हस्तान्तरण गरिएको फ्युजलाज विमानस्थलमा हुनसक्ने आपत्कालीन अवस्था, थ्रेट तथा दुर्घटना व्यवस्थापनको पूर्वतयारी अभ्यासका लागि उपयोग गरिने ।
काठमाडौं — बुद्ध एयरले उडान सेवाबाट अवकाशप्राप्त एटीआर-७२ विमानको फ्युजलाज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपत्कालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमताको अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले उक्त फ्युजलाज हस्तान्तरण गरिएको बुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्याङ्गरमा मंगलबार आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई उक्त फ्युजलाज हस्तान्तरण गरेका हुन् ।
उक्त विमानले करिब ७० हजार साइकल उडान पूरा गरेपछि केही महिनाअघि नै बुद्ध एयरले यसलाई सेवाबाट अवकाश दिएको थियो ।
जहाज हस्तान्तरण कार्यक्रममा कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय हितका विविध जिम्मेवारीमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै यस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउनु बुद्ध एयरका लागि गर्वको विषय भएको बताए ।
उनले हस्तान्तरण गरिएको फ्युजलाज विमानस्थलमा हुनसक्ने आपत्कालीन अवस्था, थ्रेट तथा दुर्घटना व्यवस्थापनको पूर्वतयारी अभ्यासका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उक्त फ्युजलेजलाई नेपाली सेनाले विमानस्थल आपतकालीन योजना अन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्ने जनाएको छ ।
