सेप्टेम्बर २३ देखि सेवा सुरू हुने, बुकिङ खुल्यो
What you should know
पोखरा —
दुबईमा आधारित वायुसेवा कम्पनी फ्लाई दुबईले नेपालको पर्यटकीय राजधानी पोखरामा आगामी २३ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी दैनिक सिधा उडान सुरू गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वेबसाइटमार्फत बिहीबारदेखि बुकिङ खुला गरेको हो ।
योसँगै फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान प्रस्ताव गर्ने संयुक्त अरब इमिरेट्स (यूएई)को पहिलो वायुसेवा कम्पनी बनेको छ । काठमाडौंपछिको यो नयाँ गन्तव्य विस्तारले नेपालमा फ्लाई दुबईको उपस्थितिलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ । कम्पनीले १७ वर्षदेखि काठमाडौंमा सफलतापूर्वक उडान सञ्चालन गर्दै आइरहेको छ ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट सञ्चालन हुने यो दैनिक उडान इमिरेट्स एयरलाइन्ससँगको कोडसेयर साझेदारीअन्तर्गत हुनेछ । कोडसेयर साझेदारीका कारण यात्रुहरूले सहज यात्रा तालिका, एउटै टिकट, लगेजको सिधा ट्रान्सफर र दुवै एयरलाइन्सको बृहत् अन्तर्राष्ट्रिय सञ्जालमा पहुँचको फाइदा लिन सक्नेछन् ।
सन् २००९ देखि नेपालमा सेवा सुरू गरेको फ्लाई दुबईले हालसम्म करिब ४० लाख यात्रुलाई सेवा दिइसकेको र पिक सिजनमा काठमाडौंमा दैनिक ५ उडानसम्म गर्दै आएको जनाएको छ ।
फ्लाई दुबईका प्रमुख कार्यकारी अधिकृत गइथ अल गइथका अनुसार सन् २००९ मा काठमाडौं उडान सुरू गरेदेखि नै नेपाल फ्लाई दुबईका लागि अपवादका रूपमा अत्यन्तै महत्त्वपूर्ण बजार रहेको छ । उनले भने, 'पोखरामा सिधा उडान सुरू गर्नुले यूएई र नेपालबीचको व्यापार तथा पर्यटनको स्वतन्त्र प्रवाहलाई सहयोग गर्ने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ । नेपालको दोस्रो ठूलो सहर र बजारको अर्को प्रवेशद्वारसँग सिधा सम्पर्क स्थापित गरी व्यापारिक तथा पर्यटकीय यात्रु दुवैका लागि पहुँचका नयाँ मार्गहरू खोल्न पाउँदा हामीलाई गर्व लागेको छ ।'
फ्लाई दुबईका कमर्सियल अपरेसनका डिभिजनल सिनियर भाइस प्रेसिडेन्ट सुधीर श्रीधरनले पोखरा उडानमार्फत नेपालमा आफ्नो सेवा क्षेत्र विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे । यस मार्गले यूएई र बृहत्तर फ्लाई दुबई नेटवर्कका साथै खाडी मुलुक, मध्यपूर्व, युरोप र सोभन्दा टाढाका यात्रुहरूका लागि सुविधाजनक र भरपर्दो कनेक्टिभिटी प्रदान गर्ने उनको भनाइ छ । यस उडानमा यात्रुहरूले बिजनेस क्लास तथा इकोनोमी क्लास दुवैमा उच्च गुणस्तरीय सेवाको अनुभव लिन सक्नेछन् ।
नयाँ दैनिक सेवाले काठमाडौंको उडानलाई परिपूर्ति गर्दै पश्चिमी नेपाललाई ठूलो फाइदा पुऱ्याउने र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई यस क्षेत्रको विशाल पर्या-पर्यटन, ट्रेकिङ र आर्थिक अवसरहरूमा सिधा पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।
