वीरगन्ज भन्सारको पछिल्लो तथ्यांक अनुसार धान र मकैको आयातमा कमी आएको छ भने चामल, गहुँ र कनिकाको आयातमा उल्लेख्य वृद्धि देखिएको छ।
What you should know
पर्सा — मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म धान र मकैको आयात घटेको छ । चामल, गहुँ र कनिकाको आयात बढेको छ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खाद्यान्न आयातको संरचनामा उल्लेख्य परिवर्तन आएको हो। चालु आवको वैशाखसम्म यो नाकाबाट १० अर्ब ९४ करोड रुपैयाँ बराबरको २७ करोड २२ लाख किलो धान आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ३६ करोड रुपैयाँ बराबरको २९ करोड २५ लाख किलो धान आयात भएको थियो । धान उत्पादनमा केही सुधार र आन्तरिक बजारको माग व्यवस्थापनका कारण आयात घटेको अनुमान गरिएको छ ।
त्यसैगरी पशुपालन तथा दाना उद्योगका लागि प्रयोग हुने मकैको आयात पनि घटेको छ। चालु आवको वैशाखसम्म ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको ११ करोड १४ लाख किलो मकै आयात भएको छ ।
गत आवको सोही अवधिमा ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको १६ करोड १३ लाख किलो मकै आयात भएको थियो । मकैको आयात घट्दा स्वदेशी उत्पादन र वैकल्पिक दानाको प्रयोग बढेको अनुमान व्यवसायीहरुको छ।
धान र मकैको आयात घटे पनि चामल, गहुँ र कनिकाको आयात भने बढेको छ। भन्सार तथ्यांक अनुसार चालु आवको वैशाखसम्म करिब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ करोड ९५ लाख किलो चामल आयात भएको छ।
गत आवको सोही अवधिमा १ अर्ब ९८ करोड रुपैयाँ बराबरको २ करोड किलो चामल आयात भएको थियो । उपभोक्ताको माग, होटल तथा खाद्य उद्योगको आवश्यकता र बजारमा प्रशोधित खाद्यान्नको बढ्दो प्रयोगका कारण चामल आयातमा वृद्धि भएको हुन सक्छ ।
गहुँ तथा कनिकाको आयातमा पनि उल्लेख्य वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। मैदा, बिस्कुट, चाउचाउ तथा अन्य खाद्य उद्योगहरूको उत्पादन बढेसँगै गहुँ र कनिकाको माग बढेकाले आयात पनि उकालो लागेको हो।
वीरगन्ज नाकाबाट आयात हुने खाद्यान्नमध्ये चामल, गहुँ र कनिकाले यस वर्ष उच्च वृद्धि दर देखाएका छन्।
चालु आवको वैशाखसम्म यो नाका हुँदै २८ करोड रुपैयाँ बराबरको ६५ लाख १९ हजार किलो गहुँ आयात भएको छ । गत आवको सोही अवधिमा १७ करोड रुपैयाँ बराबरको ३५ लाख १९ हजार किलो गहुँ आयात भएको थियो । त्यसैगरी, चालु आवको वैशाखसम्म यो नाका हुँदै ४ करोड रुपैयाँ बराबरको ८ लाख किलो कनिका आयात भएको छ । गत आवको सोही अवधिमा ३ करोड रुपैया बराबरको ७ लाख १४ हजार किलो कनिका आयात भएको थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम खाद्यान्न आयातको स्वरूपमा आएको परिवर्तनले उपभोगको बानी, उद्योगको आवश्यकता र स्वदेशी उत्पादनको अवस्थालाई संकेत गर्ने बताउँछन् । ‘धान र मकैको आयात घट्नु सकारात्मक भए पनि प्रशोधित खाद्यान्नको आयात बढ्नुले खाद्य आत्मनिर्भरतामाथि चुनौती कायम रहेको छ,’ उनले भने, ‘सबै खाले खाद्यान्नको आयात घटाउन मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनुको विकल्प छैन ।’
