विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न : कँडेल

उहाँ स्वयं पनि विगतमा राज्यका महत्त्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको व्यक्ति हुनुहुन्छ : कँडेल

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

Finance Minister should not be allowed to escape by pointing out the weaknesses of past governments: Kandel

What you should know

काठमाडौँ — एमाले सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।  सुशासन र सुधारको एजेन्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्‍याउन नहुने बताए । 

'माननीय अर्थमन्त्रीज्युले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ । भ्रष्टाचारको विषय उहाँको अभिव्यक्तिमा निरन्तर रूपमा आइरहेको देखिन्छ । तर उहाँ स्वयं पनि विगतमा राज्यका महत्त्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको व्यक्ति हुनुहुन्छ, लामो समय विभिन्न नीतिगत प्रक्रियामा सहभागी हुनुभएको छ र बजेट निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएको छ । त्यसैले विगतका सबै कमजोरीबाट आफू पूर्णतः अलग रहेको सन्देश दिन खोज्नु उपयुक्त नहुन सक्छ,' उनले भने ।  

नयाँ सरकार सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको हो भने उसले विगतका कमजोरी दोहोर्‍याउन नहुने पनि कँडेलले बताए । 'अघिल्लाहरूले गल्ती गरेका थिए भने पनि त्यसलाई आधार बनाएर अहिले गल्ती गर्ने छुट कसैलाई हुँदैन । यसपटक देखिएको त्रुटि किन भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ । अर्थमन्त्रीज्युको नियत खराब छ भन्ने आधार हामीसँग छैन । उहाँको नियत सफा नै होला । तर विगतका सबै व्यक्ति भ्रष्ट थिए र सबै समस्या भ्रष्टाचारकै कारणले भएका हुन् भन्ने निष्कर्ष पनि सही होइन । हिजो त्यो तर्क गलत थियो भने आज पनि गलत नै हुन्छ ,'  उनले भने । 

समितिको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा प्राविधिक त्रुटि देखिएकाले सच्चाउनुपरेको र यसलाई विपक्षीले ठूलो इस्यु बनाएको भन्दै आक्रोश पोखेका थिए । बैठकमा कडेँलले मूल्य अभिवृद्धि कर प्रणालीबारे पनि प्रश्न उठाए । नेपालको कर प्रशासनले विगतदेखि बहु–दर भ्याट प्रणालीलाई अस्वीकार गर्दै आएको स्मरण गराउँदै उनले अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न गरे ।

कान्तिपुर

Link copied successfully