'७२ प्रतिशत एसियाली पर्यटकको रुचि साहसिक यात्रामा'

एसियामा साहसिक पर्यटन उद्योग सन् २०१७ मा करिब १०५ खर्ब रुपैयाँ रहेकोमा सन् २०२४ मा करिब १७९ खर्ब रुपैयाँ पुगेको छ र सन् २०३२ सम्म करिब ३ सय खर्ब पुग्ने अनुमान गरिएको छ ।

जेष्ठ १८, २०८३

सुरज कुँवर

'72 percent of Asian tourists are interested in adventure travel'

What you should know

ललितपुर — एसियामा साहसिक पर्यटन गतिविधि विस्तार भइरहँदा यसको  प्रत्यक्ष फाइदा नेपालले लिन सक्ने एक अध्ययनले देखाएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित हिमालयन ट्राभल मार्टको छैटौं संस्करणमा एड्भेन्चर ट्राभल ट्रेड एसोसिएसन (अट्टा) का तर्फबाट प्रस्तुत ‘एसियामा साहसिक यात्राको भविष्य: प्रवृत्ति, अवसर र नेपालको प्रतिस्पर्धी क्षमता’ विषयमा एसिया निर्देशक हन्ना पियर्सनले प्रस्तुत गरेको अध्ययन तथ्यांकले यस्तो देखाएको हो । 

उनले प्रस्तुत गरेको तथ्याङ्कअनुसार एसियामा सन् २०१७ मा करिब १०५ खर्ब रुपैयाँ रहेको साहसिक पर्यटन उद्योग सन् २०२४ मा करिब १७९ खर्ब रुपैयाँ पुगेको छ । सन् २०३२ सम्म करिब ३ सय खर्ब पुग्ने उनको अनुमान छ । साहसिक पर्यटनमा समर्पित अन्तर्राष्ट्रिय संस्था अट्टाले यो वृद्धि मुख्य रूपमा एसियाली बजारमा केन्द्रित हुँदै गएको र नेपाललाई रणनीतिक रूपमा महत्वपूर्ण अवसर मिलेको उनको भनाइ छ ।

अट्टाका अनुसार एसियाली पर्यटकहरूमध्ये करिब ७२ प्रतिशत साहसिक यात्रामा रुचि राख्ने खालका छन् । जसले पर्यटन बजारमा करिब ६५ खर्ब रुपैयाँ बराबर खर्च गर्ने सामर्थ राख्दछन् । यस बजारमा नजिकका देशहरूबाट आउने यात्रुहरूको हिस्सा उच्च भएकाले नेपालका लागि क्षेत्रीय पर्यटन प्रवाह अत्यन्त महत्वपूर्ण अवसर हुने निर्देशक पियर्सनले बताइन् । ‘एसियाको साहसिक पर्यटन बजार तीव्र गतिमा बढिरहेको छ र नेपालसँग प्रकृति, संस्कृति र अथेन्टिक यात्रा अनुभवको अद्वितीय संयोजन भएकाले यो प्रवृत्तिबाट लाभ लिन विशेष रूपमा राम्रो अवस्था छ,’ निर्देशक पियर्सनले सम्बोधनमा उल्लेख गरिन् । 

'72 percent of Asian tourists are interested in adventure travel'

नेपाल पहिले नै विश्वसनीय ट्रेकिङ गन्तव्यका रूपमा स्थापित छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण पदयात्रा र लाङटाङ क्षेत्र जस्ता मार्गहरूले देशलाई अन्तर्राष्ट्रिय पहिचान दिलाइसकेका छन् । हालको विश्व प्रवृत्तिअनुसार ट्रेकिङ र हाइकिङ साहसिक पर्यटनका सबैभन्दा लोकप्रिय गतिविधिहरू मध्ये पर्छन्, जसले नेपालको प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाएको अट्टाले भनेको छ । ‘आजका यात्रुहरू केवल घुम्न होइन, अनुभव लिन चाहन्छन् । उनीहरू स्थानीय जीवनशैली, संस्कृति, प्रकृति, वेलनेस, वन्यजन्तु अवलोकन, चरा अवलोकन र फोटोग्राफीमा बढी रुचि राख्छन् । नेपालले यी सबै अनुभव एकै देशमा उपलब्ध गराउन सक्ने दुर्लभ क्षमता राख्छ,’ पियर्सनले भनिन् ।

अट्टाको अध्ययन अनुसार, नेपालको सांस्कृतिक विविधता, हिमाली समुदायहरूको जीवनशैली, जैविक विविधता र प्राकृतिक सौन्दर्यले पर्यटन अनुभवलाई अझ गहिरो बनाउँछ । ग्रामीण क्षेत्रदेखि उच्च हिमाली भूभागसम्म फैलिएको पर्यटन संरचनाले लामो बसाइ र उच्च मूल्यको पर्यटनलाई प्रोत्साहन गर्छ ।

साहसिक पर्यटनको महत्वपूर्ण पक्ष यसको आर्थिक प्रभाव हो । यसले आम्दानीको ठूलो हिस्सा स्थानीय समुदायमै राख्छ र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्छ । नेपालका लागि यसले होमस्टे, गाइड सेवा, यातायात, हस्तकला र स्थानीय उत्पादनलाई प्रत्यक्ष रूपमा सशक्त बनाउँछ । विशेषगरी राजधानी काठमाडौं बाहिरका क्षेत्रहरूमा यसको प्रभाव अझ बढी देखिन्छ ।'72 percent of Asian tourists are interested in adventure travel'

विशेषज्ञहरूका अनुसार, नेपालले अब दिगोपन प्रामाणिक कथा, समुदाय–आधारित पर्यटन र लामो बसाइमा आधारित प्याकेजहरूमा ध्यान दिनु पर्छ । साथै वेलनेस पर्यटन, साइकलिङ, चरा अवलोकन र सांस्कृतिक पर्यटनलाई पनि विस्तार गर्नुपर्नेछ ।

समग्रमा, एसियामा तीव्र रूपमा बढिरहेको साहसिक पर्यटन बजारले नेपाललाई केवल गन्तव्य मात्र होइन, क्षेत्रीय नेतृत्व गर्ने सम्भावित केन्द्रका रूपमा स्थापित गर्ने अवसर दिन सक्ने बताउँदै निर्देशक पियर्सनले भनिन, ‘उचित रणनीति र दिगो व्यवस्थापनमार्फत नेपाल विश्वस्तरीय साहसिक पर्यटन गन्तव्य बन्न सक्ने स्पष्ट संकेत दिएको छ ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully