दालचिनीले चम्काएको खुर्साने गाउँ

बसाइँसराइ रोकियो, दुई सयभन्दा बढी घरपरिवारमा दालचिनी मुख्य आम्दानीको स्रोत।

जेष्ठ २९, २०८३

माधव अर्याल

A village of chilies sprinkled with cinnamon

What you should know

पाल्पा — रैनादेवीछहरा गाउँपालिका–८, सत्यवतीको खुर्साने दालचिनी गाउँका रूपमा परिचित बनेको छ । यहाँका दुई सयभन्दा बढी परिवार दालचिनीको व्यावसायिक खेती गर्छन् । दालचिनी खेतीले आर्थिक, सामाजिक रूपमा गाउँ चम्किएको स्थानीय खुम बस्नेत बताउँछन् । १५ वर्षयता व्यावसायिक रूपमा यहाँका स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन् । यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो । दालचिनीको बोक्रा र पात बिक्री हुन्छ । 

अहिले पूरै गाउँ तेजपातकै कारण समृद्ध बन्न सफल भएको बस्नेतले जनाए । यसलाई दालचिनीबाहेक कतिपयले सुनकाउली, तेजपात भन्छन् । पात र त्यसैको रुखको बोक्रा बिक्री गरेर राम्रै घरखर्च चल्छ । व्यावसायिक खेती गरेर स्थानीयले वर्षमा ५ लाखसम्म कमाइ गर्छन् । ‘दालचिनीको उत्पादन राम्रो छ,’ उनले भने, ‘अहिलेसम्म निकासी गर्नेहरूले एसियाकै सबैभन्दा राम्रो दालचिनी मानिन्छ ।’ 

कतिपयले बेल्वास, सालझन्डीसम्म लगेर बिक्री गर्छन् । स्थानीय, प्रदेश र संघ सरकारले नर्सरी र कृषि जोन बनाउने हो भने अझ फाइदा पुग्ने बस्नेतको भनाइ छ । खुर्सानेका बासिन्दाको जीवनस्तर सुधार्न तेजपात र दालचिनी सहयात्री बनेको स्थानीय दानबहादुर रेश्मीले सुनाए । सरकारी तवरबाट खासै सहयोग नपाएको उनले बताए । ‘धान, मकै, कोदो लगाउने खेतबारीमा समेत दालचिनी लगाएका छौं,’ उनले भने, ‘सजिलो मात्र नभई वन्यजन्तुबाट जोगाउन पनि सजिलो भएको छ ।’

A village of chilies sprinkled with cinnamon

वैदेशिक रोजगारमा जान चाहनेहरूले तेजपात खेती गरेर राम्रो गरेका छन् । गाउँका युवाहरू अहिले तेजपातलाई व्यावसायिक बनाउने योजना अघि सारेका छन् । ‘कतिपय विदेश नगएका पनि होइनन्,’ रेश्मीले भने, ‘आम्दानी राम्रो हुने भएपछि किन खाडी मुलुक जानुपर्‍यो ? भन्ने युवाहरू पनि छन् ।’ तेजपात र यसको बोक्रा अर्थात् दालचिनीले गाउँलाई उन्नतितर्फ लगेको उनले बताए । १५/२० वर्षअघिको गाउँको अवस्था र अहिले ठूलै परिवर्तन आएको उनको भनाइ छ । 

उहिले बोकाएर सालझन्डी, बुटवल लैजानुपर्ने हुन्थ्यो । किनभने परम्परागत रूपमै यसको खेती गरिन्थ्यो । व्यावसायिक भने पछिल्लो वर्षमा भएको हो । ‘छुटपुर्जी नपाउने, एकै पटक जानुपर्नेलगायत धेरै समस्या हुन्थ्यो,’ स्थानीय किसान दानकुमारी घिमिरेले भनिन्, ‘बिक्रीका लागि पनि पहिलेभन्दा अहिले धेरै सहज भएको छ ।’ 

परम्परादेखि नै हुने यहाँका खर्‍यान, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बोट प्रशस्त छन् । सुरुमा आफैं उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै किसानले बाँकी खाली जग्गामा पनि बिरुवा लगाएका हुन् । दालचिनी बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफूअनुकूल काट्ने गरिएको घिमिरेले बताइन् ।

A village of chilies sprinkled with cinnamon

आफैं उम्रिएका बिरुवालाई डढेलो र बाख्राबाट जोगाउन सके अरू धेरै दुःख गर्न नपर्ने भएपछि किसानको प्रमुख आकर्षण दालचिनी खेती बनेको हो । दालचिनी बिक्रीका लागि कुनै समस्या हुँदैन । स्थानीय व्यापारी बोक्रा र पात खरिद गर्न घरघरसम्म आइपुग्छन् । पछिल्लो समयमा दालचिनीको पातबाट किसानले ६० रुपैयाँ र बोक्राबाट १ सय १५ रुपैयाँ गाउँमै पाउँछन् । गोदाम रहेको स्थानसम्म लग्ने हो भने १०/१५ रुपैयाँ बढी मूल्य पाउँछन् । त्यहाँ तोकिएको मूल्यअनुसार तौलेर ल्याएको दालचिनी ठूला सप्लायर्सले गोदाममार्फत निकासी गर्दै आएका छन् । 

खुर्साने गाउँ सालझन्डी ढोरपाटन सडक मार्गसँग जोडिएको छ । महेन्द्र राजमार्गको रूपन्देही सालझन्डीबाट १८ किलोमिटरमा खुर्साने पुगिन्छ । सालझन्डी–ढोरपाटन सडकका कारण खुर्साने पुग्नसमेत सहज बनेको छ । खुर्सानेको दालचिनीको पात र बोक्रा भैरहवा हुँदै भारत पुग्ने गरेको छ । संकलन गरेको दालचिनी बेल्वासमा गोदाम गरिने सालझन्डी झिमझिमेका व्यापारी लेखनाथ घिमिरे बताउँछन् । त्यसपछि गाउँपालिकालाई कर तिरेर मात्र निकासी हुन्छ । दालचिनीको बोक्राबाट गाउँपालिकाले प्रतिकिलो एक रुपैयाँ ५० पैसा र पातबाट ५० पैसा निकासी शुल्क लिने गरेको घिमिरेले जनाए । तर गाउँपालिकाले लिएको करबाट स्थानीय किसानका लागि एक रुपैयाँ पनि खर्च नगरेको आरोप छ ।

A village of chilies sprinkled with cinnamon

दालचिनीका लागि कालो र खुला माटो भएको ठाउँ उपयुक्त हुन्छ । खुर्सानेका ९८ प्रतिशत किसानको घरमा दालचिनीका बोट छन् । यहाँको माटो र हावापानी उपयुक्त छ । प्रत्येक वर्ष आफैं थुप्रै बिरुवा उत्पादन हुन्छ, यसलाई केवल संरक्षण गरे मात्रै हुन्छ । भीरपाखा, कान्ला जहाँ भए पनि उम्रिन्छ र हुर्किन्छ । खुर्साने गाउँका किसानको वार्षिक २ करोडभन्दा बढी भारु हातमा पर्ने बताइन्छ । 

खुर्सानेबाट मात्रै वार्षिक करिब डेढ करोडको दालचिनीको पात र बोक्रा भारत निकासी हुन्छ । खर्चको जोहो गर्न दालचिनीको पात बोरामा भरेर बजार जाने स्थानीयलाई बानी परेको छ । गाउँमा मोटरबाटो खुलेपछि हिउँदमा गाउँमै संकलन केन्द्र रहन्छ । तर १४ किलोमिटरको दूरीमा किलोमै १०/१५ रुपैयाँ बढी पाउने उनीहरूले जनाए । 

‘तेजपात र दालचिनी बिक्री गर्न थालेपछि गाउँमा आर्थिक समृद्धि भएको छ,’ स्थानीय हुमानसिं बस्नेतले भने, ‘बालबच्चा पढाउने, घरखर्च चलाउने र जग्गाजमिन पनि जोडेका थुप्रै उदाहरण छन् । एक गाउँको सिको गर्दै वरपरका गाउँमा समेत यसको खेती सुरु गरिएको उनले बताए । बारीका कान्ला, खोल्सीलाई सदुपयोग गर्दै तेजपात लगाएको उनको भनाइ छ ।

A village of chilies sprinkled with cinnamon

यो गाउँमा धेरै गर्मी नहुने र बस्नका लागि उपयुक्त ठानेर अर्घाखाँची, रूपन्देहीका विभिन्न स्थानबाट बसोबासका साथै घरघडेरी, जग्गा नै खरिद गर्न आउँछन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–४, निगाली देउरालीका बालकृष्ण विकले पाखोबारी खरिद गरेका छन् । खरिद गरेको जग्गामा दालचिनी पहिले नै थियो । तर अहिले उनले थप बिरुवासमेत लगाएका छन् । ‘तराईतिर जग्गा किन्नुभन्दा खुर्सानेमा फाइदा देखें,’ रोजगारीका लागि भारत बस्ने उनले भने, ‘जहान परिवारले सिजनमा दालचिनीको बोक्रा, पात बिक्री गरेर पनि राम्रै आम्दानी गर्ने देखेर खरिद गरेको हुँ ।’

स्थानीयका अनुसार पछिल्लो तीन वर्षयता गाउँमा घरघडेरी खरिद गर्नेको संख्या २४ पुगेको छ । यहाँबाट बाहिरिनेको संख्या अत्यन्तै न्यून छ । स्थानीय बसाइँ सरेर जाने तीन जना छन् । पछिल्लो समय जतासुकै बसाइँसराइको समस्या बढेका बेला खुर्साने गाउँमा भने रोकिएको छ । गाउँबाट बाहिर जानेभन्दा यहाँ आउनेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा ४ घर बाहिरिएको छ भने २३ घरपरिवारले खुर्सानेमा जग्गा खरिद गरेर दालचिनी खेती गर्ने र बसाइँ नै आएका छन् ।

A village of chilies sprinkled with cinnamon

न्यून आय भएका र छिमेकी गाउँकाले समेत रोजगार पाएका छन् । दालचिनी खेतीकै कारण स्वरोजगार बन्न सफल भएका छन् । कतिपयले छिमेकीलाई दैनिक ५ सय ज्याला दिएर तेजपातको पात निकाल्ने, बोक्रा छुट्याउने काम गराउँछन् । ‘काम गरेबापत पैसा पाइन्छ, आफ्नो घरको आम्दानी थोरै भए पनि अर्काको काम गरेर पैसा पाइन्छ,’ स्थानीय गंगादेवी पाण्डेयले भनिन् । अन्न लगाउने ठूला बारीका पाटामा समेत अहिले दालचिनी हुर्केको उनको भनाइ छ । 

बजारको अनिश्चितता किसानका लागि ठूलो समस्या बनेको छ । यसको मुख्य बजार भनेको भारत नै हो । भारतीय बजारमा निर्भर रहँदाको समस्याले गाउँलेहरूमा थप उत्साह पैदा गर्न सकेको छैन । ‘बजार भाउको निश्चित हुँदैन,’ स्थानीय तिला केसीले भनिन्, ‘सरकारले बजार भाउ सुनिश्चित गर्नुपर्छ, साथै प्राविधिक ज्ञान पनि दिनुपर्छ ।’ दालचिनीको बिरुवा लगाएको पाँच वर्षपछि उत्पादन दिन्छ । वन पैदावार जडीबुटी र मसलायुक्त उत्पादनलाई सरकारले ध्यान दिन सकेको छैन । वन कार्यालयबाट मात्रै ७५ हजार तेजपातको बिरुवा वार्षिक बिक्री हुन्छ । 

गरिबी निवारणमा मुख्य आयआर्जन तेजपात बन्न सक्ने भएकाले यसलाई व्यावसायिक बनाउन लागिपरेका छन् । गत आर्थिक वर्षमा ८ लाख ८१ हजार ७ सय २१ किलोग्राम तेजपात भारतमा निर्यात भएको छ । यस्तै १ लाख २१ हजार १० केजी बोक्रा निकासी भएको छ । २०८०/८१ मा ७ लाख ६ हजार ७ सय ९० किलोग्राम तेजपात र एक लाख ७६ हजार ६ सय ९७ किलोग्राम तेजपातको बोक्रा भारतमा निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully