हिमालयन ट्राभल मार्ट सुरू, २७ देशका १०० भन्दा बढी प्रतिनिधि सहभागी

कार्यक्रममा २७ देशबाट आएका १०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन्, जसमा ७५ जना ग्लोबल बायर (खरिदकर्ता) तथा ८० भन्दा बढी प्रदर्शक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Himalayan Travel Mart begins, more than 100 representatives from 27 countries participate

What you should know

काठमाडौँ —  

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालयन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण सोमबारदेखि ललितपुरमा सुरू भएको छ। 

कार्यक्रममा २७ देशबाट आएका १०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन्, जसमा ७५ जना ग्लोबल बायर (खरिदकर्ता) तथा ८० भन्दा बढी प्रदर्शक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा आयोजित मार्टको यस वर्षको मुख्य विषय 'न्यु फ्रन्टियर्स इन टुरिजम' रहेको छ। कार्यक्रमले नेपालका पर्यटन व्यवसायी र अन्तर्राष्ट्रिय खरिदकर्ताबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनका नयाँ सम्भावना र प्रवृत्तिबारे छलफल गर्ने लक्ष्य राखेको छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले विश्व पर्यटन उद्योग तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै नेपालले दिगो, पुनर्जागरणमुखी,स्वास्थ्य तथा कल्याणमा आधारित र प्रामाणिक पर्यटन अनुभवको बढ्दो मागलाई अवसरका रूपमा लिनुपर्ने बताए।

उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक महत्त्वले विश्व पर्यटन बजारमा देशलाई विशेष स्थान दिलाएको उल्लेख गरे। ‘हामी केवल पर्यटक संख्या बढाउने मात्र होइन, दिगो, समावेशी र समुदायमैत्री पर्यटन विकास गर्न चाहन्छौं,’ उनले भने।

सीईओ बुडालले यस वर्षदेखि परम्परागत एकदिने सम्मेलनलाई रूपान्तरण गरी ‘एचटीएम इन्साइट फोरम’ सुरू गरिएको जानकारी दिए। फोरमले पर्यटन क्षेत्रका सरोकारवालाबीच गहन संवाद, ज्ञान आदानप्रदान र सहकार्यको वातावरण सिर्जना गर्ने उनको भनाइ थियो। उनले नेपालको सबैभन्दा ठूलो सम्पत्ति नेपाली जनताको आतिथ्यता र मैत्रीपूर्ण व्यवहार रहेको उल्लेख गर्दै यही विशेषताले विदेशी पर्यटकहरूमा नेपालप्रति सकारात्मक छाप छोड्ने गरेको बताए।

Himalayan Travel Mart begins, more than 100 representatives from 27 countries participate

नेपाल विश्वकै प्रमुख साहसिक पर्यटन गन्तव्यहरूमध्ये एक भएको उल्लेख गर्दै उनले ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङलगायतका गतिविधिले नेपाललाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको बताए।

मार्टअन्तर्गत हुने छलफलहरूमा साहसिक पर्यटन, दिगोपन, वेलनेस पर्यटन, माइस पर्यटन, डेस्टिनेसन वेडिङ, डिजिटल भुक्तानी प्रणाली तथा पुनर्जागरणमुखी पर्यटनका विषय समेटिने उनले जानकारी दिए।

कार्यक्रमले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, व्यावसायिक अवसर सिर्जना तथा विश्व पर्यटन बजारमा नेपालको उपस्थिति थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कान्तिपुर

Link copied successfully