रेमिट्यान्स आप्रवाह ४१ प्रतिशतले बढ्यो, १० महिनामा सवा १९ खर्ब भित्रियो

गएको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ ।

जेष्ठ २६, २०८३

यज्ञ बञ्जाडे

Remittance inflow increased by 41 percent, reaching 1.91 trillion in 10 months

काठमाडौँ — चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा रेमिट्यान्समार्फत १९ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको छ । गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । २०८२ वैशाखसम्म रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।

यस्तै, २०८३ वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको वैशाख महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।

वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

गएको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully