परम्परागत धान जोगाए पुरस्कार

अघिल्लो वर्षदेखि नै यो नीति बनाएर किसानलाई अनुदान दिएपछि किसान पनि रैथाने जातको बाली संरक्षणमा अग्रसर भएका छन् ।

जेष्ठ २४, २०८३

प्रकाश बराल

Traditional rice conservation award

What you should know

बागलुङ — विकासे र हाइब्रिड जातको खेती लगाउने होड चलेका बेला बागलुङ नगरपालिका–१३ ले भने रैथाने धान जोगाउने अभियान ल्याएको छ । वडाले निर्णय गरेर परम्परागत जातको धान लगायतका बाली लगाएमा किसानलाई अनुदानस्वरूप पुरस्कृत गरिने व्यवस्था गरेको हो । 

वडाध्यक्ष नारायण पौडेलले वडाभित्रका किसानले रैथाने धान संरक्षण गरेमा अनुदान दिने कार्यक्रम बनाएका हुन्। अघिल्लो वर्षदेखि नै यो नीति बनाएर किसानलाई अनुदान दिएपछि किसान पनि रैथाने जातको बाली संरक्षणमा अग्रसर भएका छन् । वडा कार्यसमितिले निर्णय गरेर रैथाने जातका बालीका लागि तोकिएका ५ थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत बनाएको हो । वडाको आर्थिक विकास तथा कृषि क्षेत्रको बजेटबाटै रैथाने प्रकृतिका धान उत्पादन गर्दा प्रतिमुरी एक/एक हजार रुपैयाँ अनुदान दिइने भएको हो । अघिल्लो वर्ष ४० किसानले यस्तो अभियानमा अनुदान पाएका थिए ।

परम्परागत रूपमा रैथाने जात मानिने जर्नेली, अनाती, झिनुवा, रमनी र आँगा जातको धान लगाउने किसानलाई उक्त अनुदान दिइएको हो । धान थन्क्याउने समयमा किसानको खेतमै पुगेर धान भरेपछि वडाध्यक्षले नगद दिने गरेका छन् । ‘बाली भित्र्याउने दिन किसानले जानकारी गरेपछि वडा समितिका पदाधिकारी पुगेर हेर्ने र प्रोत्साहन रकम दिने गरिएको छ,’ पौडेलले भने, ‘यो व्यवस्थापछि किसान पनि खुसी भएका छन् ।’ हाइब्रिड जातको तुलनामा रैथाने जातको उत्पादन कम हुन्छ । किसान प्रोत्साहित नभएमा थोरै उत्पादन हुने खेती लगाउन छाडेका छन् । 

वडाले किसानलाई धानको बीउ छर्ने बेलामा जानकारी दिने र किसानले लगाएको रेकर्ड पनि वडाले राख्ने गरेको छ । वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइएको छ । एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकाले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । वडाले हरेक वर्ष ५० हजार रुपैयाँ यस शीर्षकमा विनियोजन गरेको छ । 

बागलुङ नगरपालिकाभित्र वडा नं १३ ठूलो र खेतीपाती हुने वडा हो । धान नफल्ने बस्तीलाई पनि वडाले केही न केही सहयोग गर्दै आएको छ । वडा नं १३ मा १ सय ४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम ५ वटा सुन्तला र कागतीका बिरुवा लगाउनेलाई सहयोग गरेको छ । अघिल्लो वर्ष ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखि नै रासायनिक मल ढुवानीमा प्रतिकेजी २ रुपैयाँ अनुदान दिंदै आएको छ । 

पशुपंक्षीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । त्यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एकएक क्रेड अण्डासमेत दिने व्यवस्था गराएको छ । पाँच वर्षदेखि वडाले पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ । किशोर किशोरीका लागि पनि सामाजिक सञ्जालको दुरुपयोग रोक्न सचेतना अभियान सञ्चालन गरिएको पौडेलले जानकारी दिए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully