नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् निर्यात गर्ने सरकारको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं साधारण सभामा श्रेष्ठले अहिलेको कुल जडित क्षमतामा निजी क्षेत्रको ठूलो योगदान रहेको समेत बताए । ‘उत्पादनमा निजी क्षेत्रले पुराएको योगदान एकदमै सराहनीय छ,' उनले भने, 'करिब ४५ सय मेगावाट जडित क्षमता हुँदा प्राधिकरणको करिब ६ सय मेगावाट मात्र छ ।' निजी क्षेत्रलाई आगामी दिनमा व्यापार र प्रसारण लाइन निर्माण प्रवेश गराउनुपर्नेमा उनको जोड थियो ।
१५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने पनि उनलेे जनाए ।
ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको भन्दै वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर हौसला बढाउनुपर्ने श्रेष्ठको भनाइ थियो । प्रसारणलाइन निर्माण अहिले पनि चुनौतिपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गरेर प्रसारणलाइन बनाउनुपर्ने बताए ।
