वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि पाण्डे समूहको उम्मेदवारी घोषणा

घोषणासभामा पाण्डेले वैदेशिक रोजगार व्यवसायीको लागत शुल्कलाई पारदर्शी बनाउन अध्यक्षको उम्मेदवारी दिएको बताए ।

जेष्ठ २२, २०८३

होम कार्की

Pandey group announces candidacy for leadership of Foreign Employment Professionals Association

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि हरिप्रसाद पाण्डेको समूहले उम्मेदवारी दिने शुक्रबार घोषणा गरेका छन् । उनीहरु स्वतन्त्र व्यवसायीको तर्फबाट आफ्नो प्यानल घोषणा गरेका हुन् ।

भुवनसिंह गुरुङको नेतृत्वमा रहेको बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको विधानअनुसार स्वत: गुरुङ कार्यसमिति विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विशेष साधारणसभा गर्न पत्र पठाएको थियो । यसविरुद्ध पुनरावेदन अदालतमा परेको रिट थियो । त्यसमा अदालतले गुरुङ पक्षको मागबमोजिम आन्तरिम आदेश दिएन ।

घोषणासभामा पाण्डेले वैदेशिक रोजगार व्यवसायीको लागत शुल्कलाई पारदर्शी बनाउन अध्यक्षको उम्मेदवारी दिएको बताए । ‘वैदेशिक रोजगार व्यवसायीलाई हेर्ने नीतिले झन् बेथिती बनाइरहेको छ । यही बेथितीमा रहेर वैदेशिक रोजगारको क्षेत्र अगाडि बढ्न सक्तैन । व्यवसायीलाई काम गर्न पारदर्शीपूर्ण लागत शुल्क निर्धारण हुनुपर्छ । त्यसमा हामी प्रतिबद्ध रुपमा काम गर्छौं,’ उनले घोषणासभामा भने,‘यो नीतिलाई स्थापित गर्न मेरो नेतृत्वमा रहेको कार्यसमितिले काम गर्नेछ ।’

उनी नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हुन् । उनको समूहको तर्फबाट प्रथम उपाध्यक्ष सञ्जु गुरुङ, महासचिव नुरप्रसाद मिया, सचिव नवराज लुइँटेल, कोषाध्यक्षमा विनिता कटुवाल रहेका छन् । अन्य पदमा घोषणा हुन बाँकी छ ।   

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully