इन्टरमोडल यातायात विकास समिति, वीरगन्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार स्थापनाकालदेखि हालसम्म कुनै पनि महिनामा यति धेरै संख्यामा कन्टेनरवाहक रेल्वे र्याक भित्रिएको थिएन ।
What you should know
पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको वैशाख महिनामा हालसम्मकै सर्वाधिक कन्टेनरवाहक रेल्वे र्याक भित्रिएका छन् । तेस्रो मुलुकबाट भारतका विभिन्न समुद्री बन्दरगाह हुँदै एक महिनामै ९२ वटा कन्टेनरवाहक रेल्वे र्याक भित्रिएसँगै बन्दरगाहले नयाँ रेकर्ड कायम गरेको छ।
इन्टरमोडल यातायात विकास समिति, वीरगन्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार स्थापनाकालदेखि हालसम्म कुनै पनि महिनामा यति धेरै संख्यामा कन्टेनरवाहक रेल्वे र्याक भित्रिएको थिएन । उनका अनुसार बैशाख महिनाको तथ्यांकले तेस्रो मुलुकबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको संकेत गरेको छ।
'बन्दरगाह सञ्चालनमा आएदेखि एकै महिनामा ९२ वटा कन्टेनरवाहक रेल्वे र्याक भित्रिएको पहिलो पटक हो,' ज्ञवालीले भने, 'यसले आयात व्यापार विस्तार हुनुका साथै रेलमार्गप्रतिको व्यवसायीको आकर्षण पनि बढ्दै गएको देखाउँछ ।' समितिको तथ्यांकअनुसार वैशाख महिनामा ९२ वटा कन्टेनरवाहक रेल्वे र्याकसँगै दुई वटा फलामजन्य सामग्री बोकेका बिआरएन र्याक, ६ वटा बोराबन्द कार्गो ढुवानी गर्ने बिसिएन र्याक तथा १४ वटा कोइला र जिप्सम ढुवानी गर्ने बक्स एन र्याक बन्दरगाहमा भित्रिएका छन्।
यसअघिको चैत महिनामा ८३ वटा कन्टेनरवाहक, पाँच वटा बिआरएन, १४ वटा बिसिएन र २१ वटा बक्स एन रेल्वे र्याक बन्दरगाहमा आएका थिए । चैतको तुलनामा वैशाखमा कन्टेनरवाहक र्याकको संख्या थप नौले वृद्धि भएको देखिन्छ ।
हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आयातकर्ताले सम्भावित कर तथा अन्तःशुल्क वृद्धिको आकलन गर्दै मालसामान भित्र्याउने प्रवृत्ति रहने गरेको छ । यही कारणले पनि वैशाख महिनामा आयातको चाप बढेको हुन सक्ने अनुमान गरिएको छ । नेपालमा तेस्रो मुलुकबाट आयात हुने अधिकांश मालवस्तु भारतका कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाह हुँदै सिर्सिया सुक्खा बन्दरगाहसम्म रेलमार्गबाट आइपुग्ने गर्छन् । विशेषगरी मदिरा, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, तयारी पोशाक, औद्योगिक कच्चा पदार्थ तथा विभिन्न उपभोग्य वस्तु यही मार्गबाट आयात हुने गरेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम सडक मार्गको तुलनामा रेलमार्गबाट ढुवानी गर्दा लागत कम लाग्ने, समयको बचत हुने तथा मालसामानको सुरक्षा पनि तुलनात्मक रूपमा बढी हुने भएकाले पछिल्ला वर्षहरूमा रेलमार्गप्रतिको आकर्षण निरन्तर बढ्दो रहेको बताउँछन् । विशेषगरी ठूलो परिमाणमा आयात गर्ने उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूले रेल ढुवानीलाई प्राथमिकता दिन थालेका छन् ।
सिर्सिया सुक्खा बन्दरगाह नेपालकै प्रमुख आन्तरिक कन्टेनर टर्मिनलका रूपमा परिचित छ । मुलुकको कुल तेस्रो मुलुक व्यापारको ठूलो हिस्सा यही बन्दरगाहमार्फत हुने गरेको छ । पछिल्ला महिनाहरूमा कन्टेनर आगमनमा देखिएको वृद्धि मुलुकको आयात व्यापार विस्तार तथा आर्थिक गतिविधि क्रमशः चलायमान बन्दै गएको संकेतका रूपमा पनि हेरिएको छ ।
