै लैजान्छौं ।’

गोस्वामीका अनुसार झापाबाट मात्रै एक सिजनमा १ हजार ५ लिटरभन्दा बढी चोप उत्पादन हुन्छ, जसबाट करिब ५ सय किलोभन्दा बढी रबर तयार हुन्छ । उनले किसानबाट खरिद गरेको रबर विभिन्न टायर उद्योगमा बिक्री गर्ने गरेका छन् । ‘अर्जुनधाराको रबर गोल्डस्टार जुत्ता उद्योगले खरिद गर्दै आएको छ,’ उनले भने, ‘हामीले संकलन गरेको रबर भने चितवन र मोरङको रंगेलीस्थित टायर उद्योगमा पठाउने गरेका छौं ।’

उनका अनुसार झापाका किसानले रबर खेतीबाट एक सिजनमै पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । खेतीको क्षेत्र विस्तार गर्न सके आम्दानी अझ बढ्न सक्ने उनको दाबी छ । ‘रबर खेतीको सम्भावना धेरै छ,’ उनले भने, ‘मेहनतका साथ गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिन्छ ।’

किसानका अनुसार बलौटे माटो रबर खेतीका लागि उपयुक्त हुन्छ । तर, पर्याप्त सिँचाइ र नियमित हेरचाह आवश्यक पर्छ । जमिनलाई चिस्यानयुक्त राख्न सके उत्पादन राम्रो हुने उनीहरूको अनुभव छ । ‘रबरले राम्रो आम्दानी दिन्छ, तर मेहनत पनि त्यत्तिकै चाहिन्छ,’ अध्यक्ष अधिकारीले भने, ‘अल्छी गरेर हुँदैन, उत्पादन बढाउन निरन्तर हेरचाह आवश्यक पर्छ ।’

रबर खेतीमा आवद्ध किसानहरू आबद्ध ‘रबर जोन’ नामक संस्था पनि झापामा सक्रिय छ । संस्थाले रबर खेती प्रवर्द्धनका लागि काम गर्दै आएको छ । संस्थाका अध्यक्ष ईश्वरी पोखरेलका अनुसार रबर खेतीप्रति किसानको आकर्षण बढ्दो छ, तर सरकारी सहयोग भने खासै छैन । ‘पर्याप्त रबर उत्पादन गरेर बन्द भएको गोरखकाली टायर उद्योगजस्ता उद्योग पुनः सञ्चालन गर्ने हाम्रो लक्ष्य छ,’ पोखरेलले भने, ‘तर त्यसका लागि राज्यको सहयोग अपरिहार्य छ । राज्यले प्रोत्साहन मात्रै गरिदिए पुग्छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully