म्यारियटको रिट्ज कार्ल्टन र वेस्टिन नेपाल आउँदै

म्यारियट इन्टरनेसनल इन्कले चौधरी ग्रुपको हस्पिटालिटी विङ ‘सीजी हस्पिटालिटी ग्लोबल’ सँग दुई ब्रान्डबाट सेवा दिनेबारे सम्झौता गरेको छ ।

जेष्ठ २५, २०८३

सुरज कुँवर

Marriott's Ritz-Carlton and Westin coming to Nepal

What you should know

काठमाडौँ — म्यारियट इन्टरनेसनलको लक्जरी ब्रान्ड रिट्ज कार्ल्टन र वेस्टिन होटल नेपाल प्रवेश गर्ने भएका छन् । म्यारियट इन्टरनेसनल इन्कले चौधरी ग्रुपको हस्पिटालिटी विङ ‘सीजी हस्पिटालिटी ग्लोबल’ सँग दुई ब्रान्डबाट सेवा दिनेबारे सम्झौता गरेको छ । 

काठमाडौंको कान्तिपथमा रिट्ज–कार्ल्टन र ललितपुरको कुपन्डोल (पहिलेको होटल समिट भएको स्थान) मा वेस्टिन होटल सञ्चालन हुनेछ । यी होटलको निर्माणमा संलग्न नेपाली लगानीकर्ताहरूको समूह आईईजीका अध्यक्ष अमृतमान शाक्यका अनुसार दुवै होटलमा कम्तीमा १३ अर्ब रुपैयाँ लगानी हुँदै छ । यी होटलले कम्तीमा २ हजार जनशक्तिलाई रोजगारी दिनेछन् । 

सम्झौताअनुसार यी दुवै होटल (वेस्टिन र रिट्ज–कार्ल्टन) क्रमशः सन् २०२८ र २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सीजी हस्पिटालिटीले जनाएको छ । यो रणनीतिक सम्झौता म्यारियट इन्टरनेसनल इन्क र चौधरी ग्रुपका शीर्ष तथा क्षेत्रीय नेतृत्वको उपस्थिति थियो । विश्वभर ९ हजार ९ सय होटल सञ्चालन गरिरहेको म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले नेपालमा आफ्नो उपस्थितिलाई महत्त्वपूर्ण बताएका छन् ।

‘हरेक नयाँ होटलले अवसर सिर्जना गर्छ । यसले हाम्रा कर्मचारीहरूको विकासका लागि अवसर दिन्छ । होटलका मालिक तथा लगानीकर्ताहरूका लागि अवसर सिर्जना गर्छ । पर्यटन क्षेत्रको विस्तारमा योगदान पुर्‍याउँछ । साथै, ती होटलमा आउने पाहुनाहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्छ,’ उनले भने । म्यारियटले आफ्नो कम्पनीको स्थापनाको १ सय वर्ष नजिक पुग्दै गर्दा इतिहास, संस्कृति, सम्पदा र आतिथ्यले समृद्ध काठमाडौं सहरमा उपस्थित हुनुलाई अझ विशेष भएको बताए ।

‘उच्च सम्भावना बोकेका यी बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभवहरू भित्र्याउने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ बनाउन पाउँदा हामी खुसी छौं,’ म्यारियट इन्टरनेसनलका एसिया प्यासिफिकका अध्यक्ष राजीव मेननले भने, ‘यी ऐतिहासिक परियोजनाले म्यारियट इन्टरनेसनलको लक्जरी र प्रिमियम पोर्टफोलियोको विशिष्ट मापदण्ड र उत्कृष्टतालाई झल्काउनेछन् । साथै नेपालको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी र क्षेत्रीय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् । चौधरी ग्रुपको बलियो बजार अनुभव र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धताको बलमा यी होटलहरू यस क्षेत्रकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुनेमा विश्वस्त छौं ।’ 

रिट्ज–कार्ल्टन अल्ट्रा–लक्जरी ब्रान्ड हो । काठमाडौंको कान्तिपथमा रहने यो होटलले उच्च वर्गका पर्यटक तथा व्यावसायिक भ्रमणमा आउने पाहुनाहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । यसमा ३० वटा ठूला सुइट्ससहित कुल १ सय ५० वटा सुविधासम्पन्न कोठा हुनेछन् । पाँचवटा फरक स्वाद र शैलीका रेस्टुरेन्ट तथा बारहरू, आउटडोर पौडी पोखरी, आधुनिक फिटनेस सेन्टर र सिग्नेचर ‘द रिट्ज–कार्ल्टन स्पा सञ्चालनमा ल्याइनेछ । कर्पोरेट बैठक र सामाजिक उत्सवहरूका लागि ११ सय वर्ग मिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक सम्मेलन केन्द्र पनि हुने भनिएको छ । यो होटल अहिलेको निर्वाचन आयोग र ठमेल प्रवेश गर्ने बराही होटलको बीचमा निर्माण हुने अध्यक्ष शाक्यले बताए । उक्त होटल ९ रोपनी क्षेत्रफलमा रहनेछ । 

द वेस्टिन काठमाडौं पहिलेको समिट होटल रहेको बखुन्डोलमा निर्माण भइरहेको छ । त्यस होटलमा वेस्टिन ब्रान्डको सिग्नेचर वेलनेस प्रोग्रामिङसहितका १ सय ५० प्रिमियम कोठा तथा सुइट्स हुने भनिएको छ । अन्य सुविधामा तीनवटा रेस्टुरेन्ट, फिटनेस स्टुडियो, सिग्नेचर ‘हेभन्ली स्पा बाई वेस्टिन‘ र रुफटप पौडी पोखरी हुनेछन् । त्यहाँ सभा/सम्मेलनका लागि प्राकृतिक प्रकाश र स्मार्ट प्रविधियुक्त ७ सय वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट हल रहने जनाइएको छ । यसको क्षेत्रफल ७ रोपनी हाराहारी रहेको शाक्यले बताए । 

आइतबारको सम्झौता घोषणा म्यारियट र सीजी हस्पिटालिटीबीच द्रुत गतिमा बढिरहेको व्यावसायिक साझेदारीको अर्को महत्त्वपूर्ण कडी भनिएको छ । नेपालबाहेक दक्षिण एसिया र मध्यपूर्वका अन्य बजारमा पनि यो सहकार्यले ठूलो सफलता हासिल गरिसकेको सीजीले जनाएको छ । यो सहकार्यअन्तर्गत फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ को सुरुआत भइसकेको छ । त्यस्तै दुबईमा ‘जेडब्लू म्यारियट रेजिडेन्सेज एट दुबई आइल्यान्ड्स’ र भारतमा ‘जेडब्लू म्यारियट होटल सिलिगुढी माटिगाढा’ जस्ता ठूला आयोजनाहरू अघि सारिएको समारोहमा जानकारी दिइएको थियो । 

विश्वव्यापी रूपमा उदीयमान र उच्च वृद्धिका बजारहरूमा अवसर पहिल्याउन दुवै कम्पनीले ‘सिरिज बाई म्यारियट’ ब्रान्डमार्फत आफ्नो सहकार्यलाई अझ व्यापक क्षेत्रमा विस्तार गर्ने योजना रहेको बताए । ‘म्यारियट इन्टरनेसनलसँगको साझेदारी दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो यात्रामा एउटा रोमाञ्चक नयाँ अध्याय हो,’ सीजी हस्पिटालिटी ग्लोबलका सीईओ एवं प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘काठमाडौंका यी परियोजनाहरूले म्यारियटको विश्वस्तरीय लक्जरी ब्रान्ड र सीजी हस्पिटालिटीको गहिरो बजार अनुभव एवं दिगो विकासप्रतिको प्रतिबद्धतालाई सँगै ल्याएका छन् । सीजी हस्पिटालिटी आफ्नो मातृभूमि नेपालमा विश्वस्तरीय संरचनाहरू निर्माण गर्दै देशको पर्यटन उद्योगलाई अर्को तहमा पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छ ।’

चौधरी ग्रुपको हस्पिटालिटी विङ सीजी हस्पिटालिटी ग्लोबलले हाल १२ देशका १ सय ३० गन्तव्यमा २ सय २० भन्दा बढी होटल र रिसोर्टको व्यवस्थापन गरिरहेको छ । जहाँ १३ हजार ८ सय ३५ भन्दा बढी कोठा छन् । विश्वप्रसिद्ध ब्रान्डहरू जस्तै आईएचसीएल (ताज), जेटविङ, हिल्टन र फेयरमन्टसँगको व्यावसायिक साझेदारीमार्फत सीजी हस्पिटालिटीले सन् २०३० सम्ममा आफ्नो नेटवर्क ६ सयभन्दा बढी होटल र ३० हजार कोठाहरूमा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ । 

यसबाहेक, यसको भारतीय व्यवस्थापन कम्पनी ‘कन्सेप्ट हस्पिटालिटी/फर्न होटल’ ले सन् २०३१ सम्ममा ‘फर्न सिरिज बाई म्यारियट’ मार्फत मिड–मार्केटदेखि लक्जरी होटलहरूको संख्या ५ सय पुर्‍याउने योजना बनाएको छ । अमेरिकाको मेरिल्यान्डमा मुख्यालय रहेको म्यारियट इन्टरनेसनलसँग लक्जरी, प्रिमियम र मध्यमस्तरका विधाका विश्वप्रसिद्ध ब्रान्डहरूको सञ्जाल छ । पछिल्लो तथ्यांकअनुसार यसको पोर्टफोलियोमा विश्वका १ सय ४६ देश र क्षेत्रहरूमा ९ हजार ९ सयभन्दा बढी होटल तथा आवासीय संरचना छन् । कम्पनीले आफ्नो ख्यातिप्राप्त ट्राभल प्लेटफर्म म्यारियट भनभोयमार्फत विश्वभर होटल, आवास र टाइमसेयर सुविधाहरू सञ्चालन तथा फ्रेन्चाइज उपलब्ध गराउँदै आएको छ ।

समारोहमा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले सम्झौता हस्ताक्षर क्षणलाई व्यक्तिगत रूपमा अत्यन्त भावुक र गौरवपूर्ण रहेको बताए । ‘यदि हामीले हाम्रो आतिथ्य व्यवसायको यात्रालाई फर्केर हेर्ने हो भने, यो करिब २८ वर्ष लामो यात्रा हो,’ अध्यक्ष चौधरीले स्मरण गरे, ‘सन् १९९८ मा हामीले नेपालमा एउटा होटल सुरु गर्ने योजना बनाएका थियौं । तर, केही प्राविधिक कारणहरूले गर्दा त्यो सम्भव हुन सकेन । त्यसबेला हामीलाई श्रीलंकातर्फ जान सुझाव दिइएको थियो । त्यो समय श्रीलंका गृहयुद्धको कठिन चरणबाट गुज्रिरहेको थियो । त्यही वर्ष त्यहाँका विमानहरूमा आक्रमणसमेत भएको थियो ।’ तर उक्त यात्राले आफूलाई धेरै पाठ सिकाएको उनले बताए । 

उनले ताज समूहसँगको सहकार्यले अनुभवलाई समृद्ध बनाएको स्मरण गरे । ‘भाग्यले अर्को मोड लियो । दुई वर्षअघि राजीव मेननसँगको भेट र उहाँको दूरदृष्टि, दृढ निर्णय क्षमता तथा आत्मविश्वासले हामीलाई पुनः म्यारियटसँगको साझेदारीको यात्रामा फर्कायो,’ चौधरीले म्यारियटसँगको साझेदारीको कथा भने । तर यो सम्झौताको प्रक्रिया सहज नभएको बताउँदै उनले भने, ‘चुनौतीहरू धेरै थिए । तर अन्ततः हामी सफल भयौं । आज म अत्यन्त खुसी छु ।’

म्यारिटका अध्यक्ष डेभिड म्यारियटले नेपालमा आफ्नो कम्पनीको उपस्थिति हुनुलाई ठूलो सम्मानको विषय भने । नेपालको प्रशंसा गर्दै उनले भने, ‘म नेपालमा एक्लै आएकोमा मेरी श्रीमती खासै खुसी छैनन् । त्यसैले फेरि कुनै दिन हामी दुवै सँगै नेपाल आउनेछौं ।’ सोल्टीमा चौधरी समूहसँग सम्झौतामा सहभागी हुनुअघि उनी ठमेलको अलफ्ट र शेष घलेको नारायणहिटी अगाडिको निर्माणाधीन होटल भ्रमणमा सहभागी भएका थिए । नेपालमा म्यारियट इन्टरनेसनलका म्यारियट, फेयरफिल्ड, अलफ्ट मोक्सी ब्रान्डमा होटल सञ्चालन भइरहेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully