दराज नेपालबाट आँचलले दिइन् राजिनामा, बेन यी कार्यवाहक निर्देशक

आँचल कुँवरले दराज नेपालको प्रबन्ध निर्देशक पद छाडेपछि बेन यी कार्यवाहक निर्देशक बन्ने भएका छन् भने रतिश लुँइटेल सीसीओमा नियुक्त भएका छन्  ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

Aanchal resigns from Daraz Nepal, Ben Yi becomes acting director

काठमाडौँ — ई-कमर्स प्लाटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवरले राजिनामा दिएकी छन् । कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बेन यी नियुक्त्त भएका छन् । उनी हाल दराज बंगलादेशको प्रबन्ध निर्देशक र समूहको मुख्य व्यावसायिक अधिकृत हुन् । 

दराज नेपालको मुख्य व्यावसायिक अधिकृत (सीसीओ) का रूपमा रतिश लुँइटेललाई नियुक्त गरिएको विज्ञप्तीमा उल्लेख छ ।  कुँवरले राजीनामा दिए पनि आगामी केही महिना कम्पनीलाई सल्लाहकारका रूपमा सहयोग गर्ने दराजले जनाएको छ । यो नयाँ नेतृत्व परिवर्तन आगामी २०८३ असार १७ गतेदेखि लागू हुने भनिएको छ । 

विगत साढे चार वर्षयता कुँवरले दराजको नेतृत्व सम्हालेकी थिइन् । ‘उनको नेतृत्वमा दराज नेपालको व्यवसाय दोब्बरभन्दा बढी विस्तार भएको छ,’ दराजले भनेको छ, ‘कम्पनीको ग्राहक संख्या ३० लाखभन्दा माथि पुगेको छ भने विक्रेता सञ्जाल २४ हजारभन्दा बढी पुगेको छ, जसमध्ये ८५ प्रतिशत साना तथा मझौला उद्योग छन् । साथै, दराजको पहुँच देशभरका १४० भन्दा बढी स्थानसम्म विस्तार भएको छ ।’ 

यी उपलब्धिसँगै कुँवरले नेपालमा उद्यमशीलता र डिजिटल व्यापार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको दराजले उल्लेख गरेको छ । नेतृत्व हस्तान्तरणलाई सहज बनाउन कुँवरले आगामी पुस १६ गतेसम्म सल्लाहकारको भूमिका निर्वाह गर्ने भनिएको छ । 

कान्तिपुर

Link copied successfully