सम्बोधनका क्रममा उपाध्यक्ष पाण्डेले नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको विषयलाई मुख्य चिन्ताको रूपमा प्रस्तुत गरे ।
What you should know
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिएका छन्।
स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औं सत्रलाई नेपालको रोजगारदाता परिषदको तर्फबाट आज सम्बोधन गर्दैै उपाध्यक्ष पाण्डेले उक्त विचार राखेका हुन्। विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्वहरू तथा सामाजिक साझेदारहरू माझ आफ्नो मन्तव्य राख्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गरे।
सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए तापनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौतीहरू कायमै रहेको तर्फ उनँले विश्व समुदायको ध्यानाकर्षण गराए । सम्बोधनका क्रममा उपाध्यक्ष पाण्डेले नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको विषयलाई मुख्य चिन्ताको रूपमा प्रस्तुत गरे । उनले लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्दै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवाहरूमा युवाहरूको संलग्नता तीव्र रूपमा बढिरहेको बताए। यसले उद्यमशीलताका नयाँ अवसरहरू ल्याए तापनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयहरूमा नयाँ बहस सिर्जना गरेको उनको भनाइ थियो ।
नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्था अनुरूप श्रम सुधार एवं कानुनी व्यवस्थाहरू लागू गर्न आवश्यक लचकता दिनुपर्नेमा उनले प्रष्ट पारे । उपाध्यक्ष पाण्डेले नेपाली रोजगारदाताहरूका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकताहरू र कार्यान्वयन भइरहेका प्रयासहरूको विवरण समेत प्रस्तुत गरे । राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपश्चात् रोजगारदाताहरूमा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन र व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्व रहेको चेतना बढेको उनले बताए। यस अन्तर्गत चिया र अलैंची जस्ता क्षेत्रहरूमा विशेष निर्देशिकाहरू निर्माण गरी प्रारम्भिक कार्यहरू सुरु भइसकेको जानकारी उनले दिए।
यसका साथै, महासंघले छनोट गरिएका उद्योगहरूमा ‘केयर मोडल’ को पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरु गरिसकेको भन्दै यसले विशेषगरी महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
बाढी, पहिरो र मौसम परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्य सम्बन्धी विश्वव्यापी छलफलहरूमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपाल जस्ता मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण (रेमिट्यान्स), आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न र आपसी संवाद सुदृढ बनाउन रोजगारदाताहरूको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।
उपाध्यक्ष पाण्डेले उद्यमहरूको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गरे।
