वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा भुर्तेल नेतृत्वको प्यानल घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारण सभा जेठ २४ गते काठमाडौंमा हुँदैछ ।

जेष्ठ २३, २०८३

होम कार्की

Bhurtel-led panel announced for Foreign Employment Professionals Association elections

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वको लागि हुन गइरहेको चुनावमा मेघनाथ भुर्तेलको नेतृत्वको आफ्नो प्यानल शनिबार घोषणा गरेको छ । संघको विशेष साधारण सभा जेठ २४ गते काठमाडौंमा हुँदैछ ।

कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका पूर्वमहासचिव भुर्तेलको नेतृत्वमा चुनावमा भाग लिन लागेको हो ।

प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रविन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर तिवारी, सचिवमा रामकाजी भ्लोन, कोषाध्यक्षमा विद्यारत्न बज्राचार्यलाई चुनावी मैदानमा उतारिएको हो ।

यस्तै, सदस्यहरूमा राजेश मैनाली, कैलाश पाठक, देउबहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गीता राउत, भीममाया कार्की, दीक्षा थपलिया, रोशना निरौला, दिपककुमार देव र हिरालाल गौडेल रहेका छन् ।

भुर्तेलले वैदेशिक रोजगारको क्षेत्रलाई पारदर्शी बनाउने भन्दै १० बुँदे एजेन्डा सार्वजनिक गरेका छन् । जसमा श्रमिक र व्यवसायी दुवैको हित संरक्षण हुने स्पष्ट नीतिगत व्यवस्था देखि वास्तविक लागत शुल्क बनाउन सरकार र सरोकारपक्षसँग समन्वय गर्ने बताए ।

भुर्तेलले सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवाद संयन्त्र स्थापना गरी साझा समस्याको साझा समाधान खोज्ने तथा त्रिपक्षीय सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भुवनसिंह गुरुङको नेतृत्वमा रहेको बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको विधान अनुसार स्वतः गुरुङ कार्यसमिति विघटन भएको भन्दै संघको विशेष साधारणसभा गर्न पत्र पठाएको थियो । त्यसअनुसार गुरुङको कार्यकाल समाप्त हुनुभन्दा एक वर्ष अगाडि नै विशेष महाधिवेशन हुन लागेको हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully