बजेट संविधानविपरीत छैन, समतालाई केन्द्रमा राखेर अघि बढेका छौँ : अर्थमन्त्री वाग्ले

विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको अर्थमन्त्री वाग्लेले बताए ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Budget is not against the Constitution, we have moved forward with equality at the center: Finance Minister Wagle

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी गरेका हुन् । विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भन्ने आरोपलाई उनले खण्डन गरे । 

'मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एकठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो, त्यसप्रति अत्यत्तै बफदार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ,' उनले भने । 

३०/४० वर्षको राजनीति अलि वामप्रेरित नै रहेको पनि अर्थमन्त्री वाग्लेको भनाइ छ । 'संविधानको खिलापमा भयो भन्ने कुरा बिलकुल गलत छ, समतालाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ । ग्रोथको कुरा गर्दैगर्दा पनि ग्रोथ विथ इक्विटीको कुरा हामीले गरेका छौँ । समन्यायिक समुन्नति, समृद्धिका कुरा गरेका छौँ । त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपरेपनि समताको एजेन्डालाई हामीले अगाडी सारेका छौँ,' उनले भने । 

विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको अर्थमन्त्री वाग्लेले बताए । 

कान्तिपुर

Link copied successfully