निम्सदाइले २०८३ जेठ १३ गते दिउँसो २ बजेर २० मिनेटमा सगरमाथा र १४ गते बिहान ४ बजेर २ मिनेटमा ल्होत्से आरोहण गरेका थिए ।
काठमाडौँ — नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)ले अक्सिजनबिना सगरमाथा-ल्होत्से आरोहण सबैभन्दा कम (शिखर समय)मा गर्दै आफ्नै विश्व कीर्तिमान तोडेको दाबी गरेका छन् । उनले २०८३ जेठ १३ गते दिउँसो २ बजेर २० मिनेटमा सगरमाथा र १४ गते बिहान ४ बजेर २ मिनेटमा ल्होत्से आरोहण गरेका थिए ।
पुर्जाले मंगलबार कान्तिपुरलाई दिएको प्रारम्भिक विवरणअनुसार सगरमाथा र ल्होत्सेको शिखर यसपटक अक्सिजनबिना १३ घण्टा ४२ मिनेट १७ सेकेन्ड मा आरोहण सम्पन्न गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । सेभेन समिट ट्रेक्सका महाप्रबन्धक तथा हिमाली तथ्यांकका अनुसन्धानकर्ता थानेश्वर गुरागाईंका अनुसार यसअघि उनले सन् २०२२ मा सगरमाथा र ल्होत्से अक्सिजनबिना २५ घण्टा १ मिनेटमा आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । पुर्जाले यसपटक आफ्नै पुरानो कीर्तिमान उल्लेखनीय अन्तरले सुधार गरेका छन् ।
गुरागाईंका अनुसार सगरमाथा आरोहणसँगै पुर्जाले मंगलबारसम्म ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमा आफ्नो ५५ औं सफल आरोहण पूरा गरेका छन् । जसमा ५२ रियल समिट (चुचुरोसम्म) र तीनवटा (नट ट्रु समिट) चुचुरो नजिक गरी ५५ वटा आरोहण गरिसकेका छन् । तीमध्ये २७ वटा आरोहण कृत्रिम अक्सिजनको प्रयोगबिना सम्पन्न गरेका छन् ।
यसपटक प्रतिकूल मौसमका कारण निर्धारित योजना परिवर्तन गर्दै उनको नेतृत्वमा रहेका २८ जना सदस्यले पनि सफलतापूर्वक दिउँसो सगरमाथा र अर्को बिहान ल्होत्से शिखर आरोहण गरेका थिए । पुर्जाले आरोहणलाई आफ्नो पेशा नै भएकाले केही वर्ष अझै निरन्तरता दिने बताएका छन् ।
अब यतिबेला मकालु र कञ्चनजंघा हिमाल आरोहणको तयारीमा छन् । नेपालका अभियानहरू सम्पन्न गरेपछि जुन १० तिर पाकिस्तानको केटु हिमालतर्फ जाने उनको योजना रहेको छ।
म्याग्दीको धौलागिरि क्षेत्रमा जन्मिएका पुर्जा चितवनमा हुर्किएका हुन्। पर्वतारोहणमा आउनुअघि उनी ब्रिटिस गोर्खा सेनामा कार्यरत थिए । सन् २००३ मा १८ वर्षको उमेरमा गोर्खा सेनामा प्रवेश गरेका उनले १६ वर्षको सैनिक जीवनमध्ये ६ वर्ष गोर्खा र १० वर्ष बेलायतको विशेष फौज स्पेसल बोट सर्भिस (एसबीएस) मा सेवा गरेका थिए।
सैनिक जीवनपछि पर्वतारोहणमा प्रवेश गरेका पुर्जाले छोटो समयमै विश्व पर्वतारोहण क्षेत्रमा असाधारण सफलता हासिल गरेका छन्। विभिन्न कीर्तिमानी आरोहण तथा उच्च हिमाली उद्धार अभियानमार्फत उनले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण जगतमा नयाँ उचाइमा पुर्याएका छन् ।
पुर्जाले दाबी गरेको नयाँ रेकर्ड गिनिज बुक अफ वर्ड रेकर्डबाट आधिकारिक रूपमा प्रमाणित भएपछि मात्रै एभरेष्ट र ल्होत्से अक्सिजनबिना आरोहणको १३ घण्टा ४२ मिनेट १७ सेकेन्ड समय नयाँ विश्व कीर्तिमानका रूपमा दर्ज हुनेछ ।
