संघको दुई तिहाई पदाधिकारीले सामूहिक राजीनामा दिएपछि अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति स्वत: विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पत्र पठाएपछि प्रबन्ध समितिले विशेष साधारणसभा बोलाएको हो ।
काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रबन्ध समितिले नयाँ नेतृत्व चयन गर्न भन्दै जेठ २४ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ । यसको लागि सबै तयारी पूरा भएको जनाइएको छ ।
संघको दुई तिहाई पदाधिकारीले सामूहिक राजीनामा दिएपछि अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति स्वत: विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पत्र पठाएपछि प्रबन्ध समितिले विशेष साधारणसभा बोलाएको हो । तर, गुरुङ पक्षले भने आफूहरु वैधानिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेको जनाएको छ ।
प्रबन्ध समितिका सदस्य राजेन्द्र भण्डारीले संघको विवादलाई लामो समसयम्म थाती राख्न नसकिने बताए । ‘संघ हाल विशेष र बाध्यात्मक परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सम्पूर्ण व्यवसायीलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाई संघलाई निकास, स्थायित्व र सक्षम नेतृत्व चयन गर्ने प्रक्रियामा अगाडि बढेको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
गुरुङ पक्षले प्रशासनले एकपक्षीय रुपमा सुनुवाइ गरिएको भन्दै आपत्ति जनाएको छ । ‘म पितृशोकमा भएको बेला मानवीय समवेदना पनि नराखेर प्रशासनबाट पत्र पठाउने काम भयो । यसमा हामीलाई छलफल गर्न बोलाइएन । हामीले पठाएको ४१ बुँदे पत्रलाई प्रशासनबाट दर्ता पनि गरिएन,’ गुरुङले भने,‘हामी कानुनी उपचारको लागि छलफलमा छौं ।’
