काठमाडौं र धादिङ दुवैतर्फ टोल प्लाजा बनाउने र सुरुङभित्र राखिएका उपकरणको परीक्षणको काम सकिइसकेको आयोजनाको भनाइ छ ।
What you should know
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ । जापानको १६ अर्ब रुपैयाँ सहुलियपूर्ण ऋणमा यसको निर्माण थालिएको थियो । उक्त रकम अपुग भएपछि साढे ५ अर्ब रुपैयाँ थप ऋणको सम्झौता गरिएको हो । अतिरिक्त सहायतासम्बन्धी नोट आदानप्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरुले बुधबार हस्ताक्षर गरे ।
ऋण सम्झौतामा भने नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल कार्यालय प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन् । मूल्यवृद्धि, धादिङतर्फ पहिरो व्यवस्थापनको थप काम, परामर्शदातालाई भुक्तानीलगायतका लागि रकम आवश्यक भएर थप ऋण लिइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।
निर्माणमा मुआब्जालगायतको काममा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको आयोजनाले जनाएको छ । समग्रमा सुरुङ निर्माणमा जापान सरकारसँग साढे २१ अर्ब ऋण रुपैयाँ ऋण लिइएको आयोजनाको भनाइ छ । सुरुङ निर्माणमा जापानको ऋण थपिए पनि काम सकिएको छैन । यसको निर्माण थालेको ८१ महिनापछि आगामी साउनबाट सुरुङ सञ्चालनको तयारी हुँदै छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा आउने साउनबाटै सुरुङ चलाउने उल्लेख छ ।
४ कात्तिक २०७६ मा निर्माण थालिएको सुरुङ आगामी साउन महिनाभित्र सर्वसाधारणका लागि खुला गर्ने आयोजनाको तयारी छ । यसका लागि त्यहाँ काम गर्ने कर्मचारीलाई तालिम दिने काम सुरु गरिँदै छ । त्यसअघि भने केही सवारी चलाएर यसको परीक्षण गरिने आयोजनाका निर्देशक नेपालले जनाए । ‘वैशाखमै यसको परीक्षण गर्ने गरी तयारी गरेका थियौं, पछि सुरक्षाका दृष्टिले गर्न सकिएन,’ उनले भने, ‘पहिला परीक्षण गरेर साउनभित्र यसलाई सञ्चालनमा ल्याउने तयारी छ ।’
सुरुङमार्गमा १ सय ५० जना कर्मचारी हुनेछन् । युसिन–एआरटी जेभीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । ‘कर्मचारी भर्ना, तालिममा आवश्यक मेसिन खरिदलगायतका तयारीका काम भइरहेका छन्,’ उनले भने, ‘सुरुङमा काम गर्ने कर्मचारी फाइनल भई सडक विभागबाट स्वीकृत हुने चरणमा छ ।’
पहिरो रोकथामको अधिकांश काम सकिइसकेको छ । काठमाडौं र धादिङ दुवैतर्फ टोल प्लाजा बनाउने र सुरुङभित्र राखिएका उपकरणको परीक्षणको काम सकिइसकेको आयोजनाको भनाइ छ । तालिम अवधिमा केही सीमित सवारीसाधनलाई सुरुङबाट पठाएर कर्मचारीलाई तालिम दिइने नेपालले बताए । सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो ।
सञ्चालनमा आउने बेलासम्म हाज्माले सुरुङ नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सुरुङ सञ्चालनमा आएको एक वर्षसम्म हाज्माले नै यसको मर्मतसम्भारको काम गर्नुपर्नेछ । ‘नियमित सुरुङ सञ्चालन र त्यसको व्यवस्थापन सेवा प्रदायक कम्पनीले नै गर्ने हो,’ निर्देशक नेपालले भने, ‘कर्मचारीलाई पनि सेवा प्रदायक कम्पनीकै विज्ञ टोलीले तालिम दिनेछन् ।’ तालिममा सडक विभागका कर्मचारी, आयोजनाका कर्मचारी, परामर्शदाता कम्पनीका विज्ञ समूह, निर्माण कम्पनीका प्राविधिक टोली हुने निर्देशक नेपाल बताउँछन् ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क पनि तोकिसकिएको छ । केही समय छनोट भएका कर्मचारीलाई सुरुङभित्रको प्रणालीमा अभ्यस्त बनाइनेछ । त्यसपछि काठमाडौंको किसिपिडीमा रहेको फ्लाइओभरदेखि सुरुङमार्ग भएर धादिङतर्फ निस्कने खण्डसम्ममा आफूले के–के काम गर्ने भन्नेबारे सिकाइनेछ ।
सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । सञ्चालनको जिम्मा लिने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । सेवा प्रदायकले चौबिसै घण्टा सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सेवा प्रदायक कम्पनीले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ ।
सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको अनुमान छ । मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने अनुमान छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको अनुमान छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ जारी निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ ।
यस्ता सवारीसाधनले सुरुङमार्गभन्दा बाहिर रहेको नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्न पाउनेछन् । ४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । तर पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएको हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ ।
