कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने ननसेन्स कुरा हो । त्यसको प्रमाण प्रस्तुत गरियोस् । दसौं करोड घाटा हुने गरी कसैले हतारहतार गाडी पास गर्यो भने त्यसको प्रमाण लिएर आउनुस् : अर्थमन्त्री वाग्ले
काठमाडौँ — विपक्षीहरूले करका दरमा चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न चुनौती दिएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पुर्याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन् ।
‘कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने ननसेन्स कुरा हो । त्यसको प्रमाण प्रस्तुत गरियोस् । दसौं करोड घाटा हुने गरी कसैले हतारहतार गाडी पास गर्यो भने त्यसको प्रमाण लिएर आउनुस् । कुनै कागजी प्रमाण होला, कुनै सञ्चार वा पत्राचारका विवरण होलान्, ती सबै लिएर आउनुस् । म त कठघरामा उभिन तयार छु । अर्ब–खर्बको कुरा जथाभाबी गरिएको छ । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँबराबरको पनि कुनै बदमासी गरेको छ भने, म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । यो मेरो चुनौती हो,’ उनले भने ।
सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ ।
बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उनले बताए ।
