थिमिमा जेडब्लू म्यारियट, ९ अर्ब लगानी हुने

सोमबार एमएस ग्रुपअन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले विश्वव्यापी होटल समूह म्यारियट इन्टरनेसनलसँग सम्झौता गरेको हो ।

जेष्ठ २६, २०८३

सुरज कुँवर

JW Marriott to invest Rs 9 billion in Thimi

काठमाडौँ — जेडब्लू म्यारियट ब्रान्डको लक्जरी होटल भक्तपुरको थिमिमा सञ्चालनमा आउने भएको छ ।

सोमबार एमएस ग्रुपअन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले विश्वव्यापी होटल समूह म्यारियट इन्टरनेसनलसँग सम्झौता गरेको हो ।

सन् २०३१ को सुरुआतमा ‘जेडब्लू म्यारियट होटल काठमाडौं’ सञ्चालनमा ल्याउने क्यापिटल होटल एन्ड हस्पिटालिटीका प्रमुख शशीकान्त अग्रवालले बताए । उनका अनुसार ९ अर्ब लगानीमा निर्माण हुने होटलको आगामी दसैं आसपासमा शिलान्यास हुनेछ । होटलमा २ सय २१ कोठा हुनेछन् । होटलमा मल्टीपल डाइनिङ आउटलेट, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, जेडब्लू गार्डेन तथा १ हजार ६ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको सभा तथा कार्यक्रमस्थल रहनेछ ।

होटलको विस्तृत डिजाइन भने अझै बाँकी छ । हाल नक्सालमा सञ्चालनमा रहेको ५ तारे होटल ‘काठमाडौं म्यारियट’को तुलनामा यो धेरै लक्जरी हुने अग्रवालले बताए । क्यापिटल होटल र म्यारियटबीचको यो चौथो सहकार्य हो । यसअघि एमएस समूहअन्तर्गत ठमेलमा म्यारियट फेयरफिल्ड, कमलादीमा मोक्सी र नक्सालमा म्यारियट ब्रान्ड तीनवटा होटलमा अनुबन्धित छन् ।

सोमबार क्यापिटल होटलका तर्फबाट व्यवसायी शशीकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलका तर्फबाट अध्यक्ष डेभिड म्यारियटबीच सम्झौतापत्र आदानप्रदान भएको हो । क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका सञ्चालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एसिया प्यासिफिक (चीनबाहेक) का अध्यक्ष राज मेननले जेडब्लू म्यारियटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सञ्चालक अग्रवालले नेपालमा अन्तर्राष्ट्रियस्तरको लक्जरी आतिथ्य सेवा विस्तार गर्न म्यारियटसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully