इप्पानको साधारणसभा शुक्रबार, निर्वाचन रोक्न गलत प्रचार भएको आरोप 

निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला संस्थाविरुद्ध गलत सूचना र भ्रामक प्रचार गरिएको भन्दै इप्पानले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जेष्ठ २८, २०८३

सीमा तामाङ

Ippan's general meeting on Friday, allegations of false propaganda to stop elections

What you should know

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार हुने २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला संस्थाविरुद्ध गलत सूचना र भ्रामक प्रचार गरिएको भन्दै इप्पानले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

२०५७ सालमा स्थापना भएको इप्पानमा हाल ६८३ सदस्य आबद्ध छन्। विधान–२०७८ अनुसार निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको, उम्मेदवारी दर्ता तथा अन्तिम नामावली प्रकाशन सम्पन्न भएको र भोलि बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

इप्पानका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत एक उपमहासचिव र पाँच सचिवसहित ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेकाले मतदान हुने निश्चित भएको छ। उम्मेदवारहरूको अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको अवस्थामा निर्वाचन अवैधानिक रहेको भन्दै गरिएको प्रचार तथ्यहीन रहेको संस्थाको दाबी छ।

संस्थाले महासंघमा जान नसक्नुको कारण तथा विधान संशोधनसम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय यसअघि नै कार्यसमितिबाट सर्वसम्मत रूपमा भएको जनाएको छ। ती निर्णयमा सहभागी भई हस्ताक्षर गरेका केही व्यक्तिहरूबाटै अहिले ‘इप्पानले अवैधानिक निर्वाचन गर्न लागेको’ तथा ‘महासंघको साधारणसभाको निर्णय कार्यसमितिले खारेज गरेको’ भन्ने आरोप लगाइएको भन्दै संस्थाले आपत्ति जनाएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी विज्ञप्तिअनुसार महासंघ गठनसम्बन्धी कानुनी जटिलता र प्रशासनिक प्रक्रियाका कारण तत्काल महासंघमा जान नसकिने निष्कर्षपछि विद्यमान विधानअनुसार वार्षिक साधारणसभा र अधिवेशन गर्ने निर्णय गरिएको थियो। उक्त निर्णयसहित विधान संशोधन प्रस्ताव पनि भोलिको साधारणसभामा छलफलका लागि लैजाने तयारी गरिएको छ।

प्रस्तावित संशोधनअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइनेछ भने अध्यक्ष पदमा उम्मेदवारी दिन कम्तीमा एक कार्यकाल कार्यसमितिमा काम गरेको हुनुपर्ने व्यवस्था गरिनेछ। साथै २७ सदस्यीय नयाँ कार्यसमिति संरचना प्रस्ताव गरिएको छ।

इप्पानले साधारणसभा, अधिवेशन, निर्वाचन तथा विधान संशोधनसम्बन्धी सम्पूर्ण निर्णय सर्वसम्मत रूपमा भएको र कुनै सदस्यले फरक मत नजनाएको दाबी गरेको छ। निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा संस्थाको छवि धुमिल बनाउने उद्देश्यले गलत सूचना फैलाइएको भन्दै इप्पानले सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ।

संस्थाले महासंघसम्बन्धी प्रस्ताव, विधान संशोधन तथा निर्वाचन प्रक्रियामा सहभागी हुन सबै सदस्यलाई भोलिको साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully