संयुक्त व्यवसायी समूहको तर्फबाट खत्रीको नेतृत्वमा प्यानल घोषण गरिएको हो ।
काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि डिकबहादुर खत्रीको अध्यक्षतामा शनिबार अर्को प्यानल सार्वजनिक गरिएको छ । जेठ २४ गते हुने विशेष साधारणसभामा संघको नयाँ नेतृत्व चयन हुँदैछ ।
संयुक्त व्यवसायी समूहको तर्फबाट खत्रीको नेतृत्वमा प्यानल घोषण गरिएको हो । यो समूहलाई नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको समर्थन छ । यो समूहमा प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष तुलसी पुरी, महासचिव हिराबहादुर डाँगी, सचिव केदारनाथ अधिकारी, कोषाध्यक्ष धनमाया सिन्जाली रहेका छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जीसी, फडिन्द्रकुमार केसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटा रहेका छन् ।
प्यानल घोषणासभामा अध्यक्षका उम्मेदवार खत्रीले वैदेशिक रोजगार क्षेत्र नीतिगत अस्पष्टता, कानुनी जटिलता र नियमनका कमजोरीले ग्रस्त रहेको भन्दै त्यसको समाधानका लागि आफ्नो प्यानल अघि सरेको बताए । ‘पारदर्शी, मर्यादित र व्यवसायमैत्री वातावरण निर्माण गर्दै व्यवसायीको पेसागत अधिकार संरक्षण, श्रमिकको हित प्रवर्द्धन र संघको संस्थागत क्षमता अभिवृद्धिका लागि हाम्रो समूह प्रतिबद्ध छ,’ उनले घोषणासभामा भने ।
भुवनसिंह गुरुङको नेतृत्वमा रहेको बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको विधानअनुसार स्वत: गुरुङ कार्यसमिति विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष साधारणसभा गर्न पत्र पठाएको थियो । त्यसअनुसार गुरुङको कार्यकाल समाप्त हुनुभन्दा एक वर्ष अगाडि नै विशेष महाधिवेशन हुन लागेको हो ।
